२०८३, कार्तिक २९ गते

Nov 15 2026 | २०८३, कार्तिक २९ गते

भैरहवामा छठपर्वको तयारी अन्तिम चरणमा

शनिवार , कार्तिक २८, २०८३

  • 589
    Shares
  • 589
    Shares
  • भैरहवा, २८ कार्तिक । दशैं र तिहार सकिएसँग छठपर्वको रौनक सुरु भएको छ । विशेष गरी तराई–मधेश क्षेत्रमा मनाइने छठपर्व पछिल्लो समय देशका धेरै क्षेत्रमा मनाउने गरिएको छ । रुपन्देहीको भैरहवामा पनि छठ पर्व मनाउन आवश्यक तयारी अन्तिम चरणमा पुगेको छ ।

    श्री रामजानकी हनुमान मन्दिर सेवा समिति सिद्धार्थनगर–४ का अध्यक्ष तथा कार्यक्रम संयोजक नरेन्द्र प्रसाद रौनियारले हनुमान मन्दिर परिसरमा छठपर्वको तयारी अन्तिम चरणमा पुगेको बताउनुभयो । उहाँका अनुसार मन्दिर परिसरमा रहेका तीनवटा छठ पोखरीमा करिब ९ सय बेदी निर्माण गरिएको छ । यस वर्ष यहाँ १० देखि १५ हजार श्रद्धालु भक्तजनहरु सहभागी हुने अपेक्षा गरिएको उहाँले बताउनुभयो ।

    सिद्धार्थनगर नगरपालिका–५ स्थित श्री कालीभक्ति गण (ई) मा छठ पूजाका बेला भक्तजनको अत्यधिक चाप हुने भएकाले हनुमान मन्दिर परिसरमा पनि छठपूजा गर्न थालिएको रौनियारले बताउनुभयो । शान्ति सुरक्षा, बेदी व्यवस्थापनलगायतका कामका लागि विभिन्न उपसमिति गठन गरी तयारी अघि बढाइएको उहाँले जानकारी दिनुभयो ।

    पोखरीको रंगरोगनका लागि वडा कार्यालयले सहयोग गरेको भए पनि प्रदेश तथा संघ सरकारबाट भने सहयोग प्राप्त हुन नसकेको उहाँको भनाइ छ । सरकारले छठपर्वको अवसरमा दुई दिन सार्वजनिक बिदा दिएकोमा उहाँले धन्यवाद व्यक्त गर्नुभयो ।

    समितिका सदस्य तालकेश्वर कान्दुका अनुसार सुरुमा दुईवटा पोखरी रहेकोमा भक्तजनको चाप बढ्दै गएपछि थप एउटा पोखरी निर्माण गरिएको हो ।

    त्यसै गरी छठ पूजा समिति सिद्धार्थनगर–५ का संयोजक आनन्द प्रसाद गुप्ताले कालीभक्ति गणमा विगत ६५ वर्षदेखि निरन्तर छठ पूजा हुँदै आएको बताउनुभयो । सुरुमा मधेशी समुदायमा मात्र सीमित रहेको छठपर्व अहिले विभिन्न समुदायले मनाउन थालेको उहाँको भनाइ छ ।

    छठपर्वको धार्मिक महिमा ठूलो रहेको उल्लेख गर्दै गुप्ताले यस अवसरमा गरिने भाकल पूरा हुने जनविश्वास रहेको बताउनुभयो । उहाँका अनुसार कालीभक्ति गणस्थित पूजास्थलमा यस वर्ष ३५ हजारभन्दा बढी भक्तजनको उपस्थिति रहने अपेक्षा गरिएको छ । पूजाको व्यवस्थापनमा वडा कार्यालय तथा कालीभक्त गणले महत्वपूर्ण सहयोग गरेको उहाँले बताउनुभयो ।

    fff.jpg

    सिद्धार्थनगर नगरपालिका–५ का वडाध्यक्ष पुरन प्रसाद श्रेष्ठले छठपर्वको तयारी करिब ९९ प्रतिशत पूरा भएको जानकारी दिनुभयो । उहाँका अनुसार छठपूजाको व्यवस्थापनका लागि यस वर्ष वडा कार्यालयले दुईलाख रुपैयाँ बजेट विनियोजन गरेको छ । संघ सरकारबाट भने सहयोग प्राप्त हुन नसकेको उहाँले बताउनुभयो ।

    त्यस्तै छठ पूजा समिति सिद्धार्थनगर नगरपालिका–९ का अध्यक्ष विरेन्द्र प्रसाद कुर्मीले गोनिहयास्थित पूजास्थलमा ९० वटा बेदी निर्माण गरिएको जानकारी दिनुभयो । उहाँका अनुसार छठपर्वको तयारी तीव्र रूपमा भइरहेको छ । पर्वको अवसरमा आइतबार रात्री जागरण कार्यक्रमसमेत आयोजना गरिएको उहाँले जानकारी दिनुभयो ।

    gonahiya.jpg

    समितिका कोषाध्यक्ष रतन गुप्ताका अनुसार गोनिहयामा स्थायी रूपमा छठ पूजास्थल निर्माण गरिएको छ । यहाँ नदी किनारमा परम्परागत रूपमा छठपूजा हुँदै आएको उहाँले जानकारी दिनुभयो ।