मंगलवार , आश्विन ६, २०८३
मानिस स्वभावैले सामाजिक प्राणी हो । समाजको सुन्दरता व्यक्तिहरूको आपसी व्यवहार, सोच र चेतनामा निर्भर गर्दछ । हरेक व्यक्तिको सोच्ने, भावना व्यक्त गर्ने र वरिपरीको वातावरणसँग अन्तरक्रिया गर्ने एउटा विशिष्ट शैली हुन्छ, जसलाई हामी उसको मनो–सामाजिक चरित्र भन्न सक्छौं । यही चरित्रले समाजमा व्यक्तिको स्थान, प्रतिष्ठा र सम्बन्धको रूपरेखा तयार पार्छ । तर, पछिल्लो समय नेपाली समाजमा एउटा गम्भीर मनो–सामाजिक समस्या तीव्र रूपमा झाँगिँदै गइरहेको देखिन्छ । आफ्ना गल्ती र कमजोरीहरूलाई पूर्ण रूपमा नजरअन्दाज गर्ने तर, अरूका साना–तिना त्रुटीहरूलाई पहाड बनाएर प्रस्तुत गर्ने आत्मकेन्द्रित प्रवृत्ति बढ्दो छ । यो प्रवृत्तिको सिधा असर हाम्रो पारिवारिक सुख, सामाजिक सम्बन्ध र राज्य सञ्चालनका संयन्त्रहरूमा परिरहेको छ ।
यस्ता जटिल मनो–सामाजिक समस्याहरूको निर्विकल्प समाधान र एउटा आदर्श समाजको निर्माणका लागि ‘कमन सेन्स’ अर्थात् सामान्य विवेक र व्यवहारिक बुद्धिको प्रयोग अपरिहार्य हुन्छ । कमन सेन्स कुनै विश्वविद्यालयमा पढाइने किताबी ज्ञान, कण्ठ पारिने दर्शन वा जटिल वैज्ञानिक सूत्र होइन । यो त सामान्य मानव जीवनका दैनिक परिस्थितिहरूमा सही र गलत, उचित र अनुचित छुट्याएर तत्काल विवेकपूर्ण निर्णय लिन सक्ने एउटा सहज मानवीय क्षमता हो । जब समाजमा यो सामान्य विवेकको खडेरी पर्छ, तब मानिसहरू आफ्नै अहंकारको पर्खालभित्र थुनिन्छन् । फलस्वरूप, आफूले गरेको सधैँ ठीक र अरूले गरेको सधैँ बेठीक लाग्ने आत्ममुग्धताको रोगले समाजलाई गाँज्न थाल्छ । जीवनका विभिन्न आयामहरूमा यो व्यवहारिक बुद्धिको अभावले सिर्जना गरेका चुनौती र यसको सही प्रयोगमार्फत ल्याउन सकिने सकारात्मक परिवर्तनका बारेमा गम्भीर मन्थन गर्नु आजको मुख्य आवश्यकता हो ।
वर्तमान समयमा व्यक्तिको सबैभन्दा ठुलो मानसिक र सामाजिक अवरोध भनेको आफ्नो गल्ती नदेख्ने र अरूको कमजोरी मात्र औंल्याउने संकुचित बानी हो । समाजमा आफ्नो कमजोरी स्वीकार गर्ने र आफूलाई सुधार्ने आँट र उदारता दिनानुदिन घट्दै गइरहेको देखिन्छ । कसैले रचनात्मक आलोचना गर्दा वा गल्ती औंल्याइदिँदा त्यसलाई आत्मसमीक्षाको अवसर मान्नुको साटो मानिसहरू तत्काल प्रतिरक्षात्मक बन्छन् र उल्टै औंला उठाउँदै व्यक्तिकै इतिहास खोतल्न थाल्छन् । यो प्रवृत्ति एउटा गम्भीर मानसिक प्रदूषण जस्तै बनेको छ, जहाँ मानिसहरू अरूको आँखाको सानो कसिङ्गर बडो चासोका साथ देख्छन् । तर, आफ्नै आँखामा रहेको ठुलो मुढालाई भने सहजै अनदेखा गरिदिन्छन् । सामाजिक सञ्जालको बढ्दो प्रभाव र एकाङ्की जीवनशैलीले मानिसभित्रको अहंकारलाई यसरी मलजल गरिरहेको छ कि उसलाई म कहिल्यै गलत हुनै सक्दिनँ भन्ने भ्रम पैदा हुन्छ । यसले गर्दा आपसी सम्बन्धहरूमा अविश्वास र द्वन्द्वको बीजारोपण हुन्छ र व्यक्तिको आफ्नै व्यक्तिगत तथा बौद्धिक विकासको बाटो सदाका लागि अवरुद्ध हुन पुग्छ ।
हाम्रो चेतनामा लागेको यही धुलोलाई हामी ’विवेकको कसिङ्गर’ भन्न सक्छौं । जसरी आँखामा कसिङ्गर पर्दा दृष्टि धमिलो हुन्छ, त्यसरी नै दिमागमा अहंकार र पूर्वाग्रहको कसिङ्गर परेपछि मानिसको सही र गलत छुट्याउने क्षमता हराउँछ । हामीसँग विवेक र बुद्धि त छ, तर त्यो सही ठाउँमा प्रयोग भइरहेको छैन । देश बनाउन, समाज सुधार्न वा परिवारमा मेलमिलाप गराउन प्रयोग हुनुपर्ने विवेक जब सामाजिक सञ्जालमा कसैलाई गाली गर्न, साना कुरामा झगडा गर्न वा क्षणिक स्वार्थका लागि मरिहत्ते गर्नमा खर्च हुन्छ, तब त्यो वास्तविक विवेक रहँदैन । यो अहंकारी चरित्रको अर्को पाटो भनेको आफूले गरेका सबै कार्य, लिएका निर्णय र अघि सारेका तर्कहरू मात्र सर्वश्रेष्ठ हुन् भन्ने अन्धो मानसिकता हो । यदि कोही व्यक्ति हाम्रो स्थापित विचार वा विश्वाससँग असहमत हुन्छ भने, उसलाई सम्मानजनक स्थान दिनुको साटो हामी तत्कालै शत्रु, मूर्ख वा अज्ञानीको दर्जा दिइहाल्छौं । यो आत्मकेन्द्रित मानसिकताले समाजमा वैचारिक अतिवाद र असहिष्णुतालाई प्रश्रय दिइरहेको छ ।
यस्तो विषम परिस्थितिमा कमन सेन्सको सबैभन्दा पहिलो र प्रभावकारी प्रयोग व्यक्तिको आफ्नै निजी जीवन र पारिवारिक चौघेराभित्रबाट सुरु हुन जरुरी छ । परिवार समाजको जग र पहिलो पाठशाला हो, जहाँबाट व्यक्तिको संस्कार र चरित्र निर्माण हुन्छ । दैनिक जीवनका साना–साना व्यावहारिक कुराहरूमा ध्यान नदिँदा नै कालान्तरमा ठुला–ठुला पारिवारिक कलह र विग्रहहरू जन्मने गर्छन् । त्यसैले पारिवारिक सम्बन्धलाई सुमधुर बनाउन, घरभित्रको तनाव कम गर्न र सीमित स्रोतहरूको बुद्धिमानीपूर्वक व्यवस्थापन गर्न सामान्य विवेकको ठूलो भूमिका हुन्छ । परिवारका सदस्यहरूसँग संवाद गर्दा आफ्ना शब्दले कसैको स्वाभिमानमा चोट पुग्छ कि भनेर विचार गर्नु, बत्ती र पानीको जथाभाबी प्रयोग नगरी मितव्ययी बन्नु र आफ्नो आर्थिक गच्छेअनुसारको जीवनशैली अपनाउनु कमन सेन्स अर्थात् व्यवहारिक बुद्धिका सुन्दर उदाहरण हुन् । घरमा कोही सदस्य थकित, बिरामी वा मानसिक तनावमा छ भने उसको अवस्था बुझेर सहयोगको हात बढाउनु र उसका साना कमजोरीलाई गिज्याउनुको साटो ढाडस दिनु नै वास्तविक कमन सेन्सको पारिवारिक प्रयोग हो ।
पारिवारिक दायराभन्दा अलि माथि उठेर हेर्दा सामाजिक व्यवहारमा कमन सेन्सको प्रयोग झनै व्यापक र अर्थपूर्ण देखिन्छ । हामी सबै समाजको साझा छहारीमा बस्ने हुनाले हाम्रा प्रत्येक गतिविधिले प्रत्यक्ष वा परोक्ष रूपमा अरूको जीवनलाई प्रभावित पारिरहेको हुन्छ । सामाजिक व्यवहारमा देखिने सामान्य विवेकले नै कुनै पनि समाज कति सभ्य र सुसंस्कृत छ भन्ने कुराको निर्धारण गर्दछ । सार्वजनिक यातायातमा यात्रा गर्दा वृद्धवृद्धा, अशक्त, गर्भवती महिला वा अपांगता भएका व्यक्तिहरूलाई आदरपूर्वक सिट छोडिदिनु कुनै लिखित कानूनले भन्दा पनि हाम्रो भित्री कमन सेन्सले सिकाउने कुरा हो । आफ्नो घर र आँगन सफा राखेर फोहोर जति छिमेकीको पर्खाल पछाडि वा सार्वजनिक सडकमा फाल्नु विवेकहीनताको पराकाष्ठा हो, जब कि आफ्नो फोहोरको जिम्मेवारी आफैले लिएर सही बिसर्जन गर्नु सामाजिक चेतनाको प्रमाण हो । मध्यरातमा ठुलो स्वरमा संगीत बजाएर वा होहल्ला गरेर बिरामी र परीक्षार्थी छिमेकीको निद्रा हराम गर्नु सामाजिक अपराध हो भने अरूको शान्तिपूर्वक बाँच्न पाउने अधिकारको सम्मान गर्नु नै साँचो अर्थमा कमन सेन्स हो । आजको डिजिटल युगमा त सामाजिक सञ्जालमा देखिने कुनै पनि अपुष्ट समाचार वा भ्रामक सूचनाको सत्यतथ्य नबुझी सेयर नगर्नु र कसैलाई जथाभाबी गालीगलौज नगर्नु झनै ठुलो नागरिक विवेक बन्न पुगेको छ ।
व्यक्ति र समाजको परिधि पार गरेर जब हामी राष्ट्रको संरचनालाई हेर्छौँ, तब राज्य सञ्चालन, नीति निर्माण र प्रशासनिक कार्यहरूमा कमन सेन्सको अभाव झनै घातक साबित भएको पाउँछौँ । जटिल ऐन–कानुनको जङ्गल र कर्मचारीतन्त्रको कछुवा गतिलाई केवल व्यवहारिक बुद्धिको प्रयोगद्वारा सहज, सरल र जनमुखी बनाउन सकिन्छ । राज्यले नियम र नीतिहरू बनाउँदा ती कागजी रूपमा कति उत्कृष्ट छन् भन्नुभन्दा पनि देशको धरातलीय यथार्थ र सर्वसाधारण नागरिकले सहजै पालना गर्न सक्छन् कि सक्दैनन् भन्ने कुराको गहिरो ख्याल राख्नुपर्छ । एउटा सामान्य सिफारिस वा सरकारी कागज लिनका लागि सर्वसाधारण नागरिकलाई दिनभरी घामपानीमा लाइनमा खडा गराउनुको साटो आधुनिक प्रविधिको प्रयोग गरेर कामलाई छिटोछरितो बनाउनु राज्यको न्यूनतम कमन सेन्स हो ।
देश वैदेशिक ऋणको भारले थिचिरहेका बेला र जनता आधारभूत स्वास्थ्य तथा शिक्षाबाट वञ्चित भइरहेका बेला जनप्रतिनिधि वा उच्च पदस्थ अधिकारीहरूका लागि विलासी गाडी र फजुल सेवा–सुविधाहरू थप्दै जानु कमन सेन्स विपरीतको लज्जास्पद कार्य हो । संकटको समयमा राज्यका हरेक अंगमा मितव्ययिता अपनाउनु, स्रोत र साधनको न्यायोचित वितरण गर्नु र ट्राफिक नियमदेखि कर तिर्नेसम्मका कुराहरूमा सर्वसाधारण र शक्तिमा रहेका विशिष्ट व्यक्तिहरू सबैलाई समान व्यवहार गर्नु नै राज्य सञ्चालनको सही र वास्तविक विवेकशीलता हो ।
यसैगरी, समाजलाई अग्रगामी रूपान्तरण र परिवर्तनको दिशामा लैजान पनि कमन सेन्सको क्रान्तिकारी प्रयोग आवश्यक छ । समाज परिवर्तन कुनै आकाशबाट ओर्लने जादुको छडी वा ठुला–ठुला राजनीतिक भाषणले मात्र सम्भव हुँदैन । यसका लागि त प्रत्येक नागरिकको सामूहिक चेतना र व्यवहारिक बुद्धिको सानो तर निरन्तर प्रयास चाहिन्छ । हाम्रो समाजमा जरा गाडेर बसेका दाइजो प्रथा, जातभातको अमानवीय विभेद जस्ता कुप्रथाहरू र चाडपर्वका नाममा गरिने भडककिलो खर्च र तडकभडकलाई निरुत्साहित गर्न कमन सेन्सको हतियार प्रयोग गर्नुपर्छ । अरूले गरे म पनि गर्छु भन्ने अन्धो देखासिखी र सामाजिक दबाबको दास बन्नुभन्दा जे कुरा न्यायोचित र व्यवहारिक छ, त्यो मात्र गर्छु भन्ने व्यक्तिगत अठोट लिनु आवश्यक छ । विशेष गरी निर्वाचनका समयमा क्षणिक प्रलोभन, भोजभतेर वा नातावाद र कृपावादका आधारमा आफ्नो अमूल्य मत विक्री गर्नुको साटो उम्मेदवारको योग्यता, दूरदर्शिता र इमानदारिता हेरेर मत दिनु नै समाज बदल्ने सबैभन्दा शक्तिशाली कमन सेन्स हो । व्यक्तिगत स्वार्थभन्दा माथि उठेर आफ्नो गाउँ, टोल र समाजको सामूहिक हितका लागि एकजुट हुनु र वृक्षारोपण, सरसफाई जस्ता सिर्जनशील कार्यमा सहभागी हुनु नै वास्तविक परिवर्तनको संवाहक बन्नु हो ।
सबैभन्दा घतलाग्दो र दार्शनिक पक्ष भनेको कमन सेन्समा प्रयोग गरिने कमन सेन्सको पहिचान र यसको सन्तुलित प्रयोग कसरी गर्ने भन्ने प्रश्न हो । कहिलेकाहीँ मानिसले जसलाई आफ्नो अकाट्य सामान्य विवेक वा कमन सेन्स ठानिरहेको हुन्छ, त्यो वास्तवमा उसको व्यक्तिगत पूर्वाग्रह, अधुरो ज्ञान, भ्रम वा अहङ्कारको प्रतिबिम्ब मात्र हुन सक्छ । त्यसैले आफ्नो विवेकलाई व्यवहारमा उतार्दा पनि एक किसिमको विशेष सजगता र आत्मसमीक्षाको आवश्यकता पर्दछ । हामीले सधैँ आफ्नो दिमागलाई खुला र जिज्ञासु राख्नुपर्छ, किनकी मलाई सबै थाहा छ र मेरो बुझाइ नै अन्तिम सत्य हो भन्ने घमण्डले मानिसलाई अन्धो बनाउँछ ।
समय र परिस्थितिको गतिसँगै हाम्रा पुराना धारणाहरू गलत सावित हुन सक्छन्, त्यसैले आफ्नो व्यवहारिक बुद्धिलाई निरन्तर परिमार्जन गरिरहनुपर्छ । कहिलेकाहीँ रिस, इष्र्या, प्रतिशोध वा अत्याधिक खुसीको आवेगमा लिइएका हतारका निर्णयहरूलाई हामी कमन सेन्सको आवरण दिने गल्ती गर्छौँ । तर, वास्तविक कमन सेन्स त त्यो हो, जसले क्षणिक भावनाको बहावमा नबगी शान्त चित्तले तर्क, तथ्य र दीर्घकालीन परिणामका आधारमा निर्णय लिन्छ । यसको प्रयोग गर्दा सधैँ अर्काको ठाउँमा उभिएर हेर्ने क्षमता अर्थात् दृष्टिकोणको लचकता हुनुपर्छ । एउटा सवारीचालकका लागि सडकमा जे कुरा कमन सेन्स हुन सक्छ, बाटो काट्ने पैदलयात्रीका लागि त्यो फरक हुन सक्छ भन्ने कुरा बुझ्नु नै विवेकभित्रको विवेक हो । यदि कुनै परिस्थितिमा आफ्नो व्यावहारिक बुद्धिले सही काम गरेन वा परिणाम प्रतिकूल आयो भने, आफ्नो गल्तीलाई सहर्ष स्वीकार गर्दै नयाँ र उपयुक्त मार्ग अपनाउनु नै विवेकशीलताको सर्वोच्च शिखर हो ।
अन्त्यमा, हाम्रो मनो–सामाजिक चरित्रमा सकारात्मक सुधार ल्याउनु नै आजको समाजको मुख्य कार्यभार हो । आफ्ना गल्तीहरूलाई लुकाउने र अरूमाथि दोषारोपण गर्ने बिरामी मानसिकताबाट मुक्त भइ, अरूको अस्तित्व, विचार र भिन्नताको आदर गर्न सिक्नुपर्छ । जब हामी हाम्रा व्यक्तिगत व्यवहार, पारिवारिक सम्बन्ध, सामाजिक उत्तरदायित्व र राज्यका उच्च नीतिहरूमा यो निष्पक्ष व्या्वहारिक बुद्धिको प्रयोग गर्छौँ, तब मात्र एउटा सुन्दर, शान्त, समतामूलक र प्रगतिशील समाजको निर्माण सम्भव हुन्छ । कमन सेन्स कुनै विशेष वर्ग, शिक्षित जमात वा दार्शनिकहरूको मात्र एकाधिकार होइन, यो त हामी प्रत्येक मनुष्यभित्र अन्तर्निहित प्राकृतिक चेतनाको झिल्को हो । अब केवल आवश्यकता यस कुराको छ कि हामीले आफ्नो व्यक्तिगत अहंकार र पूर्वाग्रहको पर्दालाई हटाएर आफ्ना प्रत्येक साना–ठुला कार्यहरूमा आफ्नो सहज विवेकलाई जागृत राखौँ र यसको प्रयोग गर्दा थप सजग, लचिलो र न्यायप्रेमी बन्न सकौँ।
यादव घिमिरे
पूर्व निर्देशक, काठमाडौँ महानगरपालिका
हाल : कलंकी-१४, काठमाडौँ
[email protected]
मोबाइल : ९८४१३६९९२८
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij