
बिहिवार , श्रावण २१, २०७८
भैरहवा।
लुम्बिनी प्रदेशसभा सदस्य विमलाकुमारी खत्री (वली) ले आफुलाई मुख्यमन्त्री निवासमा बन्धक बनाएर राखेको आरोप लगाएकी छन्। बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै सांसद वलीले मुख्यमन्त्रीको निर्देशन र प्रमुख सचेतक भुमिश्वर ढकालको प्रत्यक्ष सम्लंग्नतामा आफूलाई ५ दिन सम्म बन्धक बनाएर राखिएको बताएकी छन्।
उनले साउन १५ गतेदेखि २० गतेसम्म मुख्यमन्त्रीको निवासमा राखेको र एमालेमा फर्किएँ भनेर जबरजस्ती हस्ताक्षर गराएर साउन १९ मा विज्ञप्ति जारी गराएको बताएकी हुन्। उनले मुख्यमन्त्री पोखरेलले मन्त्री बन्ने प्रलोभन देखाएको बताईन। मुख्यमन्त्री पहिला गल्ती भयो, अब त्यस्तो हुँदैन। एमालेमा आउनुस, मन्त्री बन्नुस भनेर प्रलोभन देखाएको प्रदेशसभा सदस्य वलीले भनीन। उनले भनिन, ‘मैले निरन्तर इन्कार गरिरहें। साउन १६, १७ र १८ गतेसम्म मुख्यमन्त्री निवासबाट बाहिर निस्कनै नदिई दबाब दिइरह्यो।’
मुख्यमन्त्री निवासमै जबरजस्ती विज्ञप्तिमा हस्ताक्षर गर्न लगाएको उनले बताएकी छन्। थप केही माइन्युटमा पनि आफूलाई हस्ताक्षर गराएको भन्दै उनले भनेकी छन्, ‘दलको बैठकको गराउनुभयो कि जिल्ला कमिटीको गराउनुभयो थाहा छैन।’त्यसपछि पनि आफूलाई बाहिर आउन नदिएको भन्दै उनले भनिन, ‘अब घर जान दिन्छन र बाहिर गएर खण्डन गर्छु भन्ने सोचेको थिएँ तर अझ कडाइका साउन १९ गतेदेखि मुख्यमन्त्री निवासभित्रै राखियो।’
आफूलाई मुख्यमन्त्री निवासमा सांसद सरस्वती गौतमसँगै राखेको उनले बताएकी छन्।आफू वैशाख १९ गते नै पत्रकार सम्मेलन गरेर माओवादी केन्द्र रोजेको जानकारी गराएको उल्लेख गर्दै भनीन ‘म माओवादी केन्द्र कै सांसद हो, माओवादीमै रहन्छु।’
उनले साउन १५ गते नेकपा एमालेका प्रमुख सचेतक भूभिश्वर ढकाल र नेता मानबहादुर राउत तुलसीपुरस्थित आफ्नो निवासमा पुगेर एमालेमा आउन दवाव दिएको बताए। उनीहरुले पटक पटक दवाव दिदा पनि एमालेमा आउन ईन्कार गरेपनि अस्पताल जान लागेको मान्छेलाई जर्वजस्त रुपमा बुटवल ल्याएको बताईन।
प्रदेशसभा सदस्य वलीका अनुसार २० गते उनी मुख्यमन्त्री निवासबाट भाग्न सफल भएकी थिइन। मध्यान्हतिर सबै आराम गरिरहेको बेला शौचालयको चप्पल लगाएर भागेको र माओवादी केन्द्रको संसदीय दलमा पुगेको भन्दै उनले भनिन, ‘भाग्ने त पहिल्यै प्लान गरेको थिए। कमला विक माननीयले घर जान्छु भन्नुभयो, मैले हुन्छ भनें। त्यही बेला कसैलाई नदेखेपछि आएँ।’ आफ्नो चप्पल लगाउँदा आवाज आउने भएपछि शौचालयको चप्पल लगाएर माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा आएको उनले बताइन ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij