२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

भन्सार छलेर ल्याइएका १२ लाख बढीको अवैध सामान बरामद

शनिवार , श्रावण ३०, २०७८

भैरहवा, ३० साउन । रुपन्देही प्रहरीले १२ लाख बढीको अवैध सामान बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय तथा कार्यालय मातहत विभिन्न प्रहरी ईकाईहरुले शुक्रबार १२ लाख ८६ हजार बराबरको अवैध सामान फेला पारी स्थानीयहरुको रोहवरमा बरामद गरेको रुपन्देही प्रहरी प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक (डीएसपी) सत्यनारायण थापाले बताए ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट खटिएको टोलीले भारतबाट अवैध रुपमा भन्सार छली नेपालतर्फ लु ३ च ९९८ नम्बरको गाडीमा ल्याउँदै गरेको अवस्थामा जिउँदो ब्रोईलर कुखुरा ११० वटा, गाडीसहित अन्दाजी ८ लाख ४० हजार बराबरको सामान बरामद गरेको छ ।  बरामद गरिएका ब्रोईलर कुखुरा पशु क्वारेन्टाइन चेकपोष्ट बेलहिया रुपन्देही र गाडी भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।

त्यस्तै ईलाका प्रहरी कार्यालयबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ लु १० प ८०६७ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको रेड्मी मोबाइलहरु १७ पिस र साडी १० पिस गरी गाडीसहित अन्दाजी मुल्य ३ लाख १५ हजार बराबरको सामान बरामद गरेको छ । प्रहरीले बरामद गरेका सामान आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया पठाएको छ ।

त्यसै गरी ईलाका प्रहरी कार्यालय बेलहिया रुपन्देही मातहत प्रहरी चौकी चनौली बगाह रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको भैसीको पाडा २ वटा र ब्रोईलर कुखुराको मासु ३५ केजी गरी अन्दाजी ६० हजार मूल्य बराबरको सामान बरामद गरेको छ ।  आवश्यक कारवाहीका लागि बोईलर कुखुराको मासु पशु क्वारेनन्टाईन चेकपोष्ट बेलहिया रुपन्देही र कपडाहरु भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको प्रहरीले जनाएको छ ।

ईलाका प्रहरी कार्यालय लुम्बिनी मातहत प्रहरी चौकी सुक्रौली आमाबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको पाइन्ट ४७ पिस, जिउँदो ब्रोईलर खुखुरा २१ वटा (५० के.जी) अन्दाजी ३० हजार मूल्य  बराबरको सामान बरामद गरेको छ । आवश्यक कारवाहीको लागि जिउदो बोईलर कुखुरा पशु क्वारेनन्टाईन चेकपोष्ट बेलहिया रुपन्देही र कपडाहरु भन्सार कार्यालय बेलहिया रुपन्देही पठाइएको प्रहरीको भनाइ छ ।

त्यस्तै ईलाका प्रहरी धकधई र प्रहरी चौकी मैनिहवा रुपन्देहीबाट खटिएको टोलीले भारतबाट नेपालतर्फ ल्याउँदै गरेको ५ पिस साडी र ६ थान सुटको कपडा २९ हजार मूल्य बराबरको अवैध सामान बरामद गरेको छ । बरामद गरिएका कपडा आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय बेलहिया पठाइएको प्रहरीले जनाएको छ ।

त्यसै गरी ईलाका प्रहरी कार्यालय मझगावाबाट खटिएको टोलीले नरिवल, चकलेट, चामल र किसमिस गरी अन्दाजी १२ हजार बराबरकोसामान बरामद गरी आवश्यक कारवाहीको लागि भन्सार कार्यालय बेलहिया रुपन्देही पठाएको छ ।