शनिवार , कार्तिक २२, २०८२
भैरहवा, २२ कार्तिक । नेपाल बालसाहित्य समाजका अध्यक्ष तथा बाल साहित्य सर्जक विजयराज आचार्यका बालकथाहरुमा आधारित रहेर भारतको कोलकाताका सर्जक अतनुकुमार बसुले तयार पारेको समीक्षात्मक कृति र बालसाहित्य सर्जक उर्मिला ढुंगानाले लेखेको बालकविता संग्रह ’मिठा मिठा तरकारीहरु’ विमोचन गरिएको छ ।
शुक्रबार काठमाडौंमा आयोजित एक समारोहकाबीच उक्त बालकविता संग्रह सार्वजनिक गरिएको हो । दुवै कृति र सर्जकमाथि टीका–टिप्पणी र समीक्षासहित कार्यक्रम सम्पन्न गरिएको हो । ’विजयराज आचार्यस् स्टोरिज फर चिल्ड्रेन : अ क्रिटिकल इस्टिमेसन’मा आचार्यका अंग्रेजीमा अनुदित ४० बालकथाका कथा, तीनका पात्र, कथाका सन्देश र मर्मलाई अतनुकमार बसुले बोधगम्य शैलीमा समीक्षा तयार पार्नुभएको हो । ढुंगानाको ’मिठा मिठा तरकारीहरु’ साना बालबालिकालाई विभिन्न प्रकारका तरकारीसँग परिचित गराउने हेतुले तयार पारिएको बालकविता संग्रह हो । किताबमा ३३ थरी तरकारीबारे ३३ वटा कविता समावेश छन् ।
नेपाल बालसाहित्य समाजका उपाध्यक्ष विजयराज न्यौपानेले दुवै कृतिका लेखकबारे परिचय गराउँदै शुभकामना मन्तव्य दिनुभएको थियो । अर्का सर्जक माधव घिमिरे ‘अटल’ ले विजयराज आचार्यको कृतित्व र व्यक्तित्वमाथि प्रकाश पार्दै विजयराज आचार्य १०० भन्दा बढी बालपुस्तकका लेखक, अनुवादक, सम्पादकका साथै प्रशिक्षकका रुपमा देशभरका विभिन्न स्थानमा पुगी बालबालिकालाई तालिम दिदै आएको उल्लेख गर्नुभयो । उहाँले आचार्य ’नेपाली बालासाहित्यको फ्याक्ट्री’ भएको बताउनुभयो ।
’मिठा मिठा तरकारी’बारे समीक्षात्मक टिप्पणी गर्दै डा.विष्णु केसीले उक्त किताबले बालबालिकालाई सधैं खाइरहने तरकारीबारे चिनाउने बताउनुभयो । किताबबाट तरकारीका औषधीय गुण, रुप रंग र आकारबारेसमेत बालबालिकाले जानकारी हासिल गर्न सक्ने उहाँले बताउनुभयो ।
समाजमा बिर्सिइँदै जान थालेका तरकारीबारे लेखिका ढुंगानाले खोजीखोजी जानकारीहरु ल्याइदिएको उहाँले बताए । किताबमा तरकारी मात्र नभइ प्रकृति र तरकारी उत्पादनको श्रमको पाटोसमेत उजागर भएको उहाँले बताउनुभयो । भाषाका हिसाबले उक्त किताब दुई कक्षादेखि चार–पाँच कक्षाका बालबालिकालाई उपयुक्त हुने उहाँले बताउनुभयो ।
कार्यक्रममा डा.बुनु दाहाले लेखिका ढुंगानालाई नयाँ कृतिका लागि शु्भकामना व्यक्त गर्दै उक्त किताब साना बालबालिका र अभिभावकका लागि निकै महत्वपूर्ण हुने बताउनुभयो । उक्त कार्यक्रममै अतनुकुमार बसुले ’इम्प्याक्ट अफ वार अन चिल्ड्रेन’विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो । उहाँले इजरायल–प्यालेस्टाइन–गाजा नरसंहार, भारत–पाकिस्तान युद्ध आदिको उदाहरण दिँदै जति पनि युद्ध भएका छन् तीनमा मुख्यतः बालबालिका त्यसको सिकार भएको उहाँले उल्लेख गर्नुभयो ।
युद्धका बेला बालबालिका र शैक्षिक संस्थालाई कुँज्याइने गरेको उहाँले बताउनुभयो । संसारभर हुने युद्धमा ७० देखि ८० प्रतिशत सर्वसाधारण त्यसको सिकार हुने र अझ त्यसमा पनि बालबालिका र महिलाहरु अझ बढी त्यसबाट प्रभावित हुने उहाँले बताउनुभयो । ठूला–ठालूहरुको गल्तीको सजाय अबोध बालबालिकाले पाइरहेको सन्दर्भ उल्लेख गर्दै उहाँले निर्दोष बालबालिकाको बालापन र जीवन खोसिएको बताउनुभयो ।
बसुको कार्यपत्रमाथि टिप्पणी गर्दै सर्जक महेश पौड्यालले बसुको कार्यपत्रमा अझै केही मिहिनेत परेमा त्यो संसारको जुनसुकै स्थानबाट जर्नलमा स्थान पाउने बताउँदै विश्वभर ४० प्रतिशत बालबालिका रहेको र उनीहरु गैरमतदाता भएको हुँदा उनीहरु सधैं राजनीतिज्ञ र युद्धको चेपुवामा पर्ने गरेको कुरा उल्लेख गर्नुभयो । हाम्रो चिन्तनबाट हराउँदै जान थालेको कुरालाई प्रकाश पारेकोमा उहाँले लेखक बसुलाई धन्यवादसमेत दिनुभयो । उहाँले नेपाल र बंगाली साहित्यबीचको सम्बन्धबारेसमेत प्रकाश पार्नुभएको थियो ।
कार्यक्रमको प्रमुख अतिथि रहेका नेपाल बालसाहित्य समाजका पूर्वअध्यक्ष प्रमोद प्रधानले विजयराज आचार्यका कृतिमाथिको समीक्षात्मक किताबले नेपाली बालसाहित्य १३० वर्षे इतिहासमै पहिलोपटक अन्तर्राष्ट्रिय ढोका खोलेको बताउनुभयो । नेपाली बालसाहित्यकार र बालसाहित्यबारे अन्तर्राष्ट्रिय लेखकका रुपमा बसुबाट पहिलोपटक कुनै किताब लेखिएको उहाँले बताउनुभयो ।
त्यस्तै कार्यक्रमकी सभापति सर्जक सिर्जना शर्माले तरकारीबारे ढुंगानाको महत्त्वपूर्ण कृति आएको र कार्यपत्रका रुपमा आएको युद्ध र बालबालिका विषयक छलफलले युद्धलाई निरुत्साहित गर्नुपर्ने कुरालाई आह्वान गरेको बताउनुभयो ।
कार्यक्रममा लेखक अतनु कुमार बसुकी श्रीमती पम्पा बुसु र पुत्री अनुस्मिता बसुलाईसमेत फूलमालाले सम्मानित गरिएको थियो । आचार्यको किताब महेश पौड्यालले सम्पादन गर्नुभएको थियो । विवेक सिर्जनशिल प्रकाशन प्रालिले किताबलाई छापेको हो । मिठामिठा तरकारीमा प्रज्ज्वल थापा मगरका चित्रहरु समावेश गर्नुभएको थियो । त्यस्तै अनुष्का सुवेदी किताबकी प्रकाशक हुनुहुन्छ । दुवै कृतिको बजार मूल्य ३५० रुपैयाँ तोकिएको छ । उक्त कार्यक्रमको सञ्चालन कवि भैरवी भूगोलले गर्नुभएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij