२०८३, कार्तिक १० गते

Oct 27 2026 | २०८३, कार्तिक १० गते

स्वतन्त्रता र लोकतन्त्रको प्रेरणाले राजनीतिमा आएँ : मुख्यमन्त्री पाण्डे

मंगलवार , कार्तिक १०, २०८३

  • 148
    Shares
  • 148
    Shares
  • काठमाडौँ, १० कार्तिक । गण्डकी प्रदेशका मुख्यमन्त्री एवं नेपाली काँग्रेसका नेता सुरेन्द्रराज पाण्डेले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्ने भावनाले आफू राजनीतिमा आएको बताउनुभएको छ । 

    पोखरामा मंगलवार आयोजित कार्यक्रममा बोल्दै मुख्यमन्त्री पाण्डेले बाल्यकालमा लोकतान्त्रिक आन्दोलनमा संलग्न नेताहरूले भोग्नुपरेको कठिनाइ नजिकबाट देखेको स्मरण गर्नुभएको हो । उहाँले त्यही अनुभवले आफूभित्र राजनीतिक चेतना र स्वतन्त्रताको पक्षमा उभिने प्रेरणा जगाएको बताउनु भयो ।

    उहाँले बाल्यकालमा रामचन्द्र पौडेललगायतका नेताहरू राति आफ्नो घरमा आउने गरेको स्मरण गर्नुभयो । आफू १०–११ वर्षको हुँदा ती नेताहरू किन राति आउँथे, किन रातभरि घरमा बस्थे र किन उज्यालोमा खुलेर हिँड्न सक्दैनथे भन्ने कौतूहलता जागेको उहाँले बताउनु भयो । उहाँले स्वतन्त्रता र लोकतान्त्रिक मूल्यप्रतिको त्यही भावनाले आफूलाई राजनीतिमा प्रवेश गर्न प्रेरित गरेको बताए । राजनीतिक आन्दोलनका क्रममा नेताहरूले भोगेका दुःख, संघर्ष र त्यागलाई नयाँ पुस्ताले बुझ्नुपर्ने उहाँको भनाइ छ । 

    मुख्यमन्त्री पाण्डेले भन्नुभयो, ‘म सानो छँदा, १०–११ वर्षको उमेरमा, रामचन्द्र दाइ लगायतका नेताहरू राति घरमा आउनुहुन्थ्यो र उज्यालो भएपछि मात्र निस्कनुहुन्थ्यो । उहाँहरू किन राति मात्र आउनुहुन्छ र दिउँसो खुलेर हिँड्न सक्नुहुन्न भन्ने कौतुहलता मलाई लाग्थ्यो । पछि बुझ्दै जाँदा उहाँहरूले खुलेर बोल्न, हिँड्न र आफ्ना विचार राख्न पाउने अवस्था रहेनछ भन्ने थाहा पाएँ । यही अनुभवले मलाई हरेक नागरिकले स्वतन्त्रतापूर्वक बोल्न, हिँड्न, लेख्न र आफ्ना विचार व्यक्त गर्न पाउनुपर्छ भन्ने प्रेरणा दियो, र म राजनीतिमा आएँ ।

    यो पुस्तक पनि प्रेरणाको स्रोत बन्नेछ। कांग्रेसमा धेरै साथीहरूले जेलनेल सहनुभयो, त्याग र तपस्या गर्नुभयो, तर कुनै राजकीय पद प्राप्त गर्नुभएन । त्यसैले हामीले पद र अवसर प्राप्त गरेका व्यक्तिहरूलाई मात्र होइन, लामो समयदेखि पार्टीमा योगदान दिँदै आउनुभएका तर अवसर नपाएका साथीहरूलाई पनि सम्झनुपर्छ । उहाँहरूको योगदानको सम्मान गर्न सक्यौँ भने मात्र हामीले वास्तविक आत्मसन्तुष्टि प्राप्त गर्न सक्छौँ ।’

    पाण्डेले पार्टीका लागि जेलनेल भोगेका, लामो समय संघर्ष गरेका र निरन्तर योगदान दिएका कतिपय नेता तथा कार्यकर्ताले पद प्राप्त नगरे पनि उनीहरूको योगदानलाई बिर्सन नहुने बताउनु भयो ।