शुक्रवार , आश्विन १६, २०८३
काठमाडौँ, १६ असोज । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दीपककुमार साहले खाना पकाउने एलपीजी ग्यासको आपूर्ति सहज बन्दै गएको दाबी गर्नुभएको छ ।
शुक्रवार सिंहदरबारमा बसेको राष्ट्रिय सभाको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री शाहले यस्तो दाबी गर्नुभएको हो । उहाँका अनुसार मन्त्रालयले हाल एलपीजीको लोडिङ, ढुवानी, भण्डारण, रिफिलिङ, वितरण, डिलर हुँदै उपभोक्तासम्म पुग्ने प्रक्रियामा रहेका समस्या पहिचान गरी समाधानका लागि काम भइरहेको छ । उहाँले ग्यासको आपूर्ति सहज बनाउन सरकारले मागको भौगोलिक असन्तुलन, बजार व्यवस्थापन र सुरक्षा लगायतका पक्षलाई विश्लेषण गरेको पनि बताउनु भयो । उहाँले ग्यास अभावको समस्या समाधानको लागि सरकारले तत्कालीक, मध्यम दीर्घकालीन गरी उर्जा सुरक्षा योजना निर्माण गरिरहेको बताउनु भयो । तत्काल नागरिकलाई ग्यास उपलब्ध गराउने कुरामा सरकार गम्भीर रहेको मन्त्री शाहको भनाइ छ ।
उहाँले ग्यासको भण्डारण क्षमता विस्तार, बोटलिङ तथा वितरण क्षमता वृद्धि र आपत्कालीन मौज्दातको व्यवस्था गर्न सरोकारवालासँग छलफल भइरहेको समेत जानकारी दिनुभयो । उहाँले आफूले पदभार ग्रहण गरेलगत्तै ग्यासको आपूर्ति समस्याको प्राविधिक विश्लेषण गर्दै ‘फिसबोन डायाग्राम’ र ‘क्रिटिकल पाथ मेथड’ प्रयोग गरेको उल्लेख गर्नुभयो । आपूर्ति प्रणालीको महत्वपूर्ण अवरोधका रूपमा कृष्णभीर पहिरो पहिचान भएपछि सडक खुलाउन दोब्बर जनशक्ति र मेसिनरी परिचालन मन्त्री शाहको जिकिर छ । उहाँले दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रणको विषय समेत सरकारको प्राथमिकतामा रहेको बताउनु भयो । बजार अनुगमनलाई व्यवसायीलाई आतङ्कित बनाउने माध्यम नभई स्वच्छ प्रतिष्पर्धा र उपभोक्ता अधिकार संरक्षणको साधनका रूपमा अघि बढाइने उहाँको भनाइ छ ।
उहाँले भन्नभुयो, ‘पछिल्लो समय आम नागरिकले प्रत्यक्ष अनुभव गरेको प्रमुख समस्या एलपीजी ग्यासको आपूर्ति हो । यस समस्यालाई मैले केवल आज कति ग्यास बुलेट आए भन्ने प्रश्नको रूपमा हेरेको छैन । लोडिङदेखि ढुवानी, भण्डारण, रिफिलिङ, वितरण, डिलर हुँदै उपभोक्ताको भान्सासम्म सम्पूर्ण सप्लाई चेनलाई एउटै प्रणालीको रूपमा हेरेका छौँ । म एउटा टेक्नो–इकनोमिक इन्जिनियर भएको नाताले समस्या पहिचान गर्न ‘फिसबोन डायग्राम’ जस्तो प्राविधिक विश्लेषण प्रयोग गरेँ ।
आयात, ढुवानी, सडक, रिफिलिङ क्षमता, भण्डारण, वितरण, मागको भौगोलिक असन्तुलन, बजार व्यवस्थापन र सुरक्षा लगायतका कारणहरू पहिचान गरेर काम गरिरहेका छौँ । हाम्रा रणनीति तीन तहमा छन्, तत्काल राहत, मध्यम अवधिमा प्रणाली सुधार, र दीर्घकालीन ऊर्जा सुरक्षा । एलपीजीको भण्डारण क्षमता बढाउने, बोटलिङ तथा डिस्ट्रिब्युसन क्यापासिटी सुधार गर्ने र इमर्जेन्सी स्टकको व्यवस्था गर्ने विषयमा पनि सरोकारवालासँग निरन्तर छलफल भइरहेको छ । दैनिक उपभोग्य वस्तुको आपूर्ति, त्यस्तै दैनिक उपभोग्य वस्तुको सहज आपूर्ति र मूल्य नियन्त्रण हाम्रो अर्को प्राथमिकता हो ।’
उहाँले चाडबाडको समयमा बजार अनुगमनमा कडाई गरिएको भन्दै कुनैपनि व्यवसायीले उपभोक्ता हितविपरीत काम गरे कानूनअनुसार कारबाही हुने स्पष्ट पार्नुभयो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij