२०८३, मंसिर ११ गते

Nov 27 2026 | २०८३, मंसिर ११ गते

जनता आधारभूत विद्यालयमा रोटरी सेन्ट्रल लुम्बिनीले स्थापना गर्‍यो प्ले स्टेशन

शुक्रवार , मंसिर ११, २०८३

  • 145
    Shares
  • 145
    Shares
  • भैरहवा, ११ मंसिर । बालबालिकाको सर्वांगीण विकास र विद्यालयको वातावरणलाई बालमैत्री बनाउने उद्देश्यले रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले रुपन्देहीको सियारी गाउँपालिका–१ कैलाशनगरस्थित श्री जनता आधारभूत विद्यालयमा प्ले स्टेशन स्थापना गरी हस्तान्तरण गरेको छ ।

    क्लबको ‘ह्याप्पी स्कूल’ परियोजनाअन्तर्गत स्थापना गरिएको खेलस्थलमा चिप्लेटी, झुला तथा मेरी गो राउण्डलगायतका खेल सामग्री राखिएका छन् । यसले विद्यार्थीलाई मनोरञ्जन प्रदान गर्नुका साथै शारीरिक सक्रियता, सामाजिक अन्तरक्रिया र सिर्जनात्मक क्षमताको विकासमा सहयोग पुग्ने अपेक्षा गरिएको छ ।

    कार्यक्रमका प्रमुख अतिथि रोटरी डिष्ट्रिक्ट ३२९२ का असिस्टेन्ट गभर्नर डा. शतदल चौधरीले सामूदायिक विद्यालयको वातावरणलाई बालमैत्री बनाउन तथा बालबालिकाको सर्वांगीण विकासमा टेवा पुर्याउन रोटरीले गरेको प्रयासको प्रशंसा गर्नुभयो ।

    क्लबका अध्यक्ष गंगाधर भण्डारीले रोटरीको सेवा तत्कालीन आवश्यकता पूरा गर्ने कार्यमा मात्र सीमित नरही समुदायमा दीर्घकालीन र परिणाममुखी प्रभाव सिर्जना गर्ने उद्देश्यबाट निर्देशित रहेको बताउनुभयो । उहाँले क्लबका सदस्यहरूको योगदानबाट स्थापित ‘ह्याप्पी स्कूल फण्ड’ मार्फत चालु रोटरी वर्षमा चारवटा विद्यालयमा सेवामूलक परियोजना सञ्चालन गर्न सम्भव भएको उल्लेख गर्दै योगदानकर्ताहरूप्रति आभार व्यक्त गर्नुभयो ।

    कार्यक्रममा रोटरी डिस्ट्रिक्ट ३२९२ का डिष्ट्रिक्ट रोट्र्याक्ट कमिटी चेयर रोटेरियन कृष्णप्रसाद पाण्डेले विद्यालयको आवश्यक शौचालय निर्माणका लागि रोटरी डिस्ट्रिक्ट ग्रान्टमार्फत परियोजना अघि बढाउन पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । त्यस्तै रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीका अध्यक्ष हिरा बहादुर शाहले आगामी महिनामा विद्यालयका विद्यार्थीको निःशुल्क आँखा परीक्षण कार्यक्रम सञ्चालन गर्ने घोषणा गर्नुभयो ।

    विद्यालयका प्रधानाध्यापक लता गौतमले विद्यालयलाई प्राप्त सहयोगप्रति आभार व्यक्त गर्दै खेल सामग्रीको उचित संरक्षण र सदुपयोग गर्ने प्रतिबद्धता जनाउनुभयो ।

    क्लबका सचिव उपेन्द्र यादवको सञ्चालनमा भएको कार्यक्रममा रोटरी क्लबका पदाधिकारी तथा सदस्य, विद्यालयका शिक्षक र स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति थियो ।

    रोटरी क्लब अफ सेन्ट्रल लुम्बिनीले शिक्षा, स्वास्थ्य, बालकल्याण र सामुदायिक विकासका क्षेत्रमा आवश्यकता पहिचान गरी विभिन्न सेवामूलक परियोजना सञ्चालन गर्दै आएको छ । क्लबको ‘ह्याप्पी स्कूल’ अभियानले विद्यालयलाई बालबालिकाले खुसीसाथ सिक्ने, खेल्ने र आफ्नो क्षमता विकास गर्ने सुरक्षित तथा प्रेरणादायी स्थलका रूपमा विकास गर्ने लक्ष्य राखेको छ ।