
स्वतन्त्रको नाम जप्दै हिड्नु गलत : भोज प्रसाद श्रेष्ठ
शनिवार , भाद्र ५, २०७८
बुटवल, ५ भदौ ।
नेकपा एमालेले कारवाही गरेका लुम्बिनी प्रदेशका सांसद तथा विनाविभागीय मन्त्री अजय शाहीले आफू स्वतन्त्र भएको दावी गरेका छन् । उनले नेकपा एमाले लुम्बिनी प्रदेशले आफूसंग स्पष्टीकरण माग गरेको र प्रदेश सभा सदस्यबाट समेत निष्काशन गर्न कारवाही प्रक्रिया अगाडी बढाएको कुरा कानूनी र राजनीतिक रुपमा कुनै औचित्य नरहेको बताए । शनिबार रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कारमा बोल्दै शाहीले निर्वाचनमा हृदयेश त्रिपाठीको नेतृत्वमा रहेको तत्कालिन स्वतन्त्र समूह र नेकपा एमालेबीच ०७४ असोज १६ गते भएको राजनीतिक सम्झौता अनुसार सुर्य चिन्हको प्रयोग गरी स्वतन्त्र रुपमै चुनाव जितेको दावी गरे । नवलपरासीबाट चुनाव जितेका सांसद शाहीले भने, ‘मैले चुनावमा मात्रै चिन्ह लिएको हो, नैतिक र राजनीतिक रूपमा म स्वतन्त्र छु । मैले नेकपा एमालेको सदस्यता लिएको छैन्, केवल चुनावी सम्झौता मात्रै थियो । ’शाहीले राजनैतिक दल सम्बन्धी ऐन २०७३ को दफा २९ अनुसार एमाले संसदीय दलको सदस्य नभएको स्पष्ट पारे ।
यस्तै, नेकपा एमाले लुम्बिनीले प्रदेशसभा विधि र कानून सम्वत नचलेसम्म प्रदेश सभा अवरुद्ध गरिरहने बताएको छ । रिपोर्टस क्लब नेपाल, लुम्बिनी प्रदेशले बुटवलमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा बोल्दै नेकपा एमाले संसदीय दलका सचिव तथा पूर्व स्वास्थ्य मन्त्री भोज प्रसाद श्रेष्ठले विधि र कानून सम्वत नचलेसम्म प्रदेशसभा अवरुद्ध गर्ने बताएका हुन् । उनले भने, ‘सूर्य चिन्ह लिएर जनताको मत प्राप्त गरी चुनाव जितेका प्रतिनिधि नैतिक र राजनीतिक रूपमा एमालेकै भएको हुँदा प्रतिपक्षले मन्त्री बनाउँदा पनि सभामुखले राजनीतिक पुर्वाग्रह राख्दै कारवाही नहुनु विधिसम्मत छैन । दुईजना सासंदलाई कारवाही नहुँदासम्म संसद अवरुद्ध गर्छौं । अजय शाहीले एमाले संसदीय दलका निर्णयहरुलाई हालसम्म मान्दै आएको बताउँदै श्रेष्ठले एमाले सरकारबाट बाहिरीएपछि गठबन्धनको सहयताले स्वतन्त्रको नाम जप्दै हिड्नु गलत रहेको दावी गरे ।
सभामुखले तत्काल वारपार गर्नुपर्छ
लुम्बिनी प्रदेश सभा भित्रको किचलो छिटो भन्दा छिटो समाधान गर्न कानूनविद्हरुले सभामूखलाई सुझाव दिएका छन् । साक्षात्कारमा बोल्दै कानूनविद्हरुले संविधानको राम्ररी अध्ययन गरि छिटो छरितो निकास दिन सभामुखलाई सुझाव दिएका हुन् । सो कार्यक्रममा आफ्ना तर्कहरु राख्दै कानूनविद महेन्द्र पाण्डेले अजय शाही हृदेश त्रिपाठीको स्वतन्त्र राजनीतिक समुहबाट चुनावमा तत्कालिन नेकपासंग तालमेल गरेर निर्वाचित भएको तर हैसियतका हिसावले र सहमतिका बुदाको हिसाबले स्वतन्त्र रहेको बताए । उनले स्वतन्त्र हैसियतबाट उठेकोले एमालेसंग कुनै नाता र साइनो नभएकाले व्यवहारिक तथा कानूनी हिसावले एमालेले दावी गर्न नमिल्ने तर्क गरे । यस्तै उनले बाम गठबन्धनबाट चुनाव जितेकी सांसद विमला वलीले आफ्नो दल रोज्ने अधिकार संविधानले दिएको बताए ।
यस्तै, अर्का कानूननिद् नगेन्द्र बस्यालले अशय शाहीले सुर्य चिन्हबाट चुनाव जितेको बताउँदै एमालेले कारवाही गर्न स्वभाविक रहेको दावी गरे । स्वतन्त्र भनिए पनि एमालेको सुर्य चिन्हबाट चुनाव जितेकाले स्वतन्त्र भन्न नपाउने उनको भनाइ थियो । एमालेले आवश्यक क्रियाकलाप पुरा गरी संसद् सचिवालयमा पठाएको हो भने सभामुखले तत्काल आवश्यक कारबाही अगाडी बढाउनुपर्ने धारणा राखे । कार्यक्रम रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशका अध्यक्ष रामकुमार क्षेत्रीको अध्यक्षतामा भएको थियो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij