२०८३, मंसिर १२ गते

Nov 28 2026 | २०८३, मंसिर १२ गते

लुम्बिनीमा २३३ प्रहरी जवान दीक्षित, नागरिकमैत्री सेवा दिन डीआईजीको निर्देशन

शनिवार , मंसिर १२, २०८३

  • 253
    Shares
  • 253
    Shares
  • रुपन्देही, १२ मंसिर । लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख प्रहरी नायब महानिरीक्षक (डीआईजी) भूपेन्द्र बहादुर खत्रीले प्रहरी जवान संगठनको आधार स्तम्भ भएकाले नागरिकको विश्वास जित्ने गरी इमानदार, अनुशासित र जिम्मेवार भएर सेवा प्रवाह गर्न निर्देशन दिनुभएको छ । लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवल, रुपन्देहीमा आयोजित प्रहरी जवान आधारभूत तालिम ८–११४ औं समूहको दीक्षान्त समारोहलाई शुक्रबार सम्बोधन गर्दै उहाँले प्रहरी सेवा केवल जागिर मात्र नभइ राष्ट्र र नागरिकप्रतिको महत्वपूर्ण जिम्मेवारी भएको बताउनुभयो ।

    उहाँले तालिमका क्रममा हासिल गरेका ज्ञान, सीप, अनुशासन र व्यवसायिकतालाई कार्यक्षेत्रमा प्रभावकारी रूपमा कार्यान्वयन गर्न आग्रह गर्नुभयो । प्रहरीको व्यवहार, कार्यशैली र सेवाप्रतिको प्रतिबद्धताले नै संगठनप्रति नागरिकको धारणा निर्माण हुने उल्लेख गर्दै उहाँले निष्पक्षता, इमानदारी र मानवअधिकारको सम्मानलाई प्राथमिकतामा राख्नुपर्ने बताउनुभयो । डीआईजी खत्रीले कुनै पनि दबाब, प्रभाव र प्रलोभनमा नपरी कानूनअनुसार जिम्मेवारी निर्वाह गर्न तथा नागरिकसँग सम्मानजनक व्यवहार गर्दै नागरिकमैत्री प्रहरी सेवामा समर्पित हुन निर्देशन दिनुभयो ।

    तालिम केन्द्रका प्रमुख तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) दयानिधि ज्ञवालीले दीक्षित प्रहरी जवानहरूलाई उहाँले प्रहरी सेवामा अनुशासन, इमानदारी, कर्तव्यनिष्ठा र सेवाभाव अत्यन्त महत्वपूर्ण हुने उल्लेख गर्नुभयो । उहाँले नागरिकको सुरक्षा र सेवामा सदैव प्रतिबद्ध भएर जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनुभयो ।

    लुम्बिनी प्रदेश प्रहरी तालिम केन्द्र, बुटवलको आयोजनामा सम्पन्न दीक्षान्त समारोहमा २३३ जना प्रहरी जवान आधारभूत तालिम पूरा गरी दीक्षित भएका छन् । समारोहमा नवदीक्षित प्रहरी जवानका परिवार तथा आफन्तजनको समेत उपस्थिति रहेको थियो । आफ्ना सन्तान तथा परिवारका सदस्य प्रहरी सेवामा प्रवेश गरेको अवसरमा उपस्थित परिवारजनले खुसी र गर्व व्यक्त गरेका थिए ।

    WhatsApp Image 2026-11-27 at 00.16.51 (2).jpeg

    दीक्षान्त समारोहले तालिम पूरा गरेका २३३ जना प्रहरी जवानलाई व्यवसायिक प्रहरी सेवाको नयाँ जिम्मेवारीमा प्रवेश गराइएको तालिम केन्द्रका प्रहरी निरीक्षक धनदेव साउदले जानकारी दिनुभयो ।