२०८३, मंसिर ६ गते

Nov 22 2026 | २०८३, मंसिर ६ गते

भारतमा रहेका नेपालीको पीडा :पहिचान लुकाउनुपर्ने बाध्यतादेखि असुरक्षित यात्रासम्म

आइतवार , मंसिर ६, २०८३

  • 259
    Shares
  • 259
    Shares
  • काठमाडौं,६ मंसिर । भारतमा वर्षौंदेखि बसोवास गर्दै आएका नेपालीहरू आफ्नै देशको नागरिकता बोकेर पनि विदेशी भूमिमा आफ्नो पहिचान लुकाउन बाध्य छन् । 

    बैंक खाता खोल्नेदेखि सिमकार्ड लिनेसम्मका झन्झट, रोजगारीका नाममा ठगी, महिला तथा बालबालिकामाथि हुने शोषण, असुरक्षित यातायात र उपचारका क्रममा आर्थिक संकटजस्ता समस्याले उनीहरूलाई पिरोलिरहेको छ । भारतमा लाखौँ नेपाली रहेको अनुमान गरिए पनि उनीहरूको यकिन तथ्याङ्क र अवस्थाबारे राज्यसँग व्यवस्थित अभिलेख छैन ।

    वर्षौंदेखि भोग्दै आएका यी समस्या सुनाउँदै प्रवासी नेपालीहरूले अब पहिचान, सुरक्षा र सामाजिक सुरक्षाको प्रत्याभूति हुनेगरी नेपाल सरकारले भारतसँग कुटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् । भारतको राजधानी नयाँदिल्लीमा लामो समयदेखि बस्दै आएका नेपालीहरूले नेपाल सरकारसँग आफ्ना समस्या समाधानका लागि प्रभावकारी कुटनीतिक पहल गर्न माग गरेका छन् । उनीहरूले भारतमा रहेका नेपालीको व्यवस्थित तथ्याङ्क सङ्कलन, नेपाली नागरिकताको सहज पहिचान र त्यसकै आधारमा आधारभूत सेवा प्राप्त गर्ने व्यवस्था गर्नुपर्नेमा जोड दिएका छन् । अर्घाखाँची घर भई लामो समयदेखि दिल्लीमा बस्दै आउनुभएका विजय भुसालले भारतमा नेपालीको पहिचान नै प्रमुख समस्या बनेको बताउनु भयो ।

    उहाँकाअनुसार भारतमा नेपाली भएको पहिचान खुलाउँदा हेपिनुपर्ने डरले धेरै नेपालीले आफ्नो वास्तविक परिचय लुकाएर बस्नुपर्ने अवस्था छ । उहाँ आफैँले पनि लामो समयसम्म आफ्नो नेपाली पहिचान लुकाएर बस्नुपरेको अनुभव सुनाउनु भयो । उहाँले नेपाली नागरिकताकै आधारमा भारतमा बैंक खाता खोल्न, सिमकार्ड लिन र अन्य आवश्यक सेवा प्राप्त गर्न सक्ने व्यवस्था हुनुपर्ने माग गर्नुभयो । नेपाली नागरिकता ठूलो पहिचान भए पनि भारतमा त्यसको व्यावहारिक उपयोग हुन नसकेको उहाँको गुनासो छ ।

    भुसालले भारतमा रहेका नेपालीको सङ्ख्याबारे यकिन तथ्याङ्कसमेत नरहेको भन्दै नेपाल र भारत दुवै सरकारले संयुक्त रूपमा अभिलेख तयार गर्नुपर्ने बताउनु भयो । खुला सीमाको अभ्यासलाई कायम राख्दै सीमा आवागमन गर्ने नेपालीको विवरण कम्प्युटर प्रणालीमा राख्नसके उनीहरूको पहिचान र अवस्थाबारे जानकारी लिन सहज हुने उहाँको भनाइ छ । उहाँले विगतमा नेपाली दुतावासमा पटक–पटक समस्या राख्दा पनि सुनुवाई नभएको अनुभव सुनाउँदै अहिलेको सरकारले भने केही काम गर्ने अपेक्षा व्यक्त गर्नुभयो ।