
शनिवार , श्रावण २, २०७८
सिद्धार्थनगर, २ साउन ।
कोरोना संक्रमणका कारण राज्यका विभिन्न निकाय राजश्व असुलीमा असफल भइरहेका बेला भैरहवा भन्सार कार्यालय भने लक्ष्य भन्दा बढी राजस्व संकलन गर्न सफल भएको छ । भन्सार कार्यालयका प्रमुख मनिराम पौडेलले विगतका वर्षको तुलनामा आर्थिक गतिविधि बढेसँगै राजश्व असुली बढेको बताए ।
आव २०७७/७८ को असार सम्ममा भन्सार कार्यालयले ११२ दशमलव ५४ प्रतिशत राजस्व असुली गरेको छ । उक्त राजश्व संकलन वार्षिक लक्ष्य भन्दा १२ दशमलव ५४ प्रतिशत बढी हो । आव २०७४/७५ मा रु ८१ अर्ब ४३ करोड ७७ लाख ९२ हजार लक्ष्य तोकिएकोमा ८६ प्रतिशत मात्र अर्थात् रु ७० अर्ब २८ करोड ९३ लाख पाँच हजार राजस्व असुली भएको कार्यालयको तथ्यांकबाट देखिन्छ ।
त्यसै गरी आव २०७५/७६ मा पनि कार्यालयले रु ९३ अर्ब ९५ करोड ९७ लाख ७३ हजार असुलीको लक्ष्य पाएकामा ८८ प्रतिशत अर्थात् रु ८२ करोड ३० लाख ५३ लाख ३३ हजार मात्र असुल गर्न सकेको थियो । सबैभन्दा कम राजस्व आव २०७६/७७ मा असुल भएको थियो । अहिलेसम्मकै सबैभन्दा बढी रु एक खर्ब छ अर्ब ८८ लाख ८६ हजार लक्ष्य तोकिएकामा कार्यालय ६६ प्रतिशत अर्थात् रु ७० अर्ब २९ करोड १५ लाख ९७ हजार राजश्व मात्र असुल्न सफल भएको थियो ।
आव २०७७/०७८ मा भन्सार कार्यालयले विगत तीन वर्षको राजश्व असुलीको असफलता तोड्दै ११२ दशमलव ५४ प्रतिशत राजस्व असुली गरेको छ । आव २०७७/७८ मा रु ९९ अर्ब ६६ करोड राजश्व असुली लक्ष्य पाएको कार्यालयले रु एक खर्ब १२ अर्ब राजश्व असुली गरेको छ ।
गत मंसिरमा कार्यालय प्रमुख भएर आएका पौडेलले भन्सारमा नियमितरूपमा आन्तरिक नियन्त्रण छड्के जाँच, अनलाइन मनिटरिङ, हरेक दिनको कारोबारको आलेप अर्को दिन गर्ने प्रणालीको शुरुआत र वैध व्यापारलाई प्रोत्साहन हुने गरी डेस्क सञ्चालन गरेसंगै राजश्व असुलीमा सफलता हासिल भएको बताए । रासस
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij