
आइतवार , भाद्र ६, २०७८
रुपन्देही, ६ भदौ ।
नेकपा एमालेका केन्द्रीय सदस्य तथा राष्ट्रिय सभा सदस्य खिमलाल भट्टराईले पार्टीबाट केही व्यक्ति अलग हुँदैमा निराश हुन पर्ने अवस्था नरहेको बताएका छन् । नेकपा एमाले गैडहवा गाउँ कमिटीले शनिबार सुर्यपुरामा आयोजना गरेको राष्ट्रिय युवा संघ, नेपाल गैडहवा गाउँपालिका तथा वडा कमिटी घोषणा एवं सपथ ग्रहणलाई सम्बोधन गर्दै नेता भट्टराईले लामो समय पार्टीको नेतृत्व गरेका केही व्यक्ति आज नेकपा एमालेलाई कमजोर बनाउन सकिन्छ कि भनेर विभिन्न स्वार्थ र पदको लोभले अर्काे पार्टी बनाउन गएको बताए । उनले नेकपा (एमाले) प्रगतिशील, जनपक्षीय पार्टी भएकाले हावाहुरी चल्नासाथ विचलित हुने पार्टी नभएको बताए । उनले नेपालको शक्तिशाली पार्टी र आम जनसमुदायको मनमनमा बस्न सफल भएको पार्टी नेकपा एमाले भएकोले यसमा आवद्ध भई सामाजिक जागरणको नेतृत्वदायी भुमिका निर्वाह गर्न युवाहरुलाई आव्हान गरे ।
राष्ट्रियसभामा नेकपा एमालेका प्रमुख सचेतक समेत रहेका भट्टराईले रुपन्देहीको क्षेत्र नम्बर ५ मा नेपाली कांग्रेसले १५ वर्ष शासन गर्दा समेत कुनै परिवर्तन ल्याउन नसकेको भन्दै अब यस क्षेत्रको नेतृत्व नेकपा एमालेले गर्छ र परिवर्तन ल्याउने दावी गरे । उनले नेकपा एमालेको नेतृत्वमा गैडहवामा वस्ती विकास, शिक्षा, स्वास्थ्य, पर्यटन लगायतका सबै क्षेत्रमा आमुल परिवर्तन गर्ने समेत बताए ।
कार्यक्रममा नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीका सचिवालय सदस्य तथा संगठन विभाग प्रमुख भुमिश्वर ढकालले नेकपा एमालेको नेतृत्वमा रहेको सरकारलाई विस्थापन गर्न, पार्टीलाई विभाजन गर्न र विरोधीहरूलाई सघाउ पुर्याउन मुख्य भूमिका खेल्ने तत्व र प्रवृत्तिको विरुद्धमा एकजुट भई पार्टीलाई शुद्धीकरण गर्ने अभियानमा जुट्न युवाहरुलाई आग्रह गरे ।
लुम्बिनी प्रदेशका सांसद तथा संसदीय सदलका प्रमुख सचेतक समेत रहेका ढकालले अहिलेको गठबन्धनको सरकारले एकपछि अर्काे गर्दै जनताको हितविपरीतका असंवैधानिक र अलोकतान्त्रिक गतिविधिहरु गर्दै गइरहेको हुँदा त्यसकाविरुद्ध एकजुट भएर खबरदारी गर्न युवाहरुलाई आव्हान गरे ।
कार्यक्रममा राष्ट्रिय युवा संघ नेपालका केन्द्रीय उपाध्यक्ष सुमन पुरी, रुपन्देही जिल्ला संयोजक मनोज गौचन शिक्षक संगठनका गैडहवा गाउँ कमिटी संयोजक सञ्जय कुमार यादव, विद्यार्थी नेता सन्दिप गुप्ता लगायतले बोलेका थिए ।
नेकपा एमाले गाउँ कमिटी अध्यक्ष भुवन रानाको अध्यक्षतामा तथा सचिव कृष्णशंकर गुप्ताको सञ्चालनमा सम्पन्न भएको युवा भेलामा मिन भट्टराई संयोजक, पदम थापा सह–संयोजक, रमेश जयसवाल सचिव रहेको १४६ सदस्यीय राष्ट्रिय युवा संघ नेपाल, गैडहवा गाउँ कमिटी गठन गरेको छ ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij