२०८२, आषाढ ३१ गते

Jul 15 2025 | २०८२, आषाढ ३१ गते

लुम्बिनीमा राष्ट्रियसभा सदस्यको उपनिर्वाचन आज, ९ बजेदेखि मतदान

सोमवार , जेठ १७, २०७८

बुटवल, १७ जेठ ।

राष्ट्रिय सभाको रिक्त एक पदका लागि आज लुम्बिनी प्रदेशमा उपनिर्वाचन हुँदैछ । निर्वाचनका लागि बिहान ९ बजेदेखि ३ बजेसम्म मतदान गर्ने समय निर्धारण गरिएको दाङस्थित प्रदेश निर्वाचन कार्यालयले जनाएको छ । 

उपनिर्वाचनमा नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र–बाबुराम) पक्ष र राष्ट्रिय जनमोर्चाका तर्फबाट साझा उम्मेदबार कपिलवस्तुका दृगनारायण पाण्डे र नेकपा एमालेका तर्फबाट यसअघि कै उम्मेदवार चन्द्रबहादुर खड्का प्रतिष्पर्धामा छन् ।

उपनिर्वाचनमा लुम्बिनी प्रदेशसभा सदस्य ८३ जना तथा लुम्बिनी प्रदेश अन्तर्गतका स्थानिय तहका पालिका प्रमुख र उपप्रमुखहरु गरी २ सय १७ गरी कुल ३ सय जना मतदाता रहेको निर्वाचन कार्यालयले जनाएको छ ।

गत निर्वाचनमा माओवादी केन्द्रबाट निर्वाचित भएका अर्घाखाँचीका चन्द्रबहादुर खड्काले पार्टी परित्याग गरी एमाले प्रवेश गरेपछि कारवाहीमा परेका कारण रिक्त हुन गएको राष्ट्रिय सभा सदस्य (लुम्बिनी प्रदेश) पदमा भुगोलबाट निर्वाचन हुन लागेको हो ।

आज हुने राष्ट्रिय सभा सदस्य उपनिर्वाचनमा दुईजना उम्मेदवार रहेको र निर्वाचन सकिएलगत्तै मतगणना सुरु हुने र आजै परिणाम सार्वजनिक गर्ने तयारी भइरहेको निर्वाचन कार्यालयले जानकारी गराएको छ ।

जसपाबाट कारवाहीमा परेर पदमुक्त भएका प्रदेश सभा सदस्यहरु सन्तोष कुमार पाण्डेय, कल्पना पाण्डेय, सुमन शर्मा रायमाझी र विजय बहादुर यादवलाई सर्वोच्च अदालतको आदेश बमोजिम भन्दै निर्वाचन आयोगले उपनिर्वाचनमा मताधिकार दिएको छ । 
जसपा विवाद र कारवाही सम्बन्धी मुद्दा सर्वोच्चमा बिचाराधिन अवस्थामा रहेकोले मुद्धा किनारा नलाग्दासम्म उनीहरुलाई मताधिकार प्रदान गर्नु गैरकानुनी भएको भन्दै लुम्बिनी प्रदेशको विपक्षी गठबन्धनले बिरोध गरेको छ ।