२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

एमालेमै फर्कन अध्यक्ष ओलीको आह्वान

बिहिवार , भाद्र ३, २०७८

काठमाडौं, ३ भदौ ।
नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालका पक्षमा गएका केन्द्रीय सदस्य एवं सांसदलाई एमालेमा फर्कन आह्वान गरेका छन् । नेकपा एमाले भक्तपुर जिल्ला कमिटीले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले नेता नेपालको नेतृत्वमा नयाँ पार्टी दर्ताका लागि निर्वाचन आयोगमा नाम लेखाएकालाई नाम काटेर एमालेको मूल प्रवाहमै फर्कन आह्वान गरेका हुन् । उनले भने, “यो देश बनाउने जिम्मा अहिले पनि एमालेकै काँधमा छ, त्यसैले पदको लोभमा त्यता बस्नु पर्दैन, माधव नेपालसँग नाम लेखेर निर्वाचन आयोगमा नाम दर्ता गराएका साथी नाम कटाएर पार्टीमा आउनुस्, कुनै पक्षपात नगरी पार्टीमा जिम्मेवारी दिन्छौँ, जिम्मेवारी सम्हाल्न्स् ।”

अध्यक्ष ओलीले आफूहरु सत्तापक्षमै रहेको दाबी गर्दै भने, “प्रदेश र स्थानीय तहमा एमाले बहुमतमा छ, देशभरको सरकार हेर्दा एमाले सरकारमै रहेको प्रष्ट हुन्छ, प्रदेश र स्थानीय तहमा एमालेले बहुमतको सरकार चलाइरहेकाले एमाले प्रतिपक्ष मात्र नभएर अझै सत्तापक्षमै छ ।” रासस