
तिकडम र जालझेलले सत्ता धेरै दिन टिक्दैन : खान
बुधवार , श्रावण २०, २०७८
बुटवल, २० साउन ।
नेकपा एमाले लुम्बिनी प्रदेशका प्रमुख सचेतक भुमिश्वर ढकालले प्रतिपक्षले सांसद किनबेच र प्रलोभनमा पारेर सत्ता हत्याउने खेलमा लागेको आरोप लगाएका छन् । रिपोर्टर्स क्लव नेपाल लुम्बिनी प्रदेश कार्यालय बुटवलले बुधवार आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै ढकालले प्रतिपक्षले संसद अमर डाँगीलाई डेढ करोडमा बार्गेनिङ गरिएको ठोकुवा गर्दै अर्का सांसद दृगनारायण पाण्डेलाई समेत प्रलोभनमा पारेर एमालेबाट राजीनामा दिन बाध्य पारेको बताए ।
त्यस्तै ढकालले मुख्यमन्त्री संविधानको धारा १६८ (२) अनुसार बनेको सरकारबाट मुख्यमन्त्री शंकर पोखरेलले राजीनामा दिएर एकल बहुमतको सरकार बनाउने बाटोमा १६८ (१) अनुसार पुनः पोख्रेललाई मुख्यमन्त्रीमा नियुक्ती भएको बताए । सरकार गठनका लागी हामीसंग बहुमतको संख्या रहेको दावी गर्दै विश्वासको मत लिने बताए । सांसद वलीको अवस्था किन सार्वजनिक हुन सकेको छैन् भन्ने पत्रकारको जिज्ञासामा ढकालले भने उनी बिरामी भएको र नेपालगञ्जस्थित अस्पतालमा उपचार भई रेष्टमा रहेको भन्दै जानकारी दिए ।
त्यस्तै साक्षात्कारमा बोल्दै नेपाली कांग्रेस लुम्बिनी प्रदेशका प्रमुख सचेतक फखरुद्दीन खानले सत्तापक्षले विभिन्न तिकडम र जालझेल गरी सत्ताको आयु बढाउने र अराजक फैलाउने काम गरेको आरोप लगाए । सत्तापक्षले सांसद विमला वलीलाई बन्धक बनाएर राखेको जिकिर गर्दै वलीको जीवन रक्षाको माग गरे । उनले विपक्षी गठबन्धनमा बहुमत हुँदाहुँदै पनि जर्बजस्ती ढंगले मुख्यमन्त्रीले सपथ खाने काम काम गरे यसले संसदीय परिपाटीको नै खिल्ली उडाएको बताए । खानले विपक्षी गठबन्धनको बहुमत संख्या पुगेको दावी गर्दै अविश्वासको प्रस्ताव पेश गरेको जानकारी दिए ।
त्यस्तै साक्षात्कार कार्यक्रममा बोल्दै जनता समाजवादी पार्टी नेपाल, (जसपा) दलका नेता सहसराम यादवले अल्पमतमा रहेको सरकारले विश्वासको मत लिन डराएर संसदबाट भागेको आरोप लगाए । यादवले सत्ताको दम्भमा सांसदलाई प्रलोभनमा पारी विभाजित गर्ने काम गरेको बताए ।
सोही कार्यक्रममा बोल्दै राष्ट्रिय जनमोर्चाकी सांसद तारा जिसीले मुलुकका अन्य संसदीय अभ्यासमा कही नभएको गलत कार्य गर्दै नैतिकता आधारमा सरकारले निकास दिनुपर्ने जिकिर गरिन् । साक्षात्कार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेश अध्यक्ष राम कुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij