२०८३, कार्तिक १० गते

Oct 27 2026 | २०८३, कार्तिक १० गते

लुम्बिनी बचाउ महाअभियानका संयोजक अकरम खाँ रिहा

मंगलवार , कार्तिक १०, २०८३

  • 334
    Shares
  • 334
    Shares
  • भैरहवा, १० कार्तिक । सोमबार राती पक्राउ पर्नुभएका लुम्बिनी बचाउ महाअभियान, लुम्बिनीका संयोजक अकरम खाँ रिहा हुनुभएको छ । सरकारले लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मालाई नियुक्त गरेको विरोधका क्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खड्क राज पौडेल (गनेस) को पुत्ला जलाएको आरोपमा खाँ पक्राउ पर्नुभएको थियो ।

    लुम्बिनी साँस्कृतिक नगरपालिका–६ निवासी ६१ वर्षिय खाँसहित दुईजनालाई इलाका प्रहरी कार्यालय, लुम्बिनीको टोलीले हिजो पक्राउ गरेको थियो । लुम्बिनीबाट पक्राउ परेका दुवैजनालाई जिल्ला प्रहरी कार्यालय, रुपन्देही ल्याइएको थियो । 

    आगामी दिनमा आन्दोलनको स्वरुप परिवर्तन गर्ने र पुत्ला लगायत आगजनीका कार्यक्रम नगर्ने कागज गरेपछि मंगलबार दिउँसो प्रहरीले उहाँलाई रिहा गरेको हो । आफ्ना भाइको रोहबरमा प्रहरीले रिहा गरेको खाँले जानकारी दिनुभयो । 

    रिहा भएपछि पत्रकारहरुसँग कुराकानी गर्दै संयोजक खाँले कयौं चरणमा लुम्बिनी बचाउ महाअभियानले विरोधका कार्यक्रम गरेको बताउनुभयो । ‘सरकारप्रति हाम्रो आक्रोश थियो, त्यो व्यक्त गर्दै आएका थियौं, उहाँले भन्नुभयो–‘अघिल्ला सरकारले गलत कदम चाल्दा पनि आन्दोलन गरेकै हो ।’ पटकपटक पर्यटनमन्त्रीलाई भेटेर समस्या राख्दा पनि कुनै सुनुवाई नभएपछि मन्त्रीको पुत्ला दहन गरेको उहाँको भनाइ छ । नेपाली र लुम्बिनीबासी भएकाले प्रहरीले आफूलाई पक्राउ गर्दा गर्वको अनुभुति भएको खाँले दावी गर्नुभयो ।

    लुम्बिनी बचाउ महाअभियानका सह–संयोजक राम विकास चौधरीले सरकारलाई पटकपटक आग्रह गर्दा पनि पर्यटनमन्त्रीले लुम्बिनी विकास कोषका लागि अनउपयुक्त व्यक्ति पठाइसकेपछि आफूहरुको विरोध स्वभाविक भएको बताउनुभयो । आफूहरुको विरोध शान्तिपूर्ण रहेको र आगामी दिनमा पनि शान्तिपूर्ण नै रहने बताउनुभयो ।

    वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले लुम्बिनी बचाउ महाअभियान, लुम्बिनीका संयोजक अकराम खाँ मध्यरातमा पक्राउ गर्नु निन्दनीय भएको बताउनुभयो । ‘यो संविधान र कानून मिचेर गरिएको छ, उहाँले भन्नुभयो–‘संविधानले नागरिकलाई विरोध गर्ने अधिकार प्रदान गरेको छ । उहाँले संवैधानिक अधिकार प्रयोग गरेर विरोध गर्नुभएको हो, ’त्रिपाठीले भन्नुभयो । सरकारको यो स्वेच्छाचारी कदमको सम्पूर्ण नागरिकले विरोध गर्नुपर्ने बताउनुभयो । 

    खानसँगै पक्राउ पर्नुभएका लुम्बिनी साँस्कृतिक नगरपालिका–९ का ३३ वर्षीय वाजिउद्दिन मुसलमान पनि रिहा हुनुभएको छ ।