मंगलवार , आश्विन २०, २०८३
बुटवल, २० असोज । बैंक तथा वित्तीय संस्थाको मूल जिम्मेवारी ऋणीबाट सम्झौताअनुसार साँवा, ब्याज तथा किस्ता असुल गर्नु हो । तर, ऋण असुलीको प्रक्रियामा धितो लिलामी नै प्रमुख माध्यम बन्न थालेपछि ऋणीको सम्पत्ति वास्तविक मूल्य भन्दा निकै कममा विक्री हुने अवस्था आएको हो कि भन्ने प्रश्न उठ्न थालेका छन् ।
बुटवलका छापाखाना व्यवसायी दुर्गा बहादुर पौडेलको घरजग्गा लिलामीसम्बन्धी विवादले यस्तै प्रश्न खडा गरेको छ । बैंकका कर्मचारी र भुमाफियाहरुको मिलोमतोमा ऋणीलाई मात्र नभइ बैंकलाई पनि लाखौं घाटा पार्ने गरी लिलाम विक्री गर्ने गरिएको पाइएको छ ।
पौडेल परिवारका अनुसार लुम्बिनी विकास बैंकले उनीहरूलाई जानकारी नै नदिइ बुटवलको मिलनचौकस्थित दुर्गापथमा रहेको करोडौं रुपैयाँ मूल्य पर्ने घरजग्गा ५३ लाख रुपैयाँमा लिलाम विक्री गरेको छ । लुम्बिनी विकास बैंक
बुटवल देवीनगर शाखाले आफ्नै मूल्यांकन भन्दा पनि निकै कम मूल्यमा लिलाम विक्री गरेकोले यसमा बैंकका कर्मचारी र भुमाफियाको चलखेल र मिलोमतो भएको पौडेल परिवारको दावी छ ।
बैंकको मूल्यांकन र लिलामी मूल्यबीचको ठूलो अन्तरले लिलामी प्रक्रिया र त्यसमा संलग्न कर्मचारीको भूमिकामाथि प्रश्न उठेको परिवारको भनाइ छ । पौडेलले श्रीमती लक्ष्मी बिष्ट पौडेलको नाममा रहेको बुटवल उपमहानगरपालिका–९, मिलनचोकस्थित कित्ता नम्बर १९१ को ५९.०४ वर्गमिटर जग्गा र त्यसमा निर्मित तीनतले पक्की घर धितो राखेर २०७७ पुस १ गतेल लुम्बिनी विकास बैंकको रुपन्देही, बुटवल शाखाबाट ४८ लाख रुपैयाँ कर्जा लिनुभएको थियो ।
साँवा, ब्याज र हर्जाना गरी करिब ६० लाख बैंकले असुलउपर गर्नुपर्ने देखिए पनि सस्तोमा घरजग्गा हडप्ने उद्देश्यले करिब १ करोड ५० लाख पर्ने घरजग्गा बैंकले लिलामी गरिदिएपछि आफुहरु सडकमा आएको उहाँले बताउनुभयो । ‘सडकमा आएर न्याय माग्दै भौंतारिरहेका छौं कहाँ जाने, के गर्ने केही थाहा छैन’–उहाँले भन्नुभयो ।
व्यवसायमा आएको मन्दी र कोभिड–१९ को प्रभावका कारण बैंकको नियमित किस्ता भुक्तानीमा केही समस्या आएको पौडेल बताउनुहुन्छ । तर, आफूले बैंकसँग समन्वय गरेर ऋण चुक्ता गर्ने प्रयास जारी राखेको उहाँको दावी छ । उहाँका अनुसार बैंकका तत्कालीन शाखा प्रमुख चन्द्रबहादुर सारुसँगको समन्वयमा घरजग्गा विक्री गरेर ऋण चुक्ता गर्ने समझदारीसमेत भएको थियो । सोहीअनुसार घरजग्गा विक्रीका लागि बैना गरिसकेको अवस्थामा बैंकले आफूलाई जानकारी नदिइ गोप्य रूपमा लिलामी गरेको पौडेलको आरोप छ ।
अझ गम्भीर प्रश्न बैंकको लिलामी मूल्यलाई लिएर उठेको छ । पौडेलका अनुसार बैंकको साँवा, ब्याज तथा अन्य रकम जोड्दा करिब ५८ लाख ३९ हजार रुपैयाँभन्दा बढी दायित्व देखिएको अवस्थामा समेत घरजग्गा ५३ लाख रुपैयाँमा विक्री गरिएको हो । यदि उक्त तथ्य सही हो भने बैंकले ऋणीको सम्पत्ति विक्री गर्दा आफ्नो बक्यौता रकमसमेत पूर्ण रूपमा असुल गर्न नसकेको देखिन्छ । यसले लिलामी प्रक्रिया ऋण असुलीका लागि कति प्रभावकारी
र पारदर्शी थियो भन्ने प्रश्न उठाएको छ ।
स्थानीय खगेन्द्र पौडेल बैंकले पटकपटक साँवा, ब्याज र हर्जाना चुक्ता गर्न दबाब दिएको तर, लिलामीबारे ऋणीलाई पर्याप्त जानकारी नदिएको बताउनुहुन्छ ।
स्थानीय दीपक पौडेल पनि पहिलो पक्षलाई जानकारी नदिइ तेस्रो पक्षलाई सम्पत्तिको हक हस्तान्तरण गरिएको दावीप्रति प्रश्न उठाउनुहुन्छ । पौडेल भन्नुहुन्छ–‘बैंकलाई समेत घाटा हुने गरी मेरो घरजग्गा तेस्रो व्यक्तिको
नाममा विक्री गरिनुले प्रक्रिया नै शंकास्पद देखिएको छ । यसबाट म घरबारबिहीन भएँ, बैंकले पनि आफ्नो रकम पूर्ण रूपमा असुल गर्न सकेन ।’
यद्यपि बैंकका कर्मचारीले नियतवश ऋणीको सम्पत्ति सस्तोमा लिलामी गरेको वा कुनै मिलेमतो भएको भन्ने आरोप स्वतः प्रमाणित हुँदैन । त्यसका लागि लिलामी सूचना, मूल्यांकन प्रतिवेदन, बैंकको बक्यौता विवरण, लिलामीसम्बन्धी कागजात, सूचना प्रकाशन तथा सम्पत्ति हस्तान्तरणको सम्पूर्ण प्रक्रिया स्वतन्त्र रूपमा परीक्षण गर्नुपर्ने हुन्छ । यस प्रकरणले एउटा ठूलो प्रश्न भने उठाएको छ–बैंकको धितो लिलामी प्रक्रिया ऋण असुलीको अन्तिम उपाय हो कि ऋणीको सम्पत्ति बिक्री गर्ने सहज बाटो ? ऋणीको सम्पत्ति लिलामी गर्दा बैंकको हितसँगै ऋणीको कानुनी अधिकार, सम्पत्तिको वास्तविक मूल्य र प्रक्रियाको पारदर्शिता पनि उत्तिकै महत्वपूर्ण हुन्छ ।
यसबारे लुम्बिनी बिकास बैंकका बुटवल शाखा प्रमुख चन्द्र बहादुर सारूले ऋणीलाई पटकपटक ताकेता गर्दा पनि सम्पर्कमा नआएपछि घर जग्गा लिलाम प्रक्रिया अगाडि बढाएको प्रतिक्रिया दिनुभयो । उहाँले भन्नुभयो–‘लिखित, मौखिक, फोनबाट, मेसेजबाट धेरैपटक सूचना गरेको हो । तर, उहाँहरु सम्पर्कमा नआएपछि नियम अनुसार लिलाम विक्री गरिएको हो ।’ सम्बन्धित नियामक निकाय तथा कानूनी निकायबाट लिलामी प्रक्रिया प्रचलित नियम अनुसार भएको उहाँको दावी छ ।
अब सम्बन्धित नियामक निकाय तथा कानुनी निकायबाट लिलामी प्रक्रिया प्रचलित नियम अनुसार भएको थियो वा थिएन भन्ने विषयको परीक्षण हुनुपर्ने देखिन्छ । पौडेल परिवारले आफू अन्यायमा परेको भन्दै सम्बन्धित निकायबाट लिलामी प्रक्रियाको निष्पक्ष छानबिन र सम्पत्तिको वास्तविक मूल्य तथा बैंकको बक्यौता रकमका आधारमा आवश्यक कानूनी उपचार खोजिरहेको जनाएको छ । अब सम्बन्धित नियामक तथा कानूनी निकायबाट लिलामी प्रक्रिया प्रचलित नियमअनुसार भएको थियो वा थिएन भन्ने विषयको परीक्षण हुनुपर्ने देखिन्छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij