
सोमवार , श्रावण २५, २०७८
भैरहवा, २५ साउन ।
लुम्बिनी प्रदेशसभाका सत्ता पक्षीय सांसदहरुले प्रदेशसभामा दर्ता भएको अविश्वास प्रस्ताव फिर्ता लिन माग गर्दैै सर्वोच्च अदालतमा रिट दर्ता गरेका छन् । विपक्षी गठबन्धनको समावेदन निवेदनका आधारमा प्रदेश प्रमुख अमिक शेरचनले विशेष अधिवेशन आह्वान गरेपछि सतापक्षीय सांसदहरु सर्वोच्च पुगेका हुन् ।
नेकपा एमालेका लुम्बिनी प्रदेश अध्यक्ष तथा सांसद लिला गिरी लगायतका सांसदहरुले प्रदेशसभामा दर्ता भएका अविश्वासको प्रस्ताव असंवैधानिक भएको भन्दै फिर्ता गर्न माग गर्दै सर्वोच्चमा पुगेका हुन् ।
प्रदेश सरकारका प्रवक्ता एवं आर्थिक मामिला तथा योजना मन्त्री बैजनाथ चौधरीले सत्ता पक्षका सांसदहरु रिट लिएर सर्वोच्च पुगेर रिट दर्ता गरेको पुष्टि गरे ।
लुम्बिनी प्रदेशको सत्तारुढ दल एमालेकै सांसद अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको अधिवेशन बोलाउने प्रदेश प्रमुखको निर्णयविरुद्ध अदालत गएको हो ।
नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी नेपाल (जसपा) र राष्ट्रिय जनमोर्चाका ३४ जना सांसदको हस्ताक्षरसहित साउन १९ गते प्रदेशसभा सचिवालयमा अविश्वासको प्रस्ताव दर्ता भएको थियो । अविश्वासको प्रस्तावमाथि छलफल गर्न साउन २७ गतेका लागि प्रदेशसभाको विशेष अधिवेशन आह्वान गरिएको छ । सत्तारुढ नेकपा एमालेले नियुक्ति भएको पहिलो २ वर्षसम्म मुख्यमन्त्रीविरुद्ध अविश्वास प्रस्ताव दर्ता हुन नसक्ने जिकिर गरेका छन् ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij