२०८२, श्रावण १ गते

Jul 16 2025 | २०८२, श्रावण १ गते

निर्वाचन जित्न नसक्ने देखेपछि सुनियोजित रुपमा फसाउन खोजियो : बब्बु शुक्ला

आइतवार , भाद्र १३, २०७८

भैरहवा, १३ भदौ ।
रुपन्देहीको सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ला (बब्लु)ले निर्वाचनमा गाउँपालिका अध्यक्ष पदमा जनताको मतबाट जित्न नसक्ने देखेपछि आफूलाई फसाइएको दावी गरेका छन् । उनले राजनीतिक प्रतिशोधकै कारण महिलालाई अगाडी सारेर जबरजस्ती करणी उद्योगमा मुद्दा दर्ता गर्न लगाइएको आरोप लगाए । जनताको मन जित्न नसकेपछि आफ्नो चरित्रहत्या गर्नका लागि सुनियोजित रुपमा आफूलाई फसाइएको उनको भनाइ छ ।

शनिबार भैरहवामा पत्रकार सम्मेलन गर्दै अध्यक्ष शुक्लले जिल्ला प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएकी महिलाले जाहेरीमा उल्लेख गरेको समयमा आफू गाउँपालिकाको एक कार्यक्रममा रहेको बताए । 

‘११ बजेदेखि ३ बजेसम्म म पम्पसेट वितरण कार्यक्रममा थिए, त्यतिबेला कसरी मैले महिलामाथि दुव्र्यव्यवहार गरे, ’उनले प्रश्न गरे । जाहेरीमा उल्लेख भए अनुसार आफूले कुनै काम नगरेको प्रमाण समेत आफूसंग सुरक्षित रहेको उनको भनाइ छ । मैले जबर जस्तीकरणी गरेको भए महिला ३ घण्टासम्म मेरो घरमा के गर्दै थिइन्, ’उनले प्रश्न गरे । 

पीडित भनिएकी महिला र सम्मरीमाई गाउँपालिकाका वडा नम्बर १ का वडाअध्यक्ष शिव कुमार यादवबीच टेलिफोनमा भएको कुराकानीमा समेत महिलाले स्पष्ट रुपमा गाउँपालिका अध्यक्षले केही नगरेको स्पष्ट रुपमा भनेकाले त्यो भन्दा अरु के प्रमाण हुन्छ भनेका छन् । आफू कार्यक्रममै रहेको बेला कार्यक्रमस्थलबाट प्रहरीले पक्राउ गरेको उनले बताए ।

पत्रकार सम्मेलनमा बोल्दै लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरीले निवेदन दिनेबित्तिकै सत्यतथ्य नबुझी तुरुन्तै पक्राउ गर्नु गलत भएको बताए । उनले गाउँपालिका अध्यक्ष शुक्लले कसुर गरेको भए कारवाही हुनुपर्ने तर जाहेरी दिएको झुटो ठहरिएमा जाहेरी दिने व्यक्तिमाथि कारवाही हुनुपर्ने माग गरे । आरोपित व्यक्ति निर्दोष सावित भएको अवस्थामा झुटो जाहेरी दिनेमाथि कारवाही हुनुपर्छ, उनले भने । 

गाउँपालिका महासंघका केन्द्रीय सदस्य समेत रहेका ओमसतिया गाउँपालिकाका अध्यक्ष हिरा केवट (राहुल)ले स्वतन्त्रता र जनताको अधिकारका लागि लडिरहेका व्यक्तिलाई फसाउन महिलालाई अगाडी सारेर पछाडीबाट बन्दुक चलाइएकाले यो कुरा आफूहरुलाई सैह्य नहुने बताए । उनले गाउँपालिका अध्यक्षलाई पक्राउ गरेको प्रहरीले घटनाबारे चित्तबुझ्दो जवाफ दिन नसकेको र उल्टै संविधान बनाउने मान्छेलाई भन्नुस् जस्ता कुरा गरेको बताए ।

रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले प्रशासनको रवैया चित्तबुझ्दो नभएको बताए । ‘जनताबाट उत्तरदायी गाउँपालिका अध्यक्ष दिनरात जनताको सेवामा खट्नुपर्छ, निवेदनका आधारमा तत्काल पक्राउ गर्नु प्रशासनको रवैया ठीक भएन, ’उनले भने । अध्यक्ष यादवले घटनबारे निष्पक्ष छानवीनको माग गरे । प्रशासनको रवैया सुर्धानुपर्छ, उनले भने ।

कोटहीमाई गाउँपालिकाका अध्यक्ष चन्द्रभुषण यादवले सम्मरीमाई अध्यक्ष शुक्लमाथि आरोप लागेपछि अनुसन्धान नगरी पक्राउ गर्न हतार गरिएको बताए । उनले निर्दोष व्यक्तिलाई दोषी बनाउने व्यक्ति नै अपराधी हुने बताए ।

पत्रकार सम्मेलनमा लुम्बिनी सांस्कृतिक नगरपालिकाका उपप्रमुख जानकीदेवी श्रीवास्तव, मायादेवी गाउँपालिकाका अध्यक्ष धु्रवनारायण चौधरी, मर्चवारी गाउँपालिका उपाध्यक्ष सुनिता कलवार, कोटहीमाई गाउँपालिका उपाध्यक्ष भानमति बनिया, सम्मरीमाई गाउँपालिका वडा नम्बर १ का वडाअध्यक्ष शिव कुमार यादव लगायतको उपस्थिति रहेको थियो ।

यसैबीच रुपन्देहीका दक्षिणी क्षेत्रका जनप्रतिनिधिहरुले विज्ञप्ती जारी गर्दै घटनाबारे  निष्पक्ष छानबीन हुनुपर्ने माग गरेका छन् । उनीहरुले गाउँपालिका अध्यक्ष दोषी देखिए उनलाई कारवाहीको लागि आफूहरुले नै सहयोग गर्ने बताए । तर नभएको घटनामा राजनीतिक प्रतिशोधले फसाउन खोजे त्यो आफुहरुलाई मान्य नहुने उनीहरुको भनाइ छ ।

सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जितेन्द्रनाथ शुक्ल (बब्लु) लाई गते जबरजस्ती करणी उद्योगको आरोपमा उजुरी परेपछि साउन २८ प्रहरीले पक्राउ गरेको थियो । शुक्ललाई रुपन्देही जिल्ला अदालतले १३ दिनपछि भदौ ८ गते साढे पाँच लाख धरौटीमा रिहा गरेको थियो ।