२०८३, कार्तिक २९ गते

Nov 15 2026 | २०८३, कार्तिक २९ गते

आज विश्व मधुमेह दिवस

नेपालमा मधुमेह रोगीको संख्या करिब १३ लाख पुग्यो

शनिवार , कार्तिक २८, २०८३

  • 448
    Shares
  • 448
    Shares
  • परासी, २८ कार्तिक । आज ‘विश्व मधुमेह दिवस’ यस वर्ष (मधुमेहको समयमै पहिचान गरौं, जोखिम घटाऔं, स्वस्थ जीवन बचाऔं !) भन्ने नाराका साथ मनाइँदै गरेको यो दिवसले मधुमेहप्रतिको जनचेतनालाई थप बलियो बनाएको  छ ।

    नेपालमा मधुमेह (डाइबिटिज) रोगीहरूको संख्या चिन्ताजनक रूपमा बढ्दै करिब १३ लाख पुगेको छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघ (आईडीएफ) ले सार्वजनिक गरेको पछिल्लो तथ्यांकअनुसार नेपालमा २० देखि ७९ वर्ष उमेर समूहका १२ लाख ५९ हजार १ सय जना वयस्कहरूमा मधुमेहको समस्या देखिएको हो ।

    महासंघको प्रतिवेदनअनुसार  नेपालमा २० देखि ७९ वर्ष उमेर समूहको कुल वयस्क जनसंख्या १ करोड ९१ लाख १७ हजार ९ सय रहेको छ । यस कुल वयस्क जनसंख्यामध्ये ७.७ प्रतिशतमा मधुमेहको व्यापकता (प्रिभ्यालेन्स) रहेको तथ्यांकले देखाएको छ ।

    विश्वव्यापी रूपमा मात्र नभइ नेपालमा पनि मधुमेह एक चुनौतीका रूपमा फैलिँदै गएको छ । अन्तर्राष्ट्रिय मधुमेह महासंघको तथ्यांक अनुसार नेपालमा करिब १२ लाख ५९ हजार वयस्क मानिसहरू मधुमेहबाट प्रभावित छन् र यहाँ मधुमेहको व्यापकता दर ६.६ प्रतिशत रहेको छ ।

    अन्तर्राष्ट्रिय मधुमेह महासंघको वर्गीकरणअनुसार नेपाल दक्षिणपूर्वी एसियाली क्षेत्रमा पर्दछ। उक्त क्षेत्रका देशहरूमध्ये २० देखि ७९ वर्ष उमेर समूहमा सबैभन्दा बढी मधुमेहका बिरामी भएका मुलुकहरूको सूचीमा नेपाल चौथो स्थानमा रहेको छ । बदलिँदो जीवनशैली, अस्वस्थकर खानपान, शारीरिक व्यायामको कमी तथा शहरीकरणका कारण नेपालमा पछिल्लो समय मधुमेह लगायतका नसर्ने रोगहरूको जोखिम तीव्र रूपमा बढिरहेको स्वास्थ्य विज्ञहरूले बताउँदै आएका छन् । समयमै स्वास्थ्य परीक्षण गर्ने, सन्तुलित आहार लिने र नियमित व्यायाम गर्ने बानी बसालेमा मधुमेहको जोखिम कम गर्न तथा यसलाई नियन्त्रणमा राख्न सकिने चिकित्सकहरूको सुझाव छ ।

    तर, यसभन्दा पनि चिन्ताजनक पक्ष के भने, नेपालमा मधुमेह भएका करिब ७०.४ प्रतिशत मानिसलाई आफूलाई यो रोग लागेको छ भन्ने कुराको जानकारी नै छैन (निदान भएको छैन) । अस्वस्थ खानपान, शारीरिक व्यायामको कमी, मोटोपना, धूम्रपान, तनाव र बढ्दो शहरीकरणका कारण यो रोग अब उमेर ढल्केकाहरूमा मात्र सीमित नरही युवा पुस्तामा समेत तीव्र रूपमा फैलिरहेको छ ।

    मधुमेहको जोखिम, जटिलता र बच्ने उपायहरू 

    विश्व मधुमेह दिवसको सन्दर्भमा पश्चिम नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ५ स्थायी घर भई हाल चितवनमा रहेको भरतपुर सामुदायिक अस्पतालमा वरिष्ठ परामर्शदाता (सिनियर कन्सल्टेन्ट फिजिसियन) का रूपमा कार्यरत डा. महेन्द्र अग्रहरीले मधुमेहको जोखिम, यसका गम्भीर जटिलताहरू र समयमै अपनाउनुपर्ने सावधानीबारे जानकारी दिनुभएको छ । डा. अग्रहरीका अनुसार बदलिँदो जीवनशैली, तनाव व्यवस्थापनमा कमी, खानपानको असन्तुलन र निद्राको अपर्याप्तताले गर्दा पछिल्लो समय युवा अवस्थामा समेत मधुमेहको प्रकोप बढ्दो छ ।

    बिरामीले आफ्नो स्वास्थ्यलाई सहजै नियन्त्रणमा राख्न डा. अग्रहरीले मुख्यतया तीनवटा विषयमा विशेष जोड दिनुभएको छ । खानपानको सन्तुलन– आहारमा चिनी, नुन, चिल्लो पदार्थ र जंक फुडको मात्रा कम गर्ने तथा हरियो सागसब्जी, ताजा फलफूल र पूर्ण अनाजलाई प्राथमिकता दिने, पर्याप्त निद्रा– शरीरलाई स्वस्थ र तरोताजा राख्न दैनिक कम्तीमा ७ देखि ८ घण्टा गहिरो निद्रा सुत्ने, नियमित व्यायाम–शारीरिक सक्रियता बढाउँदै हप्तामा कम्तीमा १५० मिनेट (अर्थात दैनिक ३० मिनेट) छिटो हिंड्ने वा नियमित व्यायाम गर्ने लगायत छन् ।

    यी तीनवटा कुराको प्रभावकारी व्यवस्थापन गर्न सकेमा मधुमेहलाई पूर्ण रूपमा कन्ट्रोलमा राख्न सकिने र चिकित्सकको सल्लाह बमोजिम औषधिको मात्रा घटाउन तथा कतिपय अवस्थामा औषधिबिनै पनि मधुमेह नियन्त्रणमा राख्न सकिने उहाँको सुझाव रहेको छ ।

    मधुमेहलाई समयमै वेवास्ता गरेमा वा लापरबाही गरेमा शरीरका महत्वपूर्ण अंगहरूमा गम्भीर असर पर्ने डा. अग्रहरीको सुझाव छ  ।  मुटु तथा मस्तिष्क– हृदयघात, स्ट्रोक (पक्षाघात) र उच्च रक्तचापको उच्च जोखिम रहने, आँखा तथा मिर्गौला–आँखाको दृष्टि कमजोर हुने (रेटिनोपाथी) तथा मिर्गौला फेल हुने (नेफ्रोपाथी) जस्ता गम्भीर खतरा र नशा तथा हातखुट्टा झमझमाउने, पोल्ने, दुख्ने (न्युरोपाथी), घाउ छिटो निको नहुने र ग्याग्रिन भई खुट्टा काट्नुपर्ने अवस्था आउन सक्ने हुनाले सजगता अपनाउनुपर्ने डा. अग्रहरीको सुझाव छ ।  

    रोगबाट बच्न र समयमै पहिचान गर्नका लागि नियमित रूपमा फास्टिङ, पोस्टप्रान्डियल तथा प्रत्येक ३ महिनामा जाँच गराउनुपर्नेमा डा. अग्रहरीको जोड छ । साथै, नियमित रूपमा चिकित्सकको परामर्श लिने, शरीरको तौललाई सन्तुलनमा राख्ने तथा धूम्रपान र मदिरा पूर्ण रूपमा त्याग्न उहाँको सुझाव छ  ।  ‘आज जाँच गरौँ, भोलि स्वस्थ जीवन जिउँ’ भन्ने मूल नाराका साथ आफ्नो स्वास्थ्यप्रति सचेत हुन, समयमै मधुमेहको पहिचान गर्न र स्वस्थ जीवनशैली अपनाउन डा. अग्रहरीको सुझाव छ ।

    मधुमेह अब केवल एउटा व्यक्तिगत स्वास्थ्य समस्या मात्र नरही विश्वव्यापी र राष्ट्रिय दुवै तहमा गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा फैलिँदै गएको छ  । नेपालमा करिब ५० प्रतिशतभन्दा बढी मानिसलाई आफूलाई यो रोग भएको थाहा नहुनु अझ चिन्ताजनक विषय हो, जसले समयमै परीक्षण र जनचेतनाको आवश्यकतालाई प्रष्ट पार्छ ।

    बदलिँदो जीवनशैली, असन्तुलित खानपान र शारीरिक निष्क्रियतालाई चिर्दै नियमित व्यायाम, सन्तुलित आहार, पर्याप्त निद्रा र समयमै स्वास्थ्य जाँच (फास्टिङ, पोस्टप्रान्डियल र  ग्लाकेटेड हेमोग्लोबिन) गर्ने हो भने मधुमेहका गम्भीर जटिलताहरूबाट पूर्ण रूपमा बच्न सकिन्छ । ‘आज जाँच गरौँ, भोलि स्वस्थ जीवन जिउँ’ भन्ने यस वर्षको मूल मन्त्रलाई आत्मसात् गर्दै हामी सबैले आफ्नो स्वास्थ्यप्रति सचेत हुन र स्वस्थ जीवनशैली अपनाउनु नै आजको प्रमुख आवश्यकता हो ।