२०८३, आश्विन १९ गते

Oct 05 2026 | २०८३, आश्विन १९ गते

‘युवा उद्यमीसँग सहकार्यले निजी क्षेत्र थप सुदृढ हुन्छ’

सोमवार , आश्विन १९, २०८३

  • 214
    Shares
  • 214
    Shares
  • बुटवल, १९ असोज । नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका अध्यक्ष टंकप्रसाद पोखरेलले युवा उद्यमीसँग सहकार्य र समन्वय गरेर अघि बढ्दा निजी क्षेत्र थप सुदृढ र गतिशील बन्ने बताउनुभएको छ । उहाँले युवा पुस्ताको उर्जा, नयाँ सोच र सिर्जनशीलतालाई स्थापित व्यवसायिक संस्थाको अनुभवसँग जोड्न सके आर्थिक विकासमा थप योगदान पुग्ने बताउनुभयो ।

    नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाईईएफ) लुम्बिनीको नवनियुक्त समितिलाई नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा अध्यक्ष पोखरेलले यस्तो बताउनुभएको हो ।
    पोखरेलले सीएनआईवाईईएफ लुम्बिनीका नवनियुक्त अध्यक्ष विकास पाण्डेय नेतृत्वको समितिलाई सफल कार्यकालको शुभकामना दिदै युवा उद्यमीका मुद्दा र निजी क्षेत्रका साझा सवालमा चेम्बर सहकार्य गर्न तयार रहेको बताउनुभयो । नयाँ पुस्ताका उद्यमीलाई उद्यमशीलता, लगानी र रोजगारी सिर्जनाका क्षेत्रमा अघि बढाउन स्थापित व्यवसायिक संस्थाहरुबीच सहकार्य रहेको उहाँको भनाइ थियो । 

    ‘युवा उद्यमीसँग सहकार्य गर्दा निजी क्षेत्र थप सुदृढ हुन्छ, ’अध्यक्ष पोखरेलले भन्नुभयो–‘नयाँ पुस्तासँग नयाँ सोच र उर्जा छ । त्यसलाई संस्थागत अनुभवसँग जोडेर अघि बढाउन सके निजी क्षेत्रको विकासमा थप उपलब्धी हासिल गर्न सकिन्छ ।’

    कार्यक्रममा नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशका उपाध्यक्ष जे.पी. कंडेलले युवा उद्यमीको सक्रियता र नयाँ पुस्ताको नेतृत्वले निजी क्षेत्रलाई थप चलायमान बनाउन महत्वपूर्ण भूमिका खेल्ने बताउनुभयो । उहाँले युवा उद्यमीका लागि व्यवसाय विस्तार तथा नयाँ अवसर सिर्जना गर्न निजी क्षेत्रका संस्थाबीच सहकार्य र समन्वय आवश्यक रहेको उल्लेख गर्नुभयो ।

    त्यस्तै सीएनआईवाईईएफ लुम्बिनीका निवर्तमान अध्यक्ष राजन कसजुले नयाँ नेतृत्वले युवा उद्यमीका साझा मुद्दालाई प्राथमिकतामा राख्दै मञ्चलाई थप प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले सीएनआईवाईईएफले युवा उद्यमीलाई एकताबद्ध गर्दै उद्यमशीलता प्रवद्र्धन र निजी क्षेत्रको विकासमा निरन्तर भूमिका खेल्दै आएको बताउनुभयो ।

    कार्यक्रममा सीएनआईवाईईएफ लुम्बिनीका नवनियुक्त अध्यक्ष विकास पाण्डेयसहित समितिका पदाधिकारी तथा सदस्यहरूलाई नेपाल चेम्बर अफ कमर्स लुम्बिनी प्रदेशले बधाई तथा सम्मान गरेको थियो ।

    कार्यक्रममा चेम्बर र सीएनआईवाईईएफबीच युवा उद्यमशीलताको विकास, निजी क्षेत्रका साझा मुद्दा तथा लुम्बिनी प्रदेशको आर्थिक विकासका क्षेत्रमा आगामी दिनमा सहकार्य र समन्वयलाई थप प्रभावकारी बनाउने विषयमा समेत छलफल भएको थियो ।