
शुक्रवार , श्रावण १५, २०७८
बुटवल, १५ साउन ।
बुटवल उद्योग बाणिज्य संघ, रुपन्देहीले विद्युत आपूर्तिलाई नियमित बनाउन माग गर्दै नेपाल विद्युत प्राधिकरण लुम्बिनी प्रदेश कार्यालयमा ज्ञापनपत्र बुझाएको छ । केही समयदेखि बुटवल क्षेत्रमा विद्युतको आपूति अनियमित भएको बताउँदै संघको टोलीले लुम्बिनी प्रदेश कार्यालयका प्रमुख मुनिन्द्र ठाकुरलाई ज्ञापनपत्र बुझाएको हो । ज्ञापनपत्र बुझाउँदै बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूले विद्युत आपूर्ति अनियमित हुँदा उद्योग व्यबसायमा र ग्राहस्थ उपभोक्तामा पनि कठिनाई उत्पन्न भएको बताए ।
ज्ञापनपत्रमा एकातिर विद्युत उत्पादन क्षमतामा वृद्धि भइ विद्युतमा आत्मनिर्भरतातर्फ अगाडि बढेको समाचार आएका छन् भने अर्कोतर्फ त्यसको ठिकविपरीत आपूर्ति दिनानुदिन अनियमित भएको उल्लेख गरिएको छ । त्यस्तै पटकपटक विद्युत आपूर्तिमा अवरोध हुँदा उद्योगको मेसिनरी लगायत उत्पादन प्रोसेसमा रहेको कच्चामाल समेत नोक्सानी हुँदा उत्पादन लागत बढ्न जाने भएकोले विद्युत वितरण प्रणालीलाई सबलीकरण गर्न र भार व्यवस्थापनको लागि यथाशिघ्र पहल गर्न अनुरोध गरिएको छ । ज्ञापनपत्र बुझ्दै प्राधिकरणका प्रादेशिक प्रमुख ठाकुरले योगिकुटी ग्रिडमा रहेका तीनवटा ट्रान्सफर्मरमध्ये एउटा जलेका कारण त्यसले ५/७ दिन यता समस्या आएको बताए । एकातिर गर्मीमा लोड बढेको र अर्कोतिर चलिरहेको ट्रान्सफर्मर बिग्रिदा बुटवल, भैरहवा, नयाँमिल र अमुवा फिडरमा समस्या भएको बताउँदै उनले त्यसको व्यबस्थापनको काम भइरहेकाले ८÷१० दिन भित्रमा समस्याको समाधान हुने बताए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij