
आइतवार , श्रावण २४, २०७८
भैरहवा, २४ साउन ।
जनता समाजवादी पार्टी नेपाल (महन्थ ठाकुर) पक्षले विभिन्न जिल्लामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला गरिरहेको छ । सोही क्रममा ठाकुर पक्षले आइतबार रुपन्देहीको भैरहवामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेला गरेको छ । भेलालाई सम्बोधन गर्दै पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्व शिक्षामन्त्री सर्वेन्द्रनाथ शुक्लले महन्थ ठाकुरसंग अनुभवी, सक्षम र योग्य नेताहरु रहेको बताए । उनले प्राविधिक रुपमा केन्द्रीय कार्यकारिणी समितिमा आफूहरुको बहुमत नभए पनि जनताको मनमा बस्न सफल भएको बताए ।
जसपाको आधिकारिकता उपेन्द्र यादव समूहलाई दिने निर्वाचन आयोगको निर्णय बदर गर्न माग गर्दै सर्वोच्च अदालतमा आयोगविरुद्ध रिट दर्ता गरिएको उनले बताए । सर्वोच्चमा अदालतको निर्णय जे आए पनि अन्तिम फैसला र निर्णय जनताकै हातमा हुने उनले बताए । नेता शुक्लले केही नेताहरु व्यक्तिगत स्वार्थमा उपेन्द्र यादव समूहमा लागेको आरोप लगाए ।
मधेशको मुद्दा समाधानतर्फ नै सधै केन्द्रीत भएका कारण पार्टीका अध्यक्ष महन्थ ठाकुर प्रधानमन्त्री बन्ने अवसर आउँदा पनि त्यसका लागि तयार नभएको उनको भनाइ थियो । ‘विभिन्न जिल्लामा भएका कार्यक्रमहरुमा सहभागि हुने क्रममा महन्थ ठाकुरको पक्षमा भएको उत्साहनक सहभागिताले पनि पुष्टि गर्छ, हामीमाथि जनताको भरोसा छ, ’उनले भने । उपेन्द्र यादवले कुर्सी पाउनासाथ मधेशवादलाई भुल्ने गरेको उनले बताए । तर महन्थ ठाकुरले पार्टीले उठाएका मुद्दा सम्बोधन नभएसम्म पद नलिने कुरा बताउँदै आएको बताए । उनले केपी ओली नेतृत्वको सरकारमा गएका उपेन्द्र यादवले मधेशको मुद्दा समाधान गराउन नसकेको बताए ।
कार्यक्रममा पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री उमेश अरगरियाले आफूहरु सरकारमा सहभागि हुँदा प्रतिगमनकारी भनिएको तर उपेन्द्र यादव ओली नेतृत्वको सरकारमा सहभागि हुँदा उहाँलाई के भन्ने भन्दै प्रश्न गरे । उनले आफूहरु १८ दिन सरकारमा सहभागि हुँदा मधेशसंग सम्बन्धित मुद्दाहरु समाधान गराउन काम अगाडी बढाएको बताए ।
भेलामा पार्टीका केन्द्रीय परिषद सदस्य रामु यादव, केन्द्रीय सदस्य निलम यादव, रुपन्देही जिल्ला अध्यक्ष अजय वर्मा, जिल्ला प्रवक्ता मोहम्मद इस्लाम, युवा नेता श्रीनिवास यादव, विद्यार्थी नेता रामकिशुन नायक लगायतले बोलेका थिए ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij