शनिवार , कार्तिक २८, २०८३
काठमाडौं, २८ कार्तिक । रामेछापको विकास र समृद्धिसँग प्रत्यक्ष जोडिएको खिम्ती–ठोसे–शिवालय बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना’ को कार्यान्वयन प्रक्रिया अगाडि बढाइएको छ । ‘संघीय सांसद एवं अर्थ समितिका सभापति डा. कृष्णहरि बुढाथोकीका अनुसार १ हजार २१६ मेगावाट क्षमताको बृहत् जलाशययुक्त बहुउद्देश्यीय आयोजना’ का लागि सरकारको नीति तथा योजनामा समावेश भएको यस आयोजनाको अध्ययन, अनुसन्धान तथा वातावरणीय पक्षको विश्लेषणका लागि ऊर्जा मन्त्रालयबाट ३ करोड बजेट विनियोजन भएसँगै कामले गति लिने भएको हो ।
विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन, वातावरणीय प्रभाव मूल्यांकन (ईआईए) र आवश्यक प्रारम्भिक प्रक्रियालाई तीव्रता दिन ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयले समेत विशेष चासो देखाएको छ । सांसद डा. बुढाथोकीका अनुसार यस आयोजनालाई शीघ्र कार्यान्वयनमा लैजानका लागि ऊर्जामन्त्री र मन्त्रालयका उच्च अधिकारीहरूसँगको समन्वयमा आवश्यक सहजीकरणको काम अगाडि बढेको छ ।
आयोजनालाई प्राथमिकताका साथ अघि बढाउन मन्त्रालय प्रतिबद्ध रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बताउनुभयो । ‘राष्ट्रिय ऊर्जा सुरक्षा र बहुउद्देश्यीय लाभका दृष्टिले यो आयोजना अत्यन्तै महत्वपूर्ण छ,’मन्त्री श्रेष्ठले भन्नुभयो–‘विनियोजित बजेटको प्रभावकारी कार्यान्वयन गर्न मन्त्रालयले आवश्यक सबै सहजीकरण गर्नेछ ।’
रामेछापको विकास र समृद्धिलाई राष्ट्रिय विकासको मूल प्रवाहसँग जोड्ने लक्ष्यसहित आफूले यस आयोजनालाई अध्ययनको चरणबाट कार्यान्वयनको चरणसम्म पुर्याउन निरन्तर पहल र पैरवी गरिरहेको अर्थ समितिका सभापति डा. बुढाथोकीले जानकारी दिनुभयो ।
विद्युत् उत्पादनमा मात्र सीमित नरही सिँचाई, खानेपानी, पर्यटन प्रवद्र्धन, रोजगारी सिर्जना तथा स्थानीय आर्थिक गतिविधिको विस्तारका दृष्टिले यसलाई राष्ट्रिय महत्वको बहुउद्देश्यीय आयोजनाका रूपमा हेरिएको छ । आयोजना कार्यान्वयनमा आउन सके रामेछापको आर्थिक तथा सामाजिक रूपान्तरणका साथै देशको ऊर्जा उत्पादन, लगानी विस्तार र राष्ट्रिय अर्थतन्त्रमा समेत महत्वपूर्ण योगदान पुग्ने विश्वास लिइएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij
