आइतवार , मंसिर ६, २०८३
काठमाडौं, ६ मंसिर । यमनमा साउदी अरबले गरेको हवाई आक्रमणमा कम्तीमा ४१ जनाको मृत्यु भएको हुथी विद्रोही समूहसम्बद्ध सञ्चारमाध्यमले जनाएको छ ।
मृत्यु हुनेमा ११ बालबालिका र सात महिला रहेको जनाइएको छ । हुथी समूहको नियन्त्रणमा रहेको अल–मसिरा टेलिभिजनकाअनुसार पछिल्लो २४ घण्टामा यमनका विभिन्न स्थानमा भएका आक्रमणमा अन्य २८ जना घाइते भएका छन् । घाइते हुनेमा तीन बालबालिका पनि छन् । टेलिभिजनले हुथी नियन्त्रणमा रहेको राजधानी सानाका स्वास्थ्य अधिकारीलाई उद्धृत गर्दै उक्त विवरण सार्वजनिक गरेको हो । यद्यपि आक्रमण भएका स्थानबारे विस्तृत जानकारी दिइएको छैन । उक्त हताहतीको विवरण स्वतन्त्र रूपमा पुष्टि हुन सकेको छैन ।
साउदी अधिकारीहरूले पनि घटनाबारे तत्काल कुनै प्रतिक्रिया दिएका छैनन् । यसैबीच, हुथी सैन्य प्रवक्ता याह्या सरियाले शुक्रवार साउदी अरबको जाजान क्षेत्रमा रहेको अल–शुकाइक विद्युत् केन्द्र र जाजान बन्दरगाहलाई लक्षित गरी आक्रमण गरेको दाबी गर्नुभएको छ । उहाँले ती स्थानमा प्रत्यक्ष र सटीक प्रहार भएको तथा ठूलो क्षति पुगेको दाबी गर्नुभयो । तर उक्त दाबीको पनि स्वतन्त्र पुष्टि हुन सकेको छैन । हुथी प्रवक्ता सरियाले यमनको उत्तरी सादा प्रान्त, लालसागर किनारको मोचा शहर तथा होदेइदा बन्दरगाहस्थित विद्युत् केन्द्रहरूमा साउदी पक्षबाट भएका भनिएका आक्रमणको जवाफमा साउदी संरचनालाई निशाना बनाइएको बताउनु भयो ।
उहाँले यमनका बन्दरगाह वा विद्युत संरचनामाथि थप आक्रमण भए साउदी अरबका त्यस्तै संरचनामाथि तत्काल जवाफी कारबाही गरिने चेतावनीसमेत दिनुभयो । यता, यमनमा सक्रिय साउदी नेतृत्वको सैन्य गठबन्धनले जाजानलाई लक्षित गरी प्रहार गरिएका दुईवटा ब्यालेस्टिक क्षेप्यास्त्र आफ्नो हवाई प्रतिरक्षा प्रणालीले रोकेर नष्ट गरेको जनाएको छ । क्षेप्यास्त्रका टुक्राहरू अल–शुकाइक क्षेत्रमा खसेको र सम्बन्धित निकायले त्यसबारे आवश्यक कारबाही गरिरहेको गठबन्धनको भनाइ छ । यद्यपि मानवीय क्षति वा भौतिक संरचनामा भएको क्षतिबारे गठबन्धनले विस्तृत विवरण सार्वजनिक गरेको छैन ।
पछिल्ला घटनाक्रमसँगै हुथी विद्रोही र साउदी नेतृत्वको गठबन्धनबाट समर्थित यमनी सरकारी सेनाबीच विभिन्न मोर्चामा सैन्य तनाव बढ्दै गएको छ । पछिल्ला दिनमा हुथी समूहले साउदी अरबका विमानस्थल, तेल संरचना तथा अन्य रणनीतिक क्षेत्रमा क्षेप्यास्त्र र ड्रोन आक्रमण गरेको दाबी गर्दै आएको छ । त्यसको जवाफमा यमनका आवासीय क्षेत्र र पूर्वाधारलाई लक्षित गरी साउदी हवाई आक्रमण तीव्र भएको हुथी सञ्चारमाध्यमले जनाएका छन् ।
यमनमा सन् २०१४ को अन्त्यदेखि द्वन्द्व जारी छ । त्यसबेला हुथी विद्रोहीले राजधानी सानासहित उत्तरी यमनका अधिकांश भूभाग नियन्त्रणमा लिएका थिए । त्यसपछि अन्तर्राष्ट्रिय मान्यता प्राप्त यमनी सरकारको समर्थनमा साउदी अरब नेतृत्वको सैन्य गठबन्धनले सन् २०१५ मा सैन्य हस्तक्षेप शुरु गरेको थियो । त्यसयता यमनमा जारी द्वन्द्वले गम्भीर मानवीय तथा भौतिक संकट निम्त्याउँदै आएको छ ।
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij