सोमवार , श्रावण ३२, २०७८
भैरहवा, ३२ साउन ।
रुपन्देहीमा जारी निषेधाज्ञा भदौ १५ गतेसम्मका लागि थपिएको छ । रुपन्देही जिल्लामा कोभिड–१९ को भेरियन्टको महामारीको संक्रमणदर हाललाई केही कम भए पनि जोखिम कायम रहेकोले उक्त संक्रमण फैलिन नदिन तथा यसको रोकथाम, नियन्त्रण, उपचार एवं व्यवस्थापनलाई प्रभावकारी बनाउन भदौ १५ गतेसम्मनिषेधाज्ञा थपिएको जिल्ला प्रशासन कार्यालय रुपन्देहीले जनाएको छ । २०७७ भदौ १ गते बिहान ६ बजेदेखि भदौ १५ गते राती १२ बजेसम्म रुपन्देही जिल्लाभर लागू हुने गरी निषेधाज्ञालाई निरन्तरता दिइएको प्रमुख जिल्ला अधिकारी अस्मान तामाङले बताए ।
निषेधाज्ञा अवधिमा सबै प्रकारका सभा, जुलुस, महोत्सव, पार्टी प्यालेस, सिनेमा हल र हाटबजार, शैक्षिक संस्थाहरु, प्रशिक्षण केन्द्र, भाषा कक्षा, ट्युसन लगायतका जमघट हुने गतिविधिहरु गर्न नपाइने जिल्ला प्रशासन कार्यालय रुपन्देहीद्वारा सोमबार जारी गरिएको सूचनामा उल्लेख गरिएको छ ।
त्यस्तै प्रशासन कार्यालयले पार्टी प्यालेस र होटलमा तीज विशेष कार्यक्रम (दर खाने, नाचगान) गर्ने खालका कार्यक्रम पूर्ण रुपमा बन्द गर्नुपर्ने र स्वास्थ्य मापदण्ड पालना अनिवार्य रुपमा पालना गर्न आ–आफ्नो घरमा तीज विशेष कार्यक्रम मनाउनुपर्ने सूचनामार्फत जनाएको छ ।


© 2026 All right reserved to khabarpatro.com | Site By : sobij