
आइतवार , श्रावण १०, २०७८
भैरहवा, १० साउन । रुपन्देहीको कोटहीमाई गाउँपालिका–१ परस्पुरका ६० वर्षीय राम उजागिर हरिजन आफ्नो परिवारसहित फुसको छानोमुनी बस्ने गर्दथे। फुसको सानोसहितको घर पुरानो भएपछि बर्षायाममा पानी चुहिने लगायतका समस्याले उनलाई बेला बेला सताईरहन्थ्यो। गाँउगाँउमा आएको सिंहदरबारले उनीसहित मर्चवारका धेरै नागरिकको फुसको छानो उतारेर नयाँ घर बनाउने योजना बनायो। उजागिरसहित कोटहीमाईका २४ घर परिवारलाई नयाँघर बनाईदिने भन्दै पुराना घर भत्काइयो।
तराई–मधेश समृद्धि कार्यक्रम अन्र्तगत निर्माणाधिन २४ घर समयमा निर्माण नहँुदा उनीहरु परिवार बिचल्लीमा परेका छन्। गाउँपालिकामा ठेकेदारको चरम लापरवाहीका कारण विपन्न परिवार बिचल्लीमा परेका हुन्। २४ घरपरिवार आफ्नो बास नभएपछि अरुको घर र त्रिपालको ओतमा बस्न बाध्य भएका छन्।
गाउँपालिकाले फुसको छानो हटाएर टीनको छानोसहितको घर बनाउन सुरु गरेपछि उनको पुरानो घर भत्काइयो। अहिले घर अगाडी त्रिपालले बनाइएको सानो थोत्रो टहरामा उनको परिवार बसेको छ। उनले भने, ‘पुरानो घर भत्किए पनि नयाँ घर बन्ने आशले खुशी भएको थिए, तर घर निर्माण कार्य बीचमै अलपत्र भएपछि पहिला भन्दा बढी सास्ती खेप्नुपरेको छ।’
घरकै ढोकामा त्रिपालको घेरा बनाएर उनको छोरा, बुहारी र नातिनातिनी बसेका छन्। त्यही घेरामा खाना पकाउने र घरको सबै लत्ता कपडा र सरसमान राखिएको छ। घर भन्दा केही पर तुफानी मल्लाहले खाना पकाउने दाउरा राख्ने फुसको झुपडीमा उनी बस्दै आएका छन्। तर, एक महिनादेखि ठेकेदारको कुनै अत्तोपत्तो छैन, उनले भने हामी कहिलेसम्म यसरी दुःख पाएर बस्नुपर्ने हो।
कोटहीमाई–१ कै तिवारीपुर टोलमा दैनिक ज्यालादारीमा काम गरी फुसले बनाइएको छानोमा ७ जनाको परिवारसहित बस्दै आएको बलिराम राजभरको पीडा पनि उस्तै छ। ३ महिनादेखि निमार्णाधीन जस्तापाता (टीन) को एककोठे घरको हालत पनि उस्तै छ। पानी पर्न थालेपछि छाता, प्लाष्टिक ओढेर कुनाकाप्चामा बस्नुपरेको उनको भनाइ छ। उनको छोरा अनिल राजभरले भने, ‘ठेकेदारसंग घर निर्माणबारे कुरा गर्दा आफूूसंग पैसा छैन, पैसा भएपछि बनाइदिन्छु भनेर जवाफ फर्काउँछन्। वडाको जनप्रतिनिधिसंग भन्दा ‘हुन्छ म ठेकेदारलाइ जानकारी गराइदिन्छु’ भनेर आश्वासन मात्र दिने गरेका छन्।’ ठेकेदार र जनप्रतिनिधिले समयमा काम नगरेपछि हामी कहाँ गएर बस्ने त।
कोटहीमाई–३ कुडसरका त्रिलोकी धोबी स्थानीय क्षेत्रमा दैनिक ज्यालादारीमा काम गरी ५ जना छोराछोरीसहित ७ जनाको परिवारलाई पालेका छन्। दुईकोठा भएको जीर्ण अवस्थाको छाप्रो हटाएर माघ महिनादेखि गाउँपालिकाले जिम्मेवारी दिएको ठेकेदारले घर बनाइरहँदा अहिलेसम्म भित्ता मात्र ठड्याइएको छ। गर्मीयाममा उनको परिवारले खुला आकाशमुनी बिताए। वर्षायाम सुरु भएपछि निर्माणाधीन घरको घेराभित्र पुरानो च्यातेको त्रिपाल मिलाएर बसेको धोबीको गुनासो छ। उनले भने, ‘गाउँपालिका अध्यक्षलाई कहिले भेट्न सकिन तर ठेकेदार उनकै छोरा हो उनलाई भन्दा पैसा निकासा भएको छैन, भएपछि गर्ने भनी आलटाल गरिरहेका छन्।’ काम गर्ने मान्छे कहिले १ महिनामा २ दिन कहिले ३ दिन आउने गरेका छन्।’
माटोको बनेको फुसको छानाको २ कोठामा २ वटा मात्र विस्तारा देखिने कप्तान मुसलमान (नाउ)का ८ जनाको परिवार बस्दै आएका छन्। उनको श्रीमतीले ७ वटा बाख्रा पालेकी छन्, त्यो बाख्रा त्यही घरमा राख्दै आएकी छन्। पानीले भित्ता फाटेको र भत्किने अवस्थामा रहेको देखाउँदै वर्षामा घरमा पानी चुइने उनले दुःखेसो गरिन्। गाउँपालिकाले बनाइदिने भनेको घरको लागि ४ इञ्चवाला एउटा भित्ता मात्र खड्याइएको उनले बताइन्। बाँकी इट्टा उस्तै राखिएको छ।
यी त केही उदाहरण मात्र हुन्, कोटहीमाई–३ का समसुद्दीन दर्जी, कोटहीमाई २ ढुनमुन लोनिया, हरिचरन चमार, इस्लाम पठान, वडा नम्बर ५ का बुद्धु मुसलमान, नकबुल चमार, वडा नम्बर ७ का दरबारी लोध, पियारे चमार, नरेश यादव लगायत अन्य सबैको पनि अवस्था उस्तै छ। कोही अरुको घरमा बास बसेका छन् त कोही त्रिपालले घेरिएको सामान्य हावाहुरी उडाउन सक्ने झुपडीमा। यस्तो लापरवाहीबारे गाउँपालिकाको प्राविधिक शाखालाई पटकपटक जानकारी गराए पनि कामप्रति कुनै वास्ता नभएको स्थानीय चन्दन तिवारीले बताए । तिवारीको भनाइ छ। यस्तो समस्याप्रति गाउँपालिका अध्यक्ष चन्द्रभुषण यादवलाई जानकारी भए पनि ठेकेदार आफ्नो छोरा भएकोले आफ्नो कर्तव्यबाट पन्छिन खोजेको तिवारीको आरोप छ।
गाउँपालिका अध्यक्ष यादवकै छोरा विकास यादवले ठेक्का पाएका छन्। निर्माण कार्यको म्याद भन्दा आर्थिक वर्ष पार गरिसक्दा पनि सबै घरहरु अलपत्र रहेका छन्। अन्सुमन निर्माण सेवा नामक उनको कम्पनीले २०७७ मंसिर ८ गते नै २०७८ जेठ २५ गतेभित्र निर्माण कार्य सम्पन्न गर्ने गरी २४ वटा घरको ६१ लाख ४ हजारको लागतमा बनाउने सम्झौता भएको थियो। कोटहीमाई गाउँपालिकाका इञ्जिनियर अरबिन्द कुमार यादवले जेठ २५ मै सम्पन्न गर्नुपर्ने उक्त कार्य निर्माण कम्पनीले कोरोना महामारी, निषेधाज्ञा र वर्षाको कारण ढिलाई भएकोे बताए। निर्माण कम्पनीले समयमै काम गर्न नसक्दा कार्यको म्याद थप गर्न निवेदन दिएको तर म्याद थपको प्रक्रिया अगाडी बढाए पनि म्याद थप नभएको यादवले जानकारी दिए। कम्पनीले गरेको कार्यको मुल्यांकन गरी गाउँपालिकाले करिब ५० प्रतिशत मात्र भुक्तानी गरेको र बाँकी रकम भुक्तानी नगरेको उनले बताए।
इञ्जिनियर यादवले निर्माण कम्पनीलाई दबाब दिएर भएपनि निर्माण कार्य सम्पन्न गराउने बताए। ‘निर्माण कम्पनीले काम गर्न आनाकानी गरेको अवस्थामा कारवाही प्रक्रियामा जान्छौं,’ यादवले भने।
गरीब घर परिवारको समस्याबारे आफुलाई पनि जानकारी आएको कोटहीमाई गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दिनेश कुमार गौडले बताए। गौडले भने, ‘गाउँपालिका अध्यक्षको छोरोको निर्माण कम्पनी हो, उनले जति काम गरेका छन्, प्राविधिकको मूल्यांकन अनुसार त्यति मात्र भुक्तानी गरिएको छ। सबै घर समयमै सम्पन्न गर्नुपर्ने हो। कम्पनीले के कति कारणले काम गर्न नसकेका
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij