२०८३, कार्तिक १० गते

Oct 27 2026 | २०८३, कार्तिक १० गते

सरकार परिणामभन्दा ‘फण्डा’को पछि लाग्यो : आर्यन राई

मंगलवार , कार्तिक १०, २०८३

  • 217
    Shares
  • 217
    Shares
  • काठमाडौँ, १० कार्तिक । श्रम संस्कृति पार्टीका प्रमुख सचेतक आर्यन राईले वर्तमान सरकार परिणाममुखी कामभन्दा प्रचारबाजीमा केन्द्रित भएको आरोप लगाउनुभएको छ । 

    सरकारले आफूले गरेका कामको मूल्याङ्कन सामाजिक सञ्जाल र त्यसका अल्गोरिदमका आधारमा गर्न नहुने भन्दै उनले वास्तविक उपलब्धि र परिणामका आधारमा कामको मूल्याङ्कन गर्नुपर्ने बताउनुभएको हो । मंगलवार काठमाडौंमा आयोजित एक कार्यक्रममा सरकारको पछिल्लो ६–७ महिनाको कार्यशैलीप्रति टिप्पणी गर्दै राईले छिमेकी मुलुकसँगको सम्बन्ध र राष्ट्रिय स्वाधीनताका विषयमा पनि प्रश्न उठाउनु भयो ।

    उहाँले कुनैपनि राजनीतिक दल स्थापित हुन छिमेकी मुलुकसामु झुक्नुपर्ने अवस्था हुनु दुःखद् भएको बताउनु भयो । नेपालले पञ्चशीलको सिद्धान्त र बुद्धको विचारअनुरूप सबै राष्ट्रसँग सन्तुलित तथा सुमधुर सम्बन्ध कायम गर्नुपर्ने उहाँको भनाइ थियो । तर कुनैपनि देशसँग मैत्रीपूर्ण सम्बन्ध राख्नुको अर्थ राष्ट्रिय सार्वभौमिकतामा सम्झौता गर्नु नभएको उनले स्पष्ट पार्नुभयो ।

    प्रधानमन्त्री बालेन्द्र साहले सीमा विवादका विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै राईले त्यसलाई सच्याउनुपर्ने माग गर्नुभयो । सीमासम्बन्धी विषयमा सत्ता पक्ष र प्रतिपक्षबीच मतभेद हुन नहुने उल्लेख गर्दै उहाँले राष्ट्रियता र देश निर्माणका सवालमा सबै एकजुट हुनुपर्ने बताउनु भयो । प्रधानमन्त्रीको अभिव्यक्तिसँगै अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले दिनुभएको अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाउँदै उहाँले त्यसबारे संसद्मा प्रश्न उठाउने बताउनु भयो ।

    राष्ट्रियताको पक्षमा उभिनु कुनैपनि राष्ट्रको विरोध गर्नु नभएको उहाँको भनाइ छ । राईले सामाजिक सञ्जालमा अल्गोरिदम र साइबर समूहको प्रयोग गरेर फरक मत राख्ने व्यक्तिको चरित्रहत्या गर्ने प्रवृत्तिप्रति पनि चिन्ता व्यक्त गर्नुभयो । उहाँले कुनैपनि राजनीतिक दलप्रति अन्धभक्त नबन्न र देशको सार्वभौमिकता तथा राष्ट्रिय हितका विषयमा सचेत रहन युवाहरूलाई आग्रह गर्नुभयो । 

    उहाँले भन्नुभयो, ‘सरकार परिणामभन्दा फन्डाको पछि लागेको छ। मैले बर्खे अधिवेशनको अन्तिम दिन पनि सदनमा भनेको थिएँ । सरकारले गरेका कामको मूल्याङ्कन गर्ने मापदण्ड सामाजिक सञ्जाल र अल्गोरिदम होइनन् । त्यसैले वर्तमान सरकारलाई परिणाममुखी भएर काम गर्न विनम्र अनुरोध गर्दछु । अर्को कुरा, कुनैपनि राजनीतिक दल स्थापित हुन छिमेकी मुलुकसामु लम्पसार पर्नुपर्ने कस्तो राष्ट्रवाद हो ? हामी कुनैपनि राष्ट्रको विरुद्धमा छैनौँ ।

    पञ्चशीलको सिद्धान्तअनुसार सबै देशसँग सन्तुलित र सुमधुर सम्बन्ध राख्नुपर्छ । तर यसको अर्थ आफ्नो सार्वभौमसत्तामा सम्झौता गर्नु होइन । प्रधानमन्त्रीज्यूले सीमासम्बन्धी दिनुभएको अभिव्यक्ति र वर्तमान अर्थमन्त्रीज्यूका भनाइप्रति हाम्रो गम्भीर असहमति छ ।

    राष्ट्रियता र सीमा जस्ता विषयमा सत्ता र प्रतिपक्षभन्दा माथि उठेर हामी सबैले जिम्मेवार नागरिकका रूपमा उभिनुपर्छ । यी विषयमा सदनमा प्रश्न उठाउने नै छौँ । देशप्रेम र राष्ट्रवाद कुनै पनि राष्ट्रको विरोध होइन । आफ्नो देशको सार्वभौमसत्ताको पक्षमा उभिनु कसैको विरुद्धमा उभिनु होइन। त्यसैले कुनै पनि राजनीतिक दलको अन्धभक्त नबनौँ । देशको हित र राष्ट्रिय स्वाभिमानमाथि प्रश्न उठ्दा पनि ताली बजाउने प्रवृत्तिबाट मुक्त बनौँ ।’

    उहाँले देशको हित र राष्ट्रिय स्वाधीनताका सवालमा दलगत आग्रहभन्दा माथि उठेर सचेत नागरिकका रूपमा उभिनुपर्नेमा जोड दिनुभयो ।