
बुधवार , श्रावण २०, २०७८
भैरहवा, २० साउन ।
रुपन्देही प्रहरीले १३ लाख बढीको अवैध सामान बरामद गरेको छ । प्रहरीले १३ लाख ३५ हजार ४ सय ३० रुपैयाँ बराबरको अवैध सामान बरामद गरेको हो । जिल्ला प्रहरी कार्यालय रुपन्देही र कार्यालय मातहत बुधबार विभिन्न स्थानबाट अवैध सामान फेला पारी स्थानीयको रोहबरमा बरामद गरिएको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।
इलाका प्रहरी कार्यालय बेथरीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा लु ३ त १६२४ नम्बरको ट्याक्टर र लु २१ प ८१६४ नम्बरको मोटरसाइकलले ल्याउँदै गरेको २० बोरा चिनी, २ बोरा मल, ट्याक्टर र मोटरसाइकल बरामद गरिएको प्रहरीले जनाएको छ । त्यस्तै ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको चिनी २ बोरा, काचो कपडा ६ थान, लेडीज कुर्ता सुर्वाल १२ पिस बरामद गरेको हो ।
त्यसै गरी ई.प्र.का. लुम्बिनीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको चिनी ५० के.जी. र सुर्ती ३५ के.जी बरामद गरेको छ । ई.प्र.का.मर्चवारबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ अवैध रुपमा ल्याउँदै गरेको विभिन्न किसिमका लत्ता–कपडा तथा ब्रोईलर कुखुरा बरामद गरेको छ । बरामख गरिएको कुखुरा पशु सेवा क्वारेन्टाईनको कर्मचारीहरुको उपथितिमा नष्ट गरिएको प्रहरीको भनाइ छ ।
वडा प्रहरी कार्यालय भैरहवा रुपन्देहीबाट खटिएको टोलीले अवैध बिभिन्न किसिमका कपडाहरु, मोटरपार्टसहरु र चिनी तथा वडा प्रहरी कार्यालय बुटवलले १२० पिस लेडिज टप्स फेला बरामद गरेको हो । बरामद गरिएको सामान आवश्यक कारवाहीका लागि भैरहवा भन्सार कार्यालय, बेलहिया पठाइएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij