
बिहिवार , श्रावण १४, २०७८
बुटवल, १४ साउन ।
रुपन्देहीको बुटवल उपमहानगरपालिकाले गरेको बजार अनुगमनका क्रममा कतिपय मासु पसल मापदण्डविपरीत र त्यहाँ अस्वस्थकर माछामासु विक्रीका लागि राखेको पाइएको छ । अस्वस्थकर र सडेको अवस्थामा राखिएका त्यस्ता माछामासुजन्य पदार्थलाई अनुगमन समितिले नियन्त्रणमा लिएर रोहबरमा नष्ट गरिएको अनुगमन समिति संयोजक तथा बुटवल उपमहानगरपालिका उपप्रमुख गुमादेवी आचार्यले जानकारी दिइन् । उपप्रमुख आचार्यको नेतृत्वमा पशु चिकित्सक, उपभोक्ता अधिकारकर्मी, उद्योगी, व्यवसायिक संघ–संस्थाका प्रमुख तथा प्रतिनिधि सम्मिलित अनुगमन समितिले बिहीबार बिहान यहाँका विभिन्न मासु पसलको अनुगमन गरेको थियो ।
सोही अनुगमनका क्रममा कतिपय पसलमा सडेको अवस्थाका माछा मासु तथा मासुजन्य पदार्थ राखिएको, पसलमा सफासुग्घर नगरिएको, माछा, मासु र तिनको रगतजन्य पदार्थलाई एकै ठाउँमा पोको पारेर राखेको अवस्थामा फेला पारिएको र त्यसलाई नष्ट गरिएको अनुगमन समिति संयोजक तथा उपप्रमुख आचार्यले बताइन् । उपमहानगरका पशुपन्छी विकास शाखा प्रमुख पशु चिकित्सक झविन्द्र बञ्जाडेले विभिन्न छ वटा पसलबाट करिब ८० किलो बराबरको सडेको, अस्वस्थकर अवस्थाको माछा मासु नियन्त्रणमा लिएर नष्ट गरिएको जानकारी दिए । उनले ती पसललाई सुधार गर्न र उपभोक्तामैत्री बनाउन निर्देशन दिइएको पनि बताए ।
बुटवल–६ स्थित बाबा फ्रेस हाउस, सोही वडाको ताहिर मासु पसल, बुटवलकै नेपालगञ्जरोड स्थित सद्दाम मासु पसल र कुरैसी मासु पसलमा अनुगमन भएको थियो । अनुगमनका क्रममा कतिपय मासु पसलमा सुधार हुने क्रममा रहेको र कतिपयले सुधार गरिरहेको पाइएको थियो । यद्यपि अधिकांशमा अस्वस्थकर र सडेका परिकार विक्री वितरण गर्ने गरेको पाइएको उपमहानगरको अनुगमन समितिले जानकारी दिएको छ । अनुगमनका क्रममा बुटवलको नेपालगन्ज रोडमा रहेको एउटै माछा पसलबाट ३८ किलो माछा र अस्पताललाईन स्थीत भुडकी चोकमा रहेको एउटै मासु पसलबाट २५ किलो मासू नियन्त्रणमा लिएर नष्ट गरिएको अनुगमन समितिले जनाएको छ ।
नेपालगञ्ज रोडमा रहेको सद्दाम माछा एण्ड मासु पसलमा ३८ किलो माछा तथा अस्पताललाईन स्थीत भुडकी चोकमा रहेका ताहिर मासु पसलमा अनुगमन गर्दा २५ किलो मासू सडेको र खसी तथा बोकाको भनेर बाख्रीको मासु बेच्न राखेको पाइएपछि उक्त मासु नष्ट गरिएको थियो ।
यस्तै बुटवलको सब्जीमण्डीस्थित सटरमा टोलछिमेकमै दुर्गन्ध फैलाउने गरी मासु पसलहरु सञ्चालन भएको पाइएको छ । त्यहाँका करिब आधा सटरहरुमा अव्यवस्थित तरिकाले मासु पसल सञ्चालन भएको पाइएपछि तिनलाई सुधार गर्न तथा स्थानान्तरण गर्न सुझाव दिइएको अनुगमन समितिका सदस्य तथा उपभोक्ता हित संरक्षण मञ्च लुम्बिनी प्रदेशका अध्यक्ष तेजकुमार पाठकले जानकारी दिए ।
त्यहाँका सटरमा राँगा, पाडा तथा भैंसीको समेत मासुलाई अस्वस्थकर तरिकाले विक्री वितरण गर्ने गरेको र छाला र हड्डीहरु समेतलाई असरल्ल रुपमा दुर्गन्ध फैलाउने गरी भण्डारण गर्ने गरेको पाइएको छ ।
अनुगमनमा समितिका सदस्य तथा रुपन्देही व्यापार संघका अध्यक्ष यमलाल लोहनी, मासु व्यवसायी संघका मोहन खत्री, नारायण जिसी, उपमहानगरका कर्मचारीहरु प्रकाशमणि बस्याल, नगरप्रहरी प्रमुख जयेश्वर पाण्डे र सञ्चारकर्मीको सहभागिता थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij