
सोमवार , श्रावण ३२, २०७८
बुटवल, ३२ साउन ।
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीले बुटवलको संगम पथमा रहेको संघको भवनमा भाडामा व्यवसाय सञ्चालन गरेका व्यवसायीहरुलाई एकमहिनाको भाडा छुट गरेको छ । संघको सोमबार बसेको कार्यसमिति बैठकले एक महिनाको भाडा छुट गर्नुको साथै चालु वर्ष भाडा बृद्धि नगर्ने समेत निर्णय गरेको हो ।
कोरोना महामारीका कारण व्यापार व्यवसाय बन्द गर्नुपरेको र बन्द हटे पनि व्यापारमा मन्दी आउँदा व्यवसायी मर्कामा परेकाले केही भए पनि राहत होस् भनेर एकमहिनाको भाडा छुट गर्नुको साथै भाडा वृद्धि नगर्ने निर्णय गरिएको संघका महासचिव बिमलराज भट्टराईले बताए । त्यसै गरी संघले घरधनीहरुलाई आफ्नो घरमा व्यवसाय सञ्चालन गरेका व्यवसायीलाई आफू सक्दो भाडा छुट गर्न समेत आग्रह गरेको छ ।
संघका अध्यक्ष उज्ज्वलप्रसाद कसजूको अध्यक्षतामा बसेको बैठकले संघका पूर्व अध्यक्ष तथा सल्लाहकार सुरेन्द्रप्रसाद श्रेष्ठ लुम्बिनी बाणिज्य क्याम्पस सञ्चालक समितिको उपाध्यक्ष र पूर्व अध्यक्ष कुशप्रसाद मल्ली नेपाल सरकारको विभुषण समितिको सदस्यमा मनोनित हुनु भएकोमा दुबैजनालाई बधाई ज्ञापन गरेको छ ।
बैठकले चालु आर्थिक वर्षको संघको प्रस्तावित अनुमानित आयव्यय समेत पारित गरेको छ । बैठकमा वरिष्ठ उपाध्यक्ष दिनेशप्रसाद श्रेष्ठले चालु आर्थिक वर्षको प्रस्तावित आयव्यय विवरण प्रस्तुत गरेका थिए ।
बैठकमा संघका निवर्तमान अध्यक्ष खिमबहादुर हमाल, सल्लाहकार तथा पूर्व अध्यक्षहरु निर्मलप्रसाद लाकौल र सुरेन्द्रप्रसाद श्रेष्ठले धारणासहित सुझावहरु राखेका थिए । त्यस्तै विषयगत संयोजकहरुले विषयगत समितिमा भएका क्रियाकलापहरुको बारेमा जानकारी गराएका थिए ।
संघको गुणस्तर प्रमाण चिन्ह अध्यावधिक
बुटवल उद्योग वाणिज्य संघ रुपन्देहीको गुणस्तर प्रमाण चिन्ह अध्यावधिक भएको छ । संघले गुणस्तर व्यवस्थापन प्रणाली आई.एस.ओ. ९००१ः २०१५ मा परिमार्जित भई गुणस्तर प्रमाणित भएको हो । संघको गुणस्तर प्रमाण चिन्ह आई.एस.ओ. ९००१ः २००८ प्रभाणित थियो । हालै गुणस्तर प्रमाण चिन्ह आ.ई.एस.ओ. ९००१ ः २०१५ प्राप्त भएको संघका कार्यकारी निर्देशक मदनकुमार कार्कीले जानकारी गराएका थिए । संघले गुणस्तरीय व्यवस्थापन प्रणाली स्थापनाको लागि सन् २००० देखि नै व्यवस्थापन सुधारका काम गर्दै आएको थियो । जसका कारण आई.एस.ओ. ९००१ः २००८ हुँदै आई.एस.ओ. ९००१ः २०१५ प्राप्त गरेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij