२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

एमालेको विधान संशोधन मस्यौदामाथि भैरहवामा सुझाव संकलन

पार्टीबाहिर रहेका नेता पार्टीमा फर्किए सम्मान हुन्छ : दधिराम न्यौपाने

शुक्रवार , भाद्र ४, २०७८

भैरहवा, ४ भदौ ।
नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले विधान महाधिवेशनमा पेश गरिने विधान मस्यौदाका लागि आवश्यक सुझाव लिन थालेको छ । एमालेले आगामी भदौ २७ र २८ गतेका लागि विधान महाधिवेशन तय गरेको छ । भैरहवामा शुक्रबार विधान मस्यौदामाथि परामर्श तथा सुझाव संकलन कार्यक्रम गरिएको एमाले सिद्धार्थनगरका अध्यक्ष चोपलाल आचार्यले बताए । 

एमाले क्षेत्रीय समन्वय कमिटी क्षेत्र नम्बर ३ को आयोजनामा भएको कार्यक्रममा नेता तथा कार्यकर्ताहरुले विधान मस्यौदामाथि सुझाव दिएका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि नेकपा एमालेका केन्द्रीय सदस्य, रुपन्देही जिल्ला इञ्चार्ज तथा लुम्बिनी प्रदेशसभा अर्थ, उद्योग तथा पर्यटन समितिका पूर्व सभापति दधिराम न्यौपानेले देशका ७७ वटै जिल्लाबाट सुझाव लिने कार्य भइरहेको बताए । उनले लामो समयसम्म आफै नेतृत्व गरेको पार्टी काम लाग्दैन भनेर अर्को पार्टी निर्माण गर्न केही नेताहरु लागेको बताए । उनले पार्टीलाई अनुशासित र मर्यादित बनाउन आवश्यक रहेको बताए ।

पुष्पकमल दाहाल (प्रचण्ड) र माधव कुमार नेपाललाई इंगित गर्दै नेता न्यौपानेले भने, ‘पाँच वर्षसम्म पनि सरकार टिक्न दिनुभएन, दुई वर्ष नबित्दै नेकपा नेतृत्वको सरकारलाई अपदस्त गराउन खोज्नुभयो, प्रयास जारी राख्नुभयो । अध्यक्ष केपी ओलीका पनि केही कमी कमजोरी भए पनि ओली भन्दा बढी गणतान्त्रिक, समाजवादी र लोकतान्त्रिक नेता शेर बहादुर देउवा नभएको उनले दावी गरे । नेता न्यौपानेले उचाईमा पुगेको व्यक्तिले गलत कदम चाले त्यो आफै सिद्धिने बताए । उनले ठीक कदम चाल्न नसकिए जतिसुकै ठूला कुरा गरेर पनि अर्थ नहुने दावी गरे । ‘पार्टीबाहिर गएका साथीहरु पार्टीमा फर्किनुभएको अवस्थामा उहाँहरुलाई सम्मान नै गरिन्छ, ’उनले भने । 

नेकपा एमालेका केन्द्रीय सदस्य तथा रुपन्देही जिल्ला सह–इञ्चार्ज एकराज विश्वकर्माले केपी ओली नेतृत्वको सरकारले राम्रो काम गरेको बताए । उनले महाधिवेशनमा पराजित भएका नेताहरुले अध्यक्ष आफूलाई दिनुपर्ने माग गर्दै अर्को पार्टी दर्ता गराएकाले समयक्रमले को गलत र को सही भन्ने कुरा पुष्टि गर्ने बताए । नेता विश्वकर्माले केपी ओली जनताको मनमा बस्न सफल भएको बताए । उनले नेपाली जनताले विश्वास गरेको पार्टी एमाले भएको दावी गरे ।

एमाले लुम्बिनी प्रदेश सचिवालय सदस्य तथा लुम्बिनी प्रदेश सांसद तुल्सी प्रसाद चौधरीले पार्टीलाई बलियो बनाउन कुनै कसर बाँकी नराख्ने बताए । उनले पार्टीलाई कमजोर बनाउन खोज्ने व्यक्तिहरुको समयमै पहिचान गर्न आवश्यक रहेको बताए । नेता चौधरीले आफ्नो भूमिकालाई कमजोर हुन नदिएको बताए ।

एमाले रुपन्देहीका सचिव विश्वराज बराल (अनुप), नेता भरत कुमार पोखरेल, लक्ष्मी कोइराला (भावना), उमा अधिकारी, प्रेम कुमार सेञ्चुरी, नारायण प्रसाद भण्डारी, सीता ढुंगाना काफ्ले, बाबुराम भट्टराई, प्रा.डा. कपिलदेव लामिछाने लगायतले बोल्दै पार्टीलाई थप अनुशासित बनाउनुपर्नेमा जोड दिए । 

एमाले रुपन्देही जिल्ला सचिवालय सदस्य एवं क्षेत्र नम्बर ३ का संयोजक हितराज पन्थीको अध्यक्षता तथा क्षेत्रीय सचिव प्रेम गुरुङको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।


IMG_2297.JPGIMG_2281.JPGIMG_2268.JPG