२०८३, मंसिर १ गते

Nov 17 2026 | २०८३, मंसिर १ गते

बुटवलमा महिलासम्बन्धी फोटो प्रदर्शनी हुँदै

सोमवार , कार्तिक ३०, २०८३

  • 463
    Shares
  • 463
    Shares
  • बुटवल, ३० कार्तिक । फोटो सर्कलले नेपाल पिक्चर लाइब्रेरी कार्यक्रमअन्तर्गत ‘सार्वजनिक जीवनमा महिला’ विषयक फोटो प्रदर्शनी आयोजना गर्ने भएको छ । रुपन्देहीको बुटवलस्थित लुम्बिनी वाणिज्य क्याम्पस परिसरमा आगामी मंसिर ३ देखि ५ गतेसम्म प्रदर्शनी सञ्चालन हुनेछ ।

    मंसिर ३ गते बिहान ८ः३० बजे औपचारिक उद्घाटन हुने प्रदर्शनीमा बुटवलका कलेज तथा विद्यालयका विद्यार्थी, विभिन्न सामाजिक संघ–संस्था, महिला अधिकारकर्मी र महिला समूहहरूको सहभागीता रहने फोटो सर्कलकी लाइब्रेरियन सरिता सिंहले जानकारी दिनुभयो ।

    प्रदर्शनीका क्रममा ‘सार्वजनिक जीवनमा महिला’ फोटो पुस्तकको दोस्रो संस्करणसमेत सार्वजनिक गरिनेछ । पुस्तकमा आठ हजार तस्बिर समावेश गरिएको छ । प्रदर्शनीमा महिलाहरूले फोटोग्राफी व्यवसाय, नाट्यकर्म र चित्रकलासम्बन्धी आफ्ना अनुभव तथा विचार प्रस्तुत गर्ने कार्यक्रमसमेत रहेको छ ।

    महिलावादी अभियान र आन्दोलनसँग सम्बन्धित तस्बिरहरू समेटिएको उक्त पुस्तकमा महिलाको राजनीतिक अवस्था, सामाजिक तथा आर्थिक परिवेशका साथै साँस्कृतिक पक्षलाईसमेत समेटिएको छ ।

    पुस्तकका क्यूरेटर नयनतारा गुरुङ कक्षपति र दिवसराजा खत्रीले नेपालको ऐतिहासिक महिलावादी आन्दोलन, त्यसको परिवेश र उपलब्धिबारे विस्तृत संवाद गरेका छन् । पुस्तकमा फोटोग्राफीको इतिहास, तस्बिर संरक्षणमा फोटो सर्कलको भूमिका र वर्तमान फोटो परिवेशका विषयमासमेत चर्चा गरिएको छ ।

    लाइब्रेरियन सिंहले बुटवलमा पहिलोपटक आयोजना हुन लागेको प्रदर्शनीको सन्देश व्यापक रहेकाले सबैलाई अवलोकनका लागि आग्रह गर्नुभएको छ ।