२०८२, आषाढ २६ गते

Jul 10 2025 | २०८२, आषाढ २६ गते

कविता : डा.पागल

बुधवार , भाद्र २४, २०७७

ऊ पागल हो
उसको कुनै गाउँ छैन 
उसको नाउँ डाक्टर हो
तर उसको आकार छैन
न उसको ठेगाना छ
न उसको आफ्नो ठेगान छ
ठेगान नहुनेहरूलाई यो शहरले पनि त ठेस लगाउँदो रैछ..!!

ऊ कहिले पुग्छ पूर्व त कहिले पश्चिम
कहिले मेची त कहिले महाकाली
कहिले सुदुर त कहिले सदर्मुकाम
कहिले हुम्ला त कहिले जुम्ला
कहिले बाँझकोट त कहिले जाजरकोट
उसको कुनै पहिचान छैन
पहिचान नहुनेहरूलाई यो शहरले पर धकेल्दो रैछ.!!

ऊ भन्छ म मर्छु जनताकै लागि मर्छु
उसका लागि मर्ने जनता छैन
ऊ भन्छ म टाल्छु मुटुकै प्वाल
तर उसको सर्टको प्वाल टाल्ने सूचिकार छैन
ऊ एक्लो भुनभुनाउँदै हिँडिराखेको मौरी हो
ऊ एक्लो सुम्सुमाउँदै बहिरहेको बतास हो
कसैले बैचनीको सास फेर्दा
उसले हावाको एक झोक्काले फोक्सोमै हान्छ
कसैले जीवनको अन्तिम सास फेर्दा
उसले हावाको मधुरताले जीवनको जीउँमा हान्छ
भिखारीको भित्तोमा भाँसिएका जीवनका रड़ंगहरू
उसले, इन्द्रेणीको आकारमा भेट्छ

तर पनि,
उसको जीवनको कुनै रड़्ग छैन
रड़्ग नहुनेहरूलाई यो शहरले खेर गएको भन्दो रैछ.!!
ऊ एक्लै लड्छ
कहिले सरकारको निरंकुशता संग लड्छ
कहिले भ्रष्टाचारीको घार फोर्छ
ऊ बस्छ भोको पेट 
र बोल्छ भोकै भएकाहरूको भाषा
नाड़्गाहरूको नशा
अपाड़्गहरूको दशा
गरिबहरूको आशा
टुहुरोहरूको भाका
ऊ हट्दैन पछि हारेको सिंह जस्तो
ऊ बढ्छ अघि हार्दैन त्यति सस्तो
ऊ अटल छ देशकै सगरमाथा जस्तो
ऊ शान्त छ,इताहासको बुद्ध जस्तो
उसले नहार्दा हार्दै पनि यहाँ एउटा जमात उसको पछि लागेको छ
हारोस् उसले भन्दै राजनीतिको नारा घन्केको छ
उसको पछि लागेका राजनीतिक चापलूसीहरूलाई
सायद यो थाहा छैन

ऊ बनेको पानी सगरमाथाको पधेरो बाट आएको हो
ऊ बहेको हावा रारा बाट बहेर आएको हो
ऊ सिड़गो तराई हो
ऊ सिड़्गो पहाड हो
ऊ सिड्गो हिमाल हो
उसलाई पागल भनेर खुट्टा बझार्नेहरू अचेत छन
हिमाल,पहाड र तराई मिलेको नेपाल हो
र नेपालले कसैका अगाडि झुकेको इतिहास छैन
र ऊ पनि पागल डाक्टरहरूको एउटा इतिहास हो
यो शहरले उसलाई पागल भनोस
वा उसलाई पागल देखोस
म भन्छु ऊ त इतिहासको आवेग हो
आवेग हुनेहरूलाई यो शहरले पागल बनाउंछ

म भन्छु
ऊ त इताहसको पागल डाक्टर हो
जसले जीवलाई जिति सकेको छ.!!!
ऊ पागल हो
झोलाभरि औषधीका बट्टा भर्छ
आखाँमा सादगीको रड़्ग भर्छ
र छिर्छ एउटा गाउँ
जहाँ खुलै हुन्छन,मुटुका प्वाल
जहाँ लाभास्कर हन्छन झाडाका पाउँ
उसले सियोले प्वाल टाले जस्तै
सजिलै मुटुको प्वाल टालिदिन्छ
दुखेको घाउँमा नुन लगाउँने सरकार उसको रमिता हेर्छ र 
कटालेलाई डकालो पिट्न लगाउँछ
पागल बस्तीहरूमा एउटा पागल डाक्टर छिरेको छ

साबधान !
दुखेको घाऊमा मलम लगाउँने डाक्टर यो देशमा कहिल्यै ठूलो हुन सकेन !
मार्सी खाएर देश बेच्ने नेता भन्दा, माडो खाएर देश बचाउँने गरिब यो देशमा कहिल्यै ठूलो हुन सकेन !!