शुक्रवार , श्रावण २२, २०७८
रोल्पा, २१ साउन ।
कोरोना संक्रमित घटिरहेका बेला त्यस्तै लक्षण देखिने बिरामी फेरी बढ्न थालेकाले जिल्लाको जनजीवन अस्तव्यस्त भएको छ । अत्यधिक ज्वरो आउने, रुघाखोकी लाग्ने र झाडापखाला भएर कोरोना जस्तै लक्षण देखिएका बिरामीको चाप दिनदिनै बढ्न थालेको हो । रोल्पा अस्पतालका मेडिकल सुपरिटेन्डेन्ड डा आधार वलीका अनुसार दैनिक ५० भन्दा बढी यस्ता लक्षण देखिएका बिरामी आउने गरेका छन् । जिल्लाका अन्य स्वास्थ्य संस्थामा समेत यस्तै प्रकृतिका बिरामीको चाप बढ्न थालेको बताइन्छ । “ज्वरो र रुघाखोकीबाट ग्रस्त उनीहरुमा भाइरल ज्वरो र निमोनिया जस्तो जटिल समस्या समेत देखिने गरेको छ”, उनको भनाइ थियो ।
“जिल्ला अस्पतलामा दिनहुँ १०/१२ का दरले झाडापखाला र आउँका बिरामीसमेत आउने गरेका छन् । बर्सात्को समयमा दूषित पानी पिउने गरेका कारण झाडापखाला र आउँका बिरामी बढिरहेका छन्”, डा. वलीले भने । ज्वरो र रुघाखोकीबाट ग्रस्त बिरामीमा कोभिडसँग मिल्दोजुल्दो लक्षण देखिने गरेका कारण उनीहरु त्रसित भएका हुन् ।
“एक्कासी हनहनी ज्वरो आएपछि कोरोनाको आशंकामा आत्तिएर अस्पताल पुगे”, रोल्पा नगरपालिका–२ का भरत महराले भने,, “कोरोना जाँच गर्दा रिपोर्ट नेगेटिम आयो”। ज्वरो आउने, टाउको दुख्ने तथा रुघाखोकी लाग्ने समस्या देखिँदा कोरोनाको आशंकामा परिवार तथा छरछिमेकमा समेत त्रास सिर्जना गरेको छ”, महराले भने । रासस
© 2026 All right reserved to khabarpatro.com | Site By : sobij