
बिहिवार , आषाढ ३, २०७८
बुटवल, ३ असार ।
मिडिया एक्सन नेपालको आयोजनामा मिडियामा लैंगिक मुल प्रवाहीकरण र पत्रकार महिलाको व्यवसायिक सुरक्षाको प्रश्न विषयक अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै शिक्षा तथा सामाजिक विकास मन्त्रालय लुम्बिनीप्रदेशको सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल बेल्बासेले पत्रकार महिलालाई संरचनागत आरक्षणमा राख्न नहुने बताइन् । उनले पेशा गर्दा गर्दै पत्रकार महिलामा हुन सक्ने शारीरिक तथा मानसिक हिंसा न्यूनीकरण र भौतिक सुरक्षामा गम्भिर हुनुपर्ने बताइन् । पत्रकारिता क्षेत्रमा आबद्ध पत्रकार महिलाको दक्षता अभिवृद्धिका लागि प्रदेश सरकारले सीप विकासका तालिमआयोजना गर्न सघाउने बेल्बासेले बताइन् । उनले यौनिक तथा लैंगिक अल्पसंख्यकको सहभागिता पनि लैंगिकतामा अंकित हुने विषय भएकाले मिडियामा उनीहरुको उपस्थिति र सहभागितालाई समेत संलग्न गराउनुपर्नेतर्फ पनि सोच्नुपर्ने बताइन् । पत्रकार महिला सुरक्षित हुन सक्ने वातावरण संचारमाध्यमले ख्याल गर्नुपर्ने भन्दै उनले विभेदपूर्ण पारिश्रमिकलाई समेत संचार क्षेत्र र नेतृत्व तहमा रहेकाहरुले ध्यान दिनआवश्यक रहेको जनाइन् ।
त्यस्तै, लैंगिक समानता तथा सामाजिक समावेशीकरण विज्ञ ज्ञानु पौड्यालले पत्रकार महिलाको सक्रिता पछिल्लो समय उत्कृष्ट रुपमा देखिएको बताइन् । उनले मिडिया हाउसमा कार्यरत सबै पत्रकारको सक्रियतामा लैंगिक मुद्दालाई मिडियामार्फत उजागर गर्नुपर्ने जनाइन् । मिडियामा साक्षरता नै जरुरी रहेको भन्दै उनले लैंगिक नीति निर्माण र कार्यान्वयनमा ध्यान दिनुपर्ने बताइन् ।
कार्यक्रममा पत्रकार तथा अधिवक्ता डा. बालकृष्ण चापागाईंले पत्रकार महिलाको क्षमता अनुसार नेतृत्व तहमै उनीहरुको सहभागिता आवश्यक रहेको बताए । विगतको तुलनामा अहिले संचार माध्यममा पत्रकार महिलाले लेख्ने समाचारमा सामाजिक दृष्टिकोणले दबेर रहेका मसिना विषय उठान भइरहेको भन्दै उनले ती विषयले राजनीति, संविधान र समाजका हरेक अंगमा प्रभाव पारेको बताए । पत्रकार महिलाहरुको प्रवेशसंगै जिम्मेवार पत्रकारिता सुरु भएको चापागाईंको भनाइ छ । अनुशासन र मर्यादासहितको पत्रकारिता गर्न पत्रकार महिला सक्षम रहेको उनले बताए । खोजी पत्रकारिता केही पुरुषले गरेको देखिरहेको अवस्थामा पछिल्लो समय विश्लेषण पत्रकार महिलाले लेख्ने गरेको बताए ।
सो अवसरमा नेपाल पत्रकार महासंघ लुम्बिनी प्रदेशका उपाध्यक्ष चुमा आचार्यले महासंघले बनाउने योजनामा पत्रकार महिलाका विषयमा छलफल गरी उचित कार्यक्रम ल्याउने जनाइन् । उनले संचार माध्यमले पत्रकार महिलाको क्षमतालाई कदर गर्नुपर्ने र स्थान दिई अघि बढ्न प्रोत्साहन गर्नुपर्ने भनाइ राखिन् ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ नवलपरासी पश्चिमका उपाध्यक्ष मालती न्यौपाने, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष रेखा भुसाल, ंसंचारीका समुह रुपन्देहीका अध्यक्ष निरु गौतम, डब्लु डब्लु जे रुपन्देहीका अध्यक्ष कल्पना ितवारी लगायतले बोल्दै पत्रकार महिलाको सुरक्षा, पत्रकार महिलालाई हेर्ने दृष्टिकोण, उनीहरुको क्षमताका बाबजुद नेतृत्व तह र सम्पादकीय स्थानसम्म पुग्न नपाउने स्थितिको अन्त्य गरी लैंगिक नीतिनिर्माण र पालना गर्न सके मात्र लैंगिक विभेद हटी पत्रकारिता पेशामा महिलाको सहभागिता र टिकाउ ररिरहने बताए ।
मिडिया एक्सन नेपालका केन्द्रिय अध्यक्ष लक्ष्मणदत्त पन्तले संस्थाले मिडिया विकास र पत्रकार स्वतन्त्रताका विषयमा विगत ६ वर्षदेखि काम गरिरहेको जानकारी दिए । उनले विभिन्न संघसंस्थासंगको सहकार्यमा मिडिया एकसनले सम्बन्धित निकायलाई झकझकाउने र पत्रकारको क्षमता अभिवृद्धिका लागि कार्यक्रम गर्ने गरेको बताए ।
मिडिया एक्सन नेपाल लुम्बिनी प्रदेशको संयोजनमा सम्पन्न कार्यक्रमको सहजीकरण संस्थाका लुम्बिनी प्रदेश संयोजक सन्जु पौडेलले गरेकी थिइन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij