२०८२, श्रावण ५ गते

Jul 21 2025 | २०८२, श्रावण ५ गते

विद्युत महशुलमा जरिवाना छुट गर्न उद्योग व्यापार संगठनको माग

बिहिवार , श्रावण १४, २०७८

भैरहवा, १४ साउन ।
उद्योग व्यापार संगठन, रुपन्देहीले निश्चित समयसम्मका लागि विद्युत महशुलमा जरिवाना छुट गर्न माग गरेको छ । संगठनले बिहीबार नेपाल विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख इञ्जिनियर जितेन्द्र कुमार झालाई ज्ञापनपत्र बुझाउँदै विद्युत महशुल बुझाउँदा केही प्रतिशत छुट हुनुपर्नेमा झन थप शुल्कसहित अत्याधिक मात्रामा जरिवाना पनि तिर्नुपरेकोले उपभोक्ता अत्यन्त मारमा परेको गुनासो गरेको हो ।

निषेधाज्ञाको अवस्थामा विद्युत प्राधिकरणबाट मासिक मिटर रिडिङ कार्य नगरिएकोले उपभोक्ताहरुले विद्युत महशुल बुझाउन असहज भएको र अहिले आएर मात्र मिटर रिडिङ भएकाले महशुल बुझाउँदा केही प्रतिशत छुट दिनुपर्ने संगठनका महासचिव अनिल कुमार ज्ञवालीले बताए ।

‘कोरोना भाइरस (कोभिड–१९) को कारणले गर्दा नेपालमा २०७६ चैत ११ गतेदेखि २०७७ भदौसम्म र पुनः २०७८ वैशाख १६ गतेदेखि हालसम्म पनि कोरोना भाइरस कोभिड–१९ ले गर्दा बन्दाबन्दीको अवस्थामा रहेका छौं,’ ज्ञापनपत्रमा उल्लेख छ ।

ज्ञापनपत्र बुझेपछि विद्युत प्राधिकरण भैरहवा वितरण केन्द्रका प्रमुख झाले ज्ञापनपत्र विद्युत प्राधिकरण केन्द्रीय कार्यालयमा पठाउने र माथिको निर्णय अनसार अगाडी बढ्ने बताए । उनले असार मसान्तसम्म विद्युत महशुलमा छुट प्रदान गरिएको र त्यसपछि मिटर रिडिङ भएको मितिले ४० दिनपछि उपभोक्ताले जरिवाना तिर्नुपरेको जानकारी दिए ।

ज्ञापनपत्र बुझाउने कार्यक्रममा संगठनका निवर्तमान अध्यक्ष खिम बहादुर खत्री, उपाध्यक्ष रामचन्द्र रेग्मी, महासचिव अनिल कुमार ज्ञवाली र कोषाध्यक्ष सचिन रोक्काको उपस्थिति रहेको थियो ।