सबै आम नेपाली समुदायले बिषयलाई गम्भीरतापूर्वक बुझिदिन आग्रह गर्दछु। इतिहास जहिले पनि सतिसाल जस्तो अट्ल, अब्बल र जे हो त्यही बनेर रहिरहने सत्यतथ्य घटनाको सक्कली रुप वा स्वरूप हो। राम्रो सत्य इतिहास वा नराम्रो असत्य इतिहास बन्ने क्रममा निकै छलछाम, झालझेल, ठेलठाल, पेलपाल हुन्छन् । इतिहासकै पाना पल्टाउदा कुनै देशमा आफ्नै जनता र राष्ट्रियता मातृभूमी प्रति ठूलो गद्दारी हुने गरेको पाइन्छ। कुनै देशमा आफ्ना नागरिकलाई सेवा सुबिधा अधिकार दिन आफ्नो ज्यानको बाजी लगाएको पढ्न पाइन्छ । ठुलाठुला युद्ध तार्किक छलफल र गम्भीर बहसमा हुन्छ्न। हाम्रो देशको कुरा गर्ने हो भने विभिन्न कालखण्डमा उतारचढाव, उथलपुथल हुने गरी समाजमा क्रान्ति भएका छन्। तर हाम्रो सिमा बिबादको बिषय आज निकै चर्को रुपमा काठमाडौका गल्लि गल्लि चोकचोक र बिश्वब्यापी रुपमा सामाजिक संजालमा समेत देख्न पढन सुन्न पाइन्छ । तर हाम्रो देशको सिमाको गम्भीरता र सिंहदरवार बिचको दुरी मनोवृत्ति के हो ? यो बिषयमा धेरै कम नागरिकको ध्यान गएको जस्तो लागेको छ ।
खासगरी पृथ्वीनारायण शाहको शासन सत्ता पहिले नेपालको भूगोल र पृथ्वीनारायण शाहको नेतृत्वमा तन्केको बिशाल नेपाल त्यसपछी भारतीय बिस्तारवादको गिद्दे नजर र आन्तरिक दिल्लीका दलालहरुका कारणले पुर्वमा टिष्टानदि सम्म र पश्चिम किल्लाककडा कुमाउ गडवाल सम्मको उहिलेको विशाल नेपाल हाल आएर मेचीमहाकालीमा सिमित हुन पुग्यो। यस्को भित्री राज के होला ? समस्या सिमाको होइन, समस्या सिँहदरवारका शासकको नियतीको हो। बिषय अलि गम्भीर छ। इतिहासका पाना पल्टाएर हेर्दा सिमाको समस्या भन्दा भारतीय बिस्तारबादको हस्तक्षेपसंगै हाम्रा नेताहरु कहिले प्रलोभनमा परेर शिर झुक्यो, कहिले आपूर्ति ढुवानीको डर देखाएर हाम्रो नेतृत्व झुक्यो। कहिले भारतीय गलत बिचार र चतुर्याइँको शिकार भएर नेपाली शिर झुक्यो, हाम्रो स्वाभिमानमा ठूलो चोट पुग्यो। बिश्वासमा कुठाराघात भयो। सिमा मिचियो, नदी नला लिलामी भए। सन्धि सम्झौताको डर र आडम्बर देखाइयो। हस्तक्षेप र मिच्ने काम यति सम्म भयो कि त्यो अहिले सम्म पनि जारी छ।
हाम्रो स्वाभिमान माथी हस्तक्षेप र मातृभूमिलाई मिचिरहन चाहन्छ भारत। त्यो बैधानिक्तालाई सन १९५० का असमान सन्धिले भारतलाई भरपुर मद्दत गरेको देखिन्छ। हामी स्वाभिमानी नेपालीलाई यो सन्धीले जहिल्यै पिरोलिरहन्छ। हामी बोली रहन्छौ। उ सुनिरहन्छ र भारत हासी हासी नाका थुनिरहन्छ। सिंहरदरवारलाई दिल्लीको सन्देशले झस्काइ दिन्छ। दिल्लीको सन्देश लाजिम्पाटको हुलाकी मार्फत सिधै बालुवाटार पुग्छ। दिल्लीका लागि नेपालका कुनै ढोका बन्द छैन। हस्तक्षेपको नमूना कहिले सिमा तिर त कहिले सिहदरवार बालुवाटार सर्बोच्चअदालत प्रहरी र सैनिक अड्डासम्म सहजै पहुँच राख्छ दिल्लीले। यहाँ सम्म कि भारतका सिमावर्ती जिल्लामा कुन अधिकारी प्रमुख भएर जाने कहिले लाजिम्पाटले निर्णय गर्छ। यो कुरा सिहदरवारका शासनमा आसिन नेता महासयज्यूहरुलाइ राम्रोसित थाहा छ। नेपालमा नाका बन्दी गर्न नेपालीलाई उचाल्छ । नेपालमा राष्ट्रबादी नेता बनाउन समेत भारतीयलाई गाली गर्ने सल्लाह समेत दिन पछि पर्दैन भारत। सिहदरवार पुगेपछी नेपाली नेताहरुको दुई खालको राष्ट्रियता देखिन्छ । एक थरी नेपाली नेताहरुमा भारतको चाकरी गुलामीमा नै आफ्नो र देशको बिश्व र ब्यक्तिगत राजनीति जीवन सफलता हुने भावना देखिन्छ। अर्का थरी नेताहरुमा नेपाल कै जनताको जगमा आफ्नो राजनीति भबिस्य देख्छन।
नेपाली जनताको हितमा काम गर्ने नेताहरुले दिल्लीको नुनखाएका गद्दारहरुको सामना गर्नु पर्ने हुन्छ। यो सबै भन्दा नेपालीका लागि दुखद क्षण हुन पुग्छ ।एक सानो उदाहरण जति बेला नेपालमा गणतन्त्र घोषणा भएको थियो । त्यो बेला भारतीयका सबै हस्तक्षेपको अन्त्य गर्नु पर्छ भनी। पशुपतिनाथ मन्दिरमा नेपाली नै पुजारी राखौ र भारतिय बिस्तारबादको हर क्षेत्रको हस्तक्षेप अन्त्यको सुरुवाद गरौ भन्दा दिल्लीको नुन खानेहरुले त्यो सफल हुन दिएनन बरु चौतर्फी गलत अफवाह फैलाएर राष्ट्रपतिलाई असंबैधानिक कदम चाल्न प्रोत्साहन गरे, उचाले, गलत भ्रामक समाचार सम्प्रेषण गरे र सरकार नै गिराए ।
त्यसैले भारतले नेपाली नेताहरुलाइ कसरी चलाउने भन्ने राम्रोसीत ज्ञान हासिल गरेको छ। जनताले जति सुखै सडकमा सिमा बिबादको बिषय उठाए पनि सिहदरवारमा सबै नेताले देश र जनता प्रती उत्तरदायी भएर अति सार्वजनिक महत्त्वको बिषयमा सङ्कल्प नगरे सम्म सिमा बिबाद समाधन र भारतीय हस्तक्षेप अहिले अन्त्य हुने देखिदैन टालटुल गरेर समाधान हुदैन। त्यसैले सिमा आफैमा समस्या होइन सिहदरवार नै समस्या हो, असमान सन्धि सम्झौता बिबादका मुल कारक हुन। देशका सबै नेता आफ्नो राष्ट्र र राष्ट्रियता अखण्डताको मामिलामा एक जुट भएर उभिने हो भने नेपाली जनताले माइतीघर मन्डलामा गएर आन्दोलन गर्नु पर्दैन । हाम्रो भूमी भारतीय बिस्तारबादको अतिक्रमणको मुद्दा कहिले जनमानसको सतह सम्म आउने थिएन । जनताले सिमा बिबादको बहस छलफल पीडा उत्पीडन जेल्नु पर्ने थिएन । पहिलो नम्बर जो पनि सरकारमा पुग्छ उसले समाधान गर्न चाहदैन किन कि अर्को चुनावको लागि नारा चाहिन्छ। दोस्रो नम्बर दिल्लीको नुनको सोझो गर्नै पर्छ नत्र यहि सिमा बिबादले कतिका सरकार बने कतिका ढले कतिको हत्या गरियो त्यो इतिहासले लेखाजोखा गर्ला । तर सिमा आफैमा समस्या होइन चाहे भारतीय हुन या नेपाली जनता भूगोल समस्या होइन सबै भन्दा ठूलो समस्या नेतृत्वको नियती हो ।
भारतको हस्तक्षेप सिमानामा मात्रै होइन सरकारका सबैजसो निकायमा छ । त्यसैले आजको बहस भारत बिरोधि भन्दा पनि सबै भन्दा पहिले आफुलाइ नेपाली भन्ने तर्फ केन्द्रित बनौ । कसैको गुलामी नबनौ, स्वाभीमानी नेपाली बनेर हिडौ कसैले हामी नेपालीलाई टसको मस गराउन सक्दैन ।