आइतवार , मंसिर ६, २०८३
रुपन्देही, ६ मंसिर । रुपन्देहीको बुटवल उपमहानगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा) वितरण गर्ने प्रक्रिया अघि बढाएको छ । पहिलो चरणमा वडा नम्बर ११, १२ र १३ का गरी १ हजार १ सय ५७ परिवारलाई लालपूर्जा वितरण गर्ने तयारी गरिएको छ ।
बुटवल उपमहानगरपालिकाका प्रमुख खेलराज पाण्डेयले २०७७ माघसम्म १० वर्ष भन्दा बढी समयदेखि बसोबास गरिरहेका परिवारलाई सम्बन्धित वडाको सिफारिसका आधारमा लालपूर्जा वितरणको प्रक्रिया अघि बढाइएको बताउनुभयो । वडा नम्बर ११ को मजुवामा ७ सय, वडा नम्बर १२ को राजपुरमा १४५ र वडा नम्बर १३ को जवईमा ३ सय परिवारलाई लालपुर्जा वितरण गर्ने तयारी भइरहेको उहाँले जानकारी दिनुभयो । प्रमुख पाण्डेयले भूमिहीन तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई प्राथमिकतामा राखेर काम भइरहेको बताउनुभयो । उहाँका अनुसार बुटवलमा हालसम्म १० हजार ६ सय १६ जग्गाको नापजाँच सम्पन्न भएको छ भने करिब ७ हजार जग्गाको नापजाँच गर्न बाँकी छ ।
नापी कार्यालय रुपन्देहीका प्रमुख मणि प्रसाद रेग्मीले वडा नम्बर १४ देखि १९ सम्म पुनः नापजाँच गर्न सम्बन्धित निकायबाट अनुमति आवश्यक रहेको समेत बताउनुभयो । उहाँका अनुसार वडा नम्बर २ को पाखापानी क्षेत्रमा नापजाँच सम्पन्न भइसकेको छ । त्यहाँका लाभग्राहीलाई लालपुर्जा उपलब्ध गराउन आवश्यक प्रक्रिया तत्काल अघि बढाउन उहाँले आग्रह समेत गर्नुभयो ।
बुटवल उपमहानगरपालिकाका भूमि व्यवस्थापन शाखा प्रमुख दामोदर ज्ञवालीले भूमिहीन सुकुम्बासी समस्या समाधान तथा अव्यवस्थित बसोबास व्यवस्थापनका लागि लालपूर्जा उपलब्ध गराउन नगरपालिकाले आवश्यक पहल गरिरहेको बताउनुभयो । उहाँले सम्बन्धित निकायसँग समन्वय गरी नापजाँचदेखि पुर्जा वितरणसम्मका प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो । बुटवल उपमहानगरपालिकामा भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासी गरी करिब १८ हजार ८७४ परिवारको लगत रहेको छ । रुपन्देही जिल्लाभर ७९ हजार २ सय ६१ परिवारले जग्गा प्राप्तिका लागि निवेदन दिएको विवरण छ ।
जिल्लामै सबैभन्दा धेरै परिवारको लगत बुटवलमा रहेको जनाइएको छ । यसअघि पनि बुटवलका केही वडामा सीमित संख्यामा लालपूर्जा वितरण गरिएको थियो। । २०८२ साउनमा पुनः सूचना जारी भएपछि करिब ५ हजार फाइलको कम्प्युटर प्रविष्टि तथा जग्गाको नापजाँच प्रक्रिया अघि बढाइएको थियो । तर, भूमि समस्या समाधान आयोग खारेजी तथा प्रक्रियागत अन्योलका कारण लालपूर्जा वितरणको काम प्रभावित हुँदै आएको थियो ।
लालपूर्जा वितरण तथा भूमिसम्बन्धी समस्या समाधानका विषयमा भएको छलफलमा बुटवल उपमहानगर पालिकाका प्रमुख खेलराज पाण्डेय, प्रमुख प्रशासकीय अधिकृत दीपक ज्ञवाली, वरिष्ठ उपसचिव तथा निर्देशक तुलसा अर्याल पाण्डे, वरिष्ठ प्रशासकीय अधिकृत दामोदर ज्ञवाली, नापी तथा भूमि समस्या समाधानसम्बन्धी निकायका कर्मचारीलगायतको सहभागिता रहेको थियो ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij