२०८२, श्रावण ६ गते

Jul 22 2025 | २०८२, श्रावण ६ गते

पार्कमा बस्दा फुरेको सोचले जन्मिएको एसियन कङ्क्रिटो

बुधवार , भाद्र १६, २०७८

काठमाडौँ, १६ भदौ। विसं २०७२ को भूकम्प जाँदा उद्योगी तथा व्यवसायी मनिष रुङ्गटा काठमाडौँमा थिए। भूकम्प गएपछि आफ्नो घरमा बस्न नसकेपछि डरले दुई वर्षको छोरी र श्रीमतीसँगै उनी पनि खुला पार्कमा रात काट्न बाध्य भए।  

रातको समयमा पार्कमा बस्दा फुरेको सोचमा चार जना व्यवसायी मिलेर एसियन कङ्क्रिटो स्थापना गरिएको उनले बताए। “कमसल निर्माणजन्य सामग्रीका कारण हामी रातको समय घरबाहिर बस्नु प¥यो, पछिल्लो समय मैले जस्तै दुःख आम उपभोक्तालाई नहोस भनेर हामीले गुणस्तरीय निर्माण सामग्री उत्पादन गर्ने सोचले कङ्क्रिटो उद्योग स्थापना गर्ने सोच बनायौँ”, उनले भने। 

उनको सोचमा रुपन्देहिका सफल व्यवसायी गौरव अग्रवाल, राजेशकुमार अग्रवाल, अनिल जाटिया र मनोज केडियाले साथ दिए। उनीहरु पाँच जनाको सोच र करिब रु डेढ अर्ब लगानीमा नवलपरासीको रामग्राम नगरपालिकाको हकुई क्षेत्रमा सन २०१७ मा कङ्क्रिटो उद्योग स्थापना भएको थियो। एसियन कङ्क्रिटो पूर्णरुपमा जर्मनीको मासा कम्पनीको प्लान्ट हो। मासा विश्वमा ब्लक उत्पादन गर्ने कम्पनीमा सबैभन्दा राम्रो प्रविधि प्रयोग गर्ने कम्पनीका रुपमा चिनिन्छ। मासा कम्पनीलाई नेपालमा उद्योग लगाउन कन्भिन्स गर्न उद्योगका लगानीकर्तालाई समय पनि लाग्यो। 

गुणस्तरीय ब्लक उत्पादन गर्ने कम्पनीमध्ये जर्मनीको मासा कम्पनी रहेको थाहा पाएपछि प्रविधिका बारेमा बुझ्न उनीहरुको टोली जर्मनीसमेत गयो। “लामो समयको प्रयासपछि सो प्रविधि नेपाल भित्र्याउन सफल भयौँ। जर्मन कम्पनीले हामीलाई विश्वास नगर्दा धेरै दुःखका साथ हामीले मासा नेपालमा प्लान्ट लगाउन मेसिन ल्याएका हौँ,” उनले भने।, “अहिले पनि उद्योगको उत्पादन प्रक्रियाका बारेमा जर्मनी कम्पनीले प्रत्यक्ष जानकारी लिइरहेको हुन्छ। उद्योगको प्लान्ट र अन्य ठाउँमा गरेर ३६ वटा क्यामरा जडान गरेका छौं। हामीले गरेको कामको प्रत्यक्ष निगरानी जर्मनी कम्पनीले नै गर्ने गर्छ ।” 

गुणस्तर प्रमाणित

नेपाली कच्चापदार्थको उपयोग गर्दै विभिन्न ३० प्रकारका निमार्णजन्य वस्तुको उत्पादन गर्दै आएको सो कम्पनीले नेपाल गुणस्तर तथा नापतौल विभागबाट नेपाल गुणस्तर (एनएस) पाएको छ। 

विभागले कङ्क्रिटो उद्योगका रुपमा पहिलोपटक नै एसियन कम्पनीलाई एनएस दिएको हो। कम्पनीले कङ्क्रिटका इन्टरलक पेभर, कर्बस्ट्रोन, कङ्क्रिट ट्रायल, होलो ब्लक, ब्रिक, ग्रास पेभर्स, स्ल्याब, ड्रेनलगायत ३० प्रकारका निर्माण सामग्री उत्पादन गर्दै आएको छ। 

यसअघि युरोपेली र भारतीय मापदण्डअनुसार मात्र निर्माणजन्य सामग्री उत्पादन गर्दै आएको कम्पनीले अब नेपाली मापदण्डमा समेत निर्माण गर्न सुरु गरेको बताएको छ। 

गौरवका आयोजनामा प्रयोग

सो कम्पनीले उत्पादन गरेका कङ्क्रिटका निर्माण सामग्री राष्ट्रिय गौरवका आयोजनादेखि सडकपेटीसम्म प्रयोगमा ल्याइएको छ। कालोपत्रको विकल्पका रुपमा सहरका भित्री सडकमा कङ्क्रिटका निर्माण सामग्रीको प्रयोग भएमा सहरी सौन्दर्य बढ्नाका साथै वातावरणमैत्री हुने, वर्षाको पानी जमिनमुनि पठाउन सकिने र फोहोरमैला नदेखिने र एकपटक प्रयोग गरेपछि पुनः प्रयोगमा ल्याउन सकिने भएकाले यसको उपयोगिता निकै रहेको उनको भनाइ छ।

उद्योगका अनुसार गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल, पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलमा, पथैलिया–वीरगञ्ज छ लेनको सडक, बारा–पर्सा जनता आवास, इटहरी–विराटनगर–६ लेन सडक परियोजना, मदन भण्डारी लोकमार्ग, सिभिल हस्पिटल, अम्ब्रेला स्ट्रिट भरतपुर, पोखराको चिप्लेढुङ्गा, बीपीचोक, पोखरा लेकसाइडको शान्तिनगर, ललितपुरलगायत देशैभरका विभिन्न आयोजनामा समेत प्रयोग हुँदै आएको कम्पनीका अध्यक्ष रुङ्गटाले जानकारी दिए। रासस