२०८२, श्रावण २ गते

Jul 17 2025 | २०८२, श्रावण २ गते

महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बन्यो : उपेन्द्र यादव

आइतवार , भाद्र १३, २०७८

भैरहवा, १३ भदौ ।
जनता समाजवादी पार्टी, नेपाल (जसपा) का केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले आफूलाई मधेशको नेता भन्ने महन्थ ठाकुर समूह प्रतिगमनको मतियार बनेको आरोप लगाएका छन् । उनले महन्थ ठाकुर एण्ड कम्पनी संसद विघटन गर्ने केपी ओलीको मतियार बनेको बताए ।

जसपा नेपाल केन्द्रीय समितिले आइतबार भैरहवामा आयोजना गरेको अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता यादवले दुई पटक संसद विघटन गरेर ओलीले एकै व्यक्तिलाई दुईपटक मृत्युदण्डको सजाय दिएको बताए । उनले प्रतिगमनकारीको सपना जसपाले चकनाचुर गरेको बताए । पूर्व उपप्रधानमन्त्री समेत रहेका नेता यादवले संसद विघटन गर्ने ओलीको कदमविरुद्ध जसपा सडकमा आन्दोलनमा उत्रिएको बताए । ‘सुरुमा आफूहरुले आन्दोलन गरे पनि ओलीको कदमप्रति कांग्रेस भने दोधारमा थियो, कांग्रेसका केही नेता चुनावमा जान पाए ठीक हुन्थ्यो भन्ने सोचमा थिए, ’उनले भने ।

संघीय लोकतान्त्रिक गणतन्त्र बचाउने काम जसपाले गरेको बताए । लोकतन्त्र, गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता लगायतका महत्वपूर्ण उपलब्धी/ अधिकार संस्थागत गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । प्राप्त उपलब्धी रक्षा गर्दै बाँकी रहेका अधिकारका लागि लड्नुपर्ने उनले बताए । २००७ सालमा प्राप्त उपलब्धी संस्थागत गर्न नसकेकै कारण लामो संघर्ष गर्नुपरेकाले अहिले प्राप्त उपलब्धी संस्थागत गर्नुपर्ने बताए । ‘त्रुटीपूर्ण र विभेदकारी संविधान संसोधन गर्नुपर्छ, सात प्रदेशको संरचना बदल्नुपर्छ, ’नेता यादवले भने ।

नेता यादवले निर्वाचन प्रणाली खर्चिलो भएका कारण किसान मजदूरले निर्वाचन लड्न नसकेकाले समानुपातिक निर्वाचन प्रणाली आवश्यक रहेको बताए । उनले सबै भाषाको सम्मान गर्दै विभेद र असमानताको अन्त्य गर्नुपर्ने आवश्यकता रहेको बताए । मधेशी नागरिकलाई विदेशी सरहको नागरिकको रुपमा हेर्ने दृष्टिकोणमा परिवर्तन गर्नुपर्ने उनले बताए । राज्यले विपन्न वर्गको शिक्षा, स्वास्थ्य र रोजगारीको ग्यारेण्टी गर्नुपर्ने बताए । 

पार्टीका वरिष्ठ नेता अशोक राईले पहिचानको संघीयता र प्रदेशलाई स्वायत्त बनाउनुपर्ने जसपाको माग रहेको बताए । उनले न्यायपूर्ण समाजको परिकल्पनाको साथ जसपाको निर्माण भएको बताए । पुराना पार्टीले पुराना विचार त्याग्न नसकेको र यथास्थितिमा बस्न खोजेकाले जसपा स्थापना गरेर अगाडी बढाएको बताए । अग्रगामी यात्रा तय गर्न गठबन्धन गरेर अगाडी बढेका छौं, ’उनले भने ।

पार्टीका केन्द्रीय कार्यकारिणी सदस्य तथा पूर्वमन्त्री महेन्द्र राय यादव, नवराज सुवेदी, नर्सिङ चौधरी, अमृता अग्रहरी, सहसराम यादव, अशोक कुमार यादव लगायत नेताहरुले महन्थ ठाकुर समूहले प्रतिगमनलाई साथ दिएको बताए । उनीहरुले खोक्रो नाराले उत्पीडित नागरिकको माग पुरा हुन नसक्ने दावी गरे । जसपा लुम्बिनी प्रदेश समितिको व्यवस्थापनमा कार्यक्रम भएको हो ।