
मंगलवार , श्रावण २६, २०७८
भैरहवा, २६ साउन ।
लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री सन्तोष कुमार पाण्डेयले पदबाट राजीनामा दिएका छन् । मुख्यमन्त्री शंकर पोखरेलको नेतृत्वको सरकारमा सहभागि भएका मन्त्री पाण्डेयले मंगलबार राजीनामा दिएका हुन् । सिद्धान्तको आधारमा राजनीति गर्ने जननिर्वाचित प्रतिनिधिले नैतिकताका आधारमा सरकारबाट फिर्ता हुनु नै उपयुक्त निर्णय ठानेर राजीनामा दिएको मन्त्री पाण्डेयले खबरपात्रोलाई बताए ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) लुम्बिनी प्रदेशसभा संसदीय दलको मंगलबार बसेको बैठकले सरकारमा सहभागि भएका आफ्ना मन्त्रीहरुलाई फिर्ता बोलाउने निर्णय गरेकाले सोही बमोजिम आजको मितिदेखि नै लागू हुने गरी राजीनामा दिएको हुँ, पाण्डेयले भने ।
‘लुम्बिनी प्रदेश सरकारले संविधान र कानूनलाई सर्वोपरी ठानी कूशलतापूर्वक सरकार सञ्चालन गर्दै आएकोमा अहिलेको परिस्थिति भिन्न भएको र संसदमा अनुकुल परिस्थिति नरहेकोले मेरो गम्भिर ध्यानाकर्षण भएको छ, ’उनले भने । पाण्डेय रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए ।
मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध विपक्षी नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले साउन १९ गते तेस्रो पटक दर्ता गरेको अविश्वास प्रस्तावमाथि छलफल गर्न प्रदेशसभाको विशेष अधिवेशन बुधबार दिउँसो १ बजे बस्दैछ । अविश्वास प्रस्तावमाथि छलफल रोक्न माग गर्दै नेकपा एमालेका सांसदले दिएको रिटमाथि मंगलबार सर्वोच्च अदालतमा सुनुवाइ नभएपछि अविश्वास प्रस्तावमाथि छलफल नरोकिने निश्चित भएको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij