२०८३, बैशाख १० गते

Apr 23 2026 | २०८३, बैशाख १० गते

राष्ट्रपतिको कदम असंवैधानिक : नेपाली कांग्रेस रुपन्देही

शनिवार , जेठ ८, २०७८

  • 4.7K
    Shares
  • 4.7K
    Shares
  • भैरहवा, ८ जेठ ।
    नेपाली कांग्रेस रुपन्देहीले राष्ट्रपति र प्रधानमन्त्रीले षडयन्त्रपूर्ण रुपमा मध्यरातमा संसद विघटन गरी असंवैधानिक कदम चालेको भन्दै सो कदमको विरोध गरेको छ । संविधान अनुसार विश्वासको मत लिन नसक्ने र राजीनामा पनि नदिइ प्रधानमन्त्रीले पुनः सोही पदको लागि दावी गर्न नमिल्ने र त्यस्तो दावीलाई अस्वीकृत गर्नुपर्नेमा राष्ट्रपतिले उल्टै त्यस्तो दावीलाइ स्वीकृत गर्नु मिलेमतो र षडयन्त्र भएको कांग्रेस रुपन्देहीले ठहर गरेको छ । 

    पार्टीका रुपन्देही जिल्ला सभापति अब्दुल रज्जाकद्वारा शनिबार जारी विज्ञप्तिमा  राष्ट्रपति विद्यादेवी भण्डारीले असंवैधानिक मात्र नभएर अनैतिक काम गरेको उल्लेख छ । 

    संविधानको मर्म अनुसार केपी शर्मा ओलीले प्रधानमन्त्रीका लागि दावी गर्न नसक्ने प्रष्ट अवस्था रहेको भन्दै उनले गैरसंवैधानिक दावीलाई स्वीकार गरी पुनः उनलाई नै प्रधानमन्त्री तोक्ने कार्य राष्ट्रपतिबाट हुनु गम्भिर संवैधानिक उल्लंघन भएको उनले बताए । 

    प्रधानमन्त्रीले हठात् अर्को सरकार गठनको सिफारिस गर्ने, राष्ट्रपतिले २४ घण्टाको पनि समय नदिई प्रधानमन्त्री नियुक्तिको आह्वान गर्ने, दावी नै गर्न नमिल्ने ओलीलाई प्रधानमन्त्री नियुक्त गर्ने कार्य घोर असंवैधानिक, अलोकतान्त्रिक, अधिनायकवादी र सर्वसत्तावादी मात्र नभई जनता कोरोना महामारीको चपेटामा परिरहेको बेला सरकारको गैरजिम्मेवारीको पराकाष्ठा समेत रहेको विज्ञप्तिमा उल्लेख छ ।