
बुधवार , आषाढ ३०, २०७८
भैरहवा, ३० असार ।
बुटवल–भैरहवा करिडोरका उद्योगीले उपभोगै नगरेको ट्रंकलाइनवापतको रकम भुक्तानी गर्न नसक्ने बताएका छन् । उनीहरुले नियमित रुपमा आएको विद्युत महशुलको भुक्तान समयमै गरिसकेको अवस्थामा टं«कलाइन सुविधाको थप दस्तुर वक्यौता भनी विद्युत प्राधिकरण वितरण केन्द्रबाट माग गरिएको रकम भुक्तान गर्न नसक्ने स्पष्ट पारेका छन् । प्राधिकरणले २०७२ र २०७५ सालदेखिको ‘छुट बिल’को भुक्तानी असार मसान्तभित्र गर्न उद्योगीहरुलाई पत्र पठाएको थियो । तर उद्योगीहरुले विद्युत प्राधिकरणले ‘छुट बिल’ का नाममा ट्रंकलाइन महशुल नै असुल्न खोजेको भन्दै विरोध जनाएका छन् ।
बुधबार विद्युत प्राधिकरण वितरण केन्द्र भैरहवा, नयाँमिल र बुटवल पुगेर उद्योगीहरुले ट्रंकलाइनवापतको महशुल भुक्तानी गर्न नसक्ने भन्दै निवेदन दिएका छन् ।
तिलोत्तमाको योगीकुटीदेखि भैरहवासम्म २३ वटा उद्योगले विद्युत प्राधिकरणसंग टंक लाइनको कुनै पनि माग नगरेको र ट्रंकलाइन जडान भएको सम्बन्धमा उद्योगलाई कुनै पनि जानकारी नदिइ एकपक्षीय रुपमा महशुल भुक्तानीका लागि प्राधिकरणले पत्र पठाएको यशोदा फुड्स प्रा.लि.का. सञ्चालक मधुसुदन घिमिरेले बताए । उद्योगले माग नगरेको टंक लाइनको महसुल भुक्तान गर्न भनी भएको प्राधिकराण वितरण केन्द्रको पत्राचार उल्लेखित कानून सिद्धान्तविपरीत समेत भएको उनले बताए ।
‘नेपाल विद्युत प्राधिकरण, विद्युत महशुल विनियमावली २०७३ र नेपाल विद्युत प्राधिकरण, विद्युत प्राधिकरण विनियमावली २०६९ मा भएको व्यवस्थालाई नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिले २०७६ कार्तिक १७ गते बसेको ८१० औं बैठकबाट संशोधन गरी टंकलाइन र टंक फिडरको व्यवस्था गरेको देखिन्छ । कानुन भुतलक्ष्मी नभई भविष्यदर्शी हुने सर्वमान्य सिद्धान्त हो, यस परिप्रक्षमा २०७२ भदौदेखिको वक्यौता भनी गरिएको पत्रचार त्रुटिपूर्ण रहेको छ, ’घिमिरेले भने ।
उद्योगमा चरम लोडसेडिङको अवधिमा विद्युत प्रवाह नै नभएको व्यहोरा पटकपटक वितरण केन्द्रलाई जानकारी गराइसकेको पञ्चकन्या समूहका उपमहाप्रबन्धक देवेन्द्र साहूले बताए । प्राधिकरणले २०७२ र २०७५ सालदेखिको ‘छुट बिल’को भुक्तानी असार मसान्तभित्र गर्न ताकेता गरेको छ ।
भैरहवा–बुटवल औद्योगिक करिडोरका २३ वटा उद्योगलाई नेपाल विद्युत प्राधिकरणले ट्रंक लाइनवापतको छुट रकम र जरिवाना असार मसान्तसम्म बुझाउन सूचना पठाएको छ । ट्रंक लाइनको महशुल साधारण विद्युत भन्दा ६७ प्रतिशत महंगो हुन्छ । २०७४ चैतमा प्राधिकरणको भैरहवा वितरण केन्द्रले आफ्नो आन्तरिक लोड व्यवस्थापन तथा फेज सिक्वेन्स सन्तुलित गर्न यो करिडोरका उद्योगहरुलाई १० देखि १५ दिनसम्म सटडाउन लिई भरौलियाबाट विद्युत आपूर्ति गरेको थियो । त्यसअघि रुपन्देहीको अमुवा फिडरबाट ३३ केभिए प्रसारण लाइनबाट विद्युत आपूर्ति हुँदै आएको थियो । केही दिनका लागि ट्रंकलाइन जडान भएको जानकारी गराए पनि प्राधिकरणले १९ महिनासम्म पुरानै दरमा बिल पठाएको थियो ।
तर २०७६ मंसिरमा ट्रंक लाइन बिल आए पनि ६७ प्रतिशत घटाएर उद्योगीहरुले पुरानै दररेटमा भुक्तानी गरेका थिए । २४ घण्टा विद्युत आपूर्ति हुने प्रणालीलाई ट्रंकलाइन भनिन्छ ।
यता नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख इञ्जिनियर जितेन्द्र कुमार झाले नेपाल विद्युत प्राधिकरण सञ्चालक समितिको निर्णय अनुसार एक महिनाभित्र महसुल भुक्तानी गराउन निर्णय भए अनुसार उद्योगहरुलाई पत्र पठाइएको बताए । उनले तत्कालिन महशुल निर्धारण आयोगबाट निर्धारित टंकलाइन दररेटमा रहेर उद्योगीहरुलाई बिलिङ गरिएको जानकारी दिए । उद्योगहरुलाई महसुल बुझाउन दिएको म्याद बुधबार सकिएको उनले बताए ।
‘एक महिनाभित्र टंकलाइनवापतको महशुल भुक्तानी गराउने भन्ने प्राधिकरणको आदेश अनुसार आदेश कार्यान्यवन गराउन पत्र काटिएको हो, अब पनि प्राधिकरणको आदेश अनुसार वितरण केन्द्र अगाडी बढ्छ, ’उनले भने ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij