
मंगलवार , श्रावण २६, २०७८
भैरहवा, २६ साउन ।
रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले भैरहवामा रहेका मासु पसलहरुमा अनुगमन गरेको छ । मंगलबार १४ वटा मासु र एउटा माछा गरी १५ वटा पसलमा अनुगमन गरिएको हो ।
अनुगमनका क्रममा केही मासु पसलमा खसी र कुखुराको मासु एकैठाउँमा भण्डारण गरेर राखिएको, कुखुरा र खसी एउटै हतियारले काटिएको, दर्ता प्रमाणपत्र नविकरण नगरिएको र मूल्यसुची नराखिएको जस्ता कमीकमजोरी भेट्टिएको सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत तथा सामाजिक विकास शाखा प्रमुख यादव प्रसाद सापकोटाले बताए । ‘विगतमा गरिएको अनुगमनमा अढाई क्वीन्टल अस्वस्थकर मासु नष्ट नै गर्नुपरेको थियो, तर यसपटक यस्तो अवस्था भएन, सामान्य कमीकमजोरीहरु भने रहेका छन्, ’उनले भने । समग्रमा मासु व्यवसायीले विगत भन्दा अहिले केही सुधार गरेको पाइएको उनले बताए ।
अनुगमनका क्रममा कलाम मासु पसल सि.न.पा.–८ मा कुखुरा र खसी एकै स्थानमा काटेर विक्री गरिएको, कुरैशी मासु पसल सिद्धार्थनगर–८ मा कुखुरा र खसी र मासु एकै स्थानमा भण्डारण गरेर राखिएको, अख्तर मासु पसल सिद्धार्थनगर–१३ हाटबजारमा मूल्यसूची नभएको तथा पसल सरसफाईमा ध्यान नदिएको र न्यू कुरैसी मासु पसल सिद्धार्थनगर–५ हाटबजारमा मूल्यसूची नराखेको, दर्ता प्रमाणपत्र नविकरण नभएको, साइनबोर्ड नभएको, एकै ठाउँमा राखेर खसी कुखुरा काटेको पाइएको वरिष्ठ अधिकृत सापकोटाले जानकारी दिए ।
अनुगमनका क्रममा मासु पसलमा व्यवसायीलाई पार्टेशन गरी खसीबोका र कुखुरा अलगअलग भण्डारण गर्न, विक्री गर्दा अलगअलग तराजुको प्रयोग गर्न, मूल्यसूची देखिने गरी राख्न र व्यवसाय दर्ता प्रमाणपत्र नविकरण गर्न सचेत गराइएको वरिष्ठ अधिकृत सापकोटाले जानकारी दिए । आगामी दिनमा भएका गल्तीहरु दोर्होयाए कारवाही प्रक्रिया अगाडी बढाइने व्यवसायीहरुलाई जानकारी गराइएको उनले बताए ।
अनुगमनमा सिद्धार्थनगर नगरपालिकाका वरिष्ठ अधिकृत यादव प्रसाद सापकोटा, अधिकृत अमित कुमार श्रेष्ठ, सिद्धार्थ उद्योग वाणिज्य संघ रुपन्देहीका कार्यसमिति सदस्य मंगल भण्डारी, उद्योग व्यापार संगठन रुपन्देहीका सचिवालय सदस्य कृष्ण बहादुर गुरुङ, उपभोक्ता हित संरक्षण मञ्च रुपन्देही सिद्धार्थनगरका अध्यक्ष नरेन्द्र भण्डारी, भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका अधिकृत सुरेश प्रसाद मिश्र, जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब निरीक्षक हरि बहादुर केसी, वाणिज्य कार्यालयका गिता अधिकारी, नगर प्रहरी मनोज मल्ल, सञ्चारकर्मी लगायतको सहभागिता रहेको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij