
आइतवार , श्रावण २४, २०७८
भैरहवा, २४ साउन ।
एमसीसी खारेज गर्नुपर्ने माग गर्दै राष्ट्रिय जनमुक्ति पार्टी जिल्ला कार्यसमिति रुपन्देहीले आइतबार भैरहवामा विरोध तथा खबरदारी कार्यक्रम गरेको छ । राष्ट्रिय जनमुक्ति सिद्धार्थनगर नगर समिति, भैरहवाको व्यवस्थापनमा भैरहवाको बर्मेलीटोलमा भएको कार्यक्रममा बोल्ने पार्टीका नेताहरुले एमसीसी देशबाट नै खारेज गर्नुपर्ने माग गरे । उनीहरुले एमसीसी सम्झौता राष्ट्रघाती भएकाले यसकाविरुद्ध एकजुट भएर लड्नुपर्ने बताए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख वक्ता राष्ट्रिय जनमुक्ति पाटीका संघीय परिषद सदस्य गीता सारुले एमसीसी अमेरिकाले नेपाललाई दिने अनुदान नभइ नेपालमा लगानी गर्न खोजेको बताइन् । उनले लगानी गर्न खोज्ने अमेरिकाले निश्चय नै नेपालबाट फाइदा लिन खोजेको बताइन् । ‘अमेरिकाले नेपालभित्र आम्दानीको स्रोत देखेकाले एमसीसी माध्यम बनाउन खोजेको छ, ’उनले भनिन् । नेतृ सारुले नेपालीहरु स्वतन्त्रपूर्वक बाँच्न चाहेकाले एमसीसी जस्तो राष्ट्रघाती काम पारित हुन कुनै हालतमा दिन नहुने बताइन् । जनमुक्ति पार्टी लुम्बिनी प्रदेशका अध्यक्ष झम बहादुर गुरुङले एमसीसीको नाममा राष्ट्रघाती सम्झौता गर्न नहुने बताए । उनले जनतालाई भ्रम पार्न खोजिएको बताए । नेता गुरुङले राष्ट्रिय स्वाधिनताको रक्षा गर्नुपर्ने बताए ।
पार्टीका लुम्बिनी प्रदेश सूचना विभाग प्रमुख राम अस्लामीले कुनै पनि हालतमा एमसीसी पारित हुन नदिने र आवश्यक परे सशक्त आन्दोलनमा उत्रिन बाध्य हुने समेत चेतावनी दिए । उनले महाकाली तर्ने क्रममा भारतीय एसएसबीले तुइनको तार काट्दा नेपाली नागरिक वेपत्ता हुँदा समेत वर्तमान सरकार कानमा तेल हालेर बसेको आरोप लगाए ।
राष्ट्रिय जनमुक्ति पार्टीका युवा नेता तथा राष्ट्रिय मुस्लिम परिषद्का केन्द्रीय महासचिव मोजीब अलीले नेपालको कुनाकुनामा एमसीसीविरुद्ध विरोधका आवाज उठिरहेको बताए । उनले मुलुकलाई बचाउन एमसीसीको विरोधमा जनमुक्ति पार्टी उत्रिएको बताए ।
राष्ट्रिय जनमुक्ति पार्टी रुपन्देहीका अध्यक्ष प्रेम थापाको अध्यक्षता, सिद्धार्थनगर नगर समितिका अध्यक्ष प्रेम गुरुङको स्वागत तथा जिल्ला सचिव दिलमाया गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
विरोध तथा खबरदारी कार्यक्रम अघि पार्टीले विरोध र्याली निकालेको थियो । बर्मेलीटोलबाट निस्केको र्याली भैरहवाको नारायणपथ, मिलनचोक, बैंकरोड, देवकोटाचोकहुँदै पुनः बर्मेलीटोलमा पुगेर विरोध तथा खबरदारी कार्यक्रममा परिणत भएको जनमुक्ति पार्टीका युवा नेता तथा नेपाल थारु राष्ट्रिय मञ्चका केन्द्रीय अध्यक्ष रेखा प्रसाद चौधरीले जानकारी दिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij