
मंगलवार , श्रावण २६, २०७८
भैरहवा, २६ साउन ।
राष्ट्रिय युवा संघ, नेपालले स्वास्थ्य कार्यालयबाट राजनीतिक आस्थाका आधारमा पक्षपात गरी खोप वितरण गर्नु अत्यन्तै निन्दनीय कार्य भन्दै ध्यानाकर्षण गराएको छ । संघले स्वास्थ्य जस्तो संवेदनशील विषयमा तोकिएको मापदण्ड लागु नगरेर विभिन्न तरिकाले खोप वितरण गरेको कुरा विभिन्न घटनाक्रमबाट प्रष्ट भएकाले यसलाई अविलम्ब सच्याउन माग गरेको छ । मंगलबार रुपन्देहीका प्रमुख जिल्ला अधिकारी अस्मान तामाङलाई ज्ञापनपत्र बुझाउँदै युवा संघले आम जनतालाई छिटो भन्दा छिटो खोपको व्यवस्था गर्न माग गरेको छ । हालसम्म विभिन्न संघ–संस्थाका लागि वितरण गरिएको खोपको विवरण समेत अविलम्ब सार्वजनिक गर्न समेत संघको माग छ ।
सरकारले कोभिड–१९ को नियन्त्रण गर्न खोप ल्याउने पहलकदमी गरी आम जनताको स्वास्थ्य सुरक्षा गर्नुपर्नेमा त्यसो नगरी केपी ओली नेतृत्वको सरकारले व्यवस्थापन गरेको खोपमा समेत राजनीतिक आस्थाका आधारमा पक्षपात गरी खोप वितरण गर्नु अत्यन्तै निन्दनीय कार्य भएको राष्ट्रिय युवा संघ, रुपन्देही जिल्ला कमिटीका अध्यक्ष मनोज गौचनले बताए । उनले संघका मागलाई वेवास्ता गरिएको खण्डमा जस्तासुकै आन्दोलनमा उत्रिन संघ बाध्य हुने र त्यसबाट उत्पन्न हुने परिस्थितिको जिम्मेवार स्वयं सम्बन्धित निकाय हुने चेतावनी दिए ।
‘अहिले विश्व महामारीको रुपमा रहेको कोभिड–१९ ले हामीलाई अत्यन्त आक्रान्त बनाएको छ । कोभिड–१९ को नियन्त्रणका लागि युवा संघ नेपाल सचेत भई आवश्यक सहयोग गर्न तयार छ । यसको नियन्त्रण गर्न विभिन्न राष्ट्रबाट आएको खोप मापदण्डका आधारमा लगाउनुको सट्टामा राजनीतिक आस्थाका आधारमा गरेको गतिविधि र अनियमतताप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ, ’ज्ञापनपत्रमा उल्लेख गरिएको छ ।
नेकपा एमाले बुटवल उपमहानगरपालिका कमिटी अध्यक्ष बाबुराम पन्थीले स्वास्थ्य कार्यालय पनि जिल्ला प्रशासन कार्यालय मातहत रहने भएकोले यस्ता घटना हुन नदिन प्रशासन कार्यालयले ध्यान दिनुपर्ने बताए । उनले सरकार कहिले एउटा दलको नेतृत्वमा र कहिले अर्को दलको नेतृत्वमा रहने भएकोले सम्पूर्ण नागरिकलाई समान ढंगले व्यवहार गर्नुपर्ने बताए ।
ज्ञापनपत्र बुझेपछि बोल्दै प्रमुख जिल्ला अधिकारी तामाङले वितरण गरिएको खोपको विवरण सार्वजनिक गर्न समस्या नरहेको बताए । उनले कतै त्रुटि भए त्यसलाई करेक्शन गरेर अगाडी बढ्ने बताए । राष्ट्रिय युवा संघ, नेपालले सोही माग राख्दै स्वास्थ्य कार्यालय रुपन्देही पुगेर समेत ध्यानाकर्षण गराएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij