२०८३, मंसिर ११ गते

Nov 27 2026 | २०८३, मंसिर ११ गते

एकेडेमी क्रिकेट लिग : देवदह ५ विकेटले विजयी

शुक्रवार , मंसिर ११, २०८३

  • 163
    Shares
  • 163
    Shares
  • भैरहवा, ११ मंसिर । रुपन्देहीमा जारी एकेडेमी क्रिकेट लिगमा देवदह क्रिकेट युनिट एकेडेमीले जीत निकालेको छ । शुक्रबार देवदह क्रिकेट मैदानमा भएको खेलमा उसले गुरुकुल क्रिकेट एकेडेमीलाई ५ विकेटले पराजित गर्दै जित निकालेको हो ।

    टस जितेर ब्याटिङमा आएको गुरुकुलले निर्धारित ३० ओभरमा २८ ओभर ३ बल खेल्दै सबै विकेट गुमाएर १ सय ५२ रन बनायो । उसका लागि केशव भट्टराईले अविजित ५४ रनको अर्धशतकीय पारी खेले । त्यस्तै अक्सत श्रेष्ठले २४ रन बनाए । बलिङमा देवदहका विपिन खनालले ३, रोहन कुँवर, प्रिन्स शर्मा र परिस्कृत न्यौपानेले समान २–२ तथा अनिश कार्कीले १ विकेट हात पारे ।

    जवाफी ब्याटिङ गरेको देवदहले २७ ओभर ५ बल खेल्दै ५ विकेट गुमाएर १ सय ५४ रन बनाउँदै जित निकाल्यो । उसको जितमा रोहन कुँवरले नटआउट ५३, रिजन पाण्डेले ३५, रोजन पाण्डेले २९ र आयुश पाण्डेले ११ रनको योगदान दिए । बलिङमा गुरुकुलका कृष्ण बरईले २ तथा प्रितम कार्की, कृतज्ञ पन्त र केशव भट्टराईले १–१ विकेट लिए । खेलमा देवदहका रोहन कुँवर प्लेयर अफ द म्याच भए ।

    रुपन्देही क्रिकेट संघको आयोजनामा जारी प्रतियोगिता भैरहवास्थित सिद्धार्थ क्रिकेट रंगशाला र देवदहमा सञ्चालन हुनेछ । जिल्लाका ८ वटा एकेडेमी सहभागी प्रतियोगिता मंसिर १७ गतेसम्म चल्नेछ । ग्रासरुटबाट खेलाडी उत्पादन गर्ने उद्देश्यले संघले पहिलोपटक एकेडेमी लिग आयोजना गरेको हो ।