
शुक्रवार , भाद्र १८, २०७८
भैरहवा, १८ भदौ ।
कोरोना महामारीको रोकथाम तथा न्यूनीकरणका लागि बतास फाउण्डेशनले उदाहरणीय कार्य गरेको छ । फाउण्डेशनले ‘कोभिड–१९ इमरजेन्सी रेस्पोन्स प्रोजेक्ट इन नेपाल’ अन्तर्गत सिडा, स्वीडेन, इस्लामिक रिलिफ वल्र्डवाइड नेपाल अफिसको सहयोगमा रुपन्देहीको सियारी, ओमसतिया, रोहिणी तथा कपिलवस्तुको वाणगंगा नगरपालिकामा खाद्यान्न सामग्री, स्वास्थ्य सामग्री/उपकरण सहयोग, आइसोलेशन किट सहयोग तथा ह्याण्ड वाश इन्सट्लेशन र कोभिड–१९ विरुद्ध जनचेतनामूलक कार्यक्रम गरेको छ ।
बतास फाउण्डेशनका कार्यक्रम संयोजक विजय सिंह ठकुरीले एउटा नगरपालिका र तीनवटा गाउँपालिका गरी २ हजार ४ सय घरपरिवारलाई प्रतिपरिवार ७० केजी खाद्यान्न सामग्री वितरण गरिएको बताए । उनले गाउँपालिका, नगरपालिका र लुम्बिनी प्रादेशकि अस्पताल गरी ४५ स्थानमा ह्याण्ड वाश स्टेशन तथा आइसोलेशन सेन्टर र अस्पतालमा स्वास्थ्य सामग्री वितरण गरिएको बताए ।
कोभिड–१९ लाई मध्यनजर गर्दै २०२१ जुन २३ तारिखदेखि सुरु भएको र २०२१ सेप्टेम्बर १० तारिखमा समापन हुने उनले जानकारी दिए ।
उनले विकास तथा प्रकोप व्यवस्थापन केन्द्र (सि.डि.एम.) नेपालको सहकार्यमा रणनैतिक योजना तयार गरि अगाडी बढेको बताए ।
यसैबीच कोभिड–१९ आपतकालिन परियोजना, नेपाल परियोजनाको संयुक्त अनुगमन भ्रमण बिहीबार र शुक्रबार गरिएको छ । अनुगमन भ्रमणमा बतास फाउण्डेशन, रेडक्रस सोसाइटी, सि.डि.एम. नेपाल, सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जाल, विभिन्न संघ–संस्थाका प्रमुख एवं प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।
सो अवसरमा बोल्दै सियारी गाउँपालिकाका अध्यक्ष अयोध्या थारुले कोभिड–१९ महामारीमा भएका समस्या समाधानमा बतास फाउण्डेशनले खेलेको भूमिका प्रशंसनीय भएको बताए । उनले विगतमा भएका राम्रा कामलाई निरन्तरता दिदै केही कमजोरी भए त्यसलाई सच्याउँदै अगाडी बढ्नुपर्ने बताए । उनले फाउण्डेशनले उपलब्ध गराएका सामग्रीहरु गुणस्तरीय र उपयोगी भएको बताए ।
गाउँपालिका उपाध्यक्ष अमृता गुरुङले कोरोना महामारीमा स्थानीय सरकारलाई सहयोग गरेको भन्दै बतास फाउण्डेशनलाई धन्यवाद व्यक्त गरिन् ।
गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख बुद्धि बहादुर घर्तीले बतास फाउण्डेशनबाट उपलब्ध स्वास्थ्य सामग्री अत्यन्तै गुणस्तरीय र उपयोगी भएको बताए । उनले गाउँपालिकाका ५ सय जनालाई खाद्यान्न सामग्री वितरण पनि प्रशंसनीय कार्य भएको बताए ।
ओमसतिया गाउँपालिकाका उपाध्यक्ष सुन्दरमति कुमारी हरिजनले बतासले गरेको कार्यक्रमले स्थानीय सरकारलाई सहयोग पुगेको बताइन् । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत दुर्गा पौडेलले महामारीको समयमा फाउण्डेशनले गरेको काम प्रशंसनीय रहेको र आगामी दिनमा पनि संस्थासंग गाउँपालिका समन्वय तथा सहकार्य गर्न तयार रहेको बताए ।
सामुदायिक प्रकोप व्यवस्थापन समिति राष्ट्रिय सञ्जालका अध्यक्ष जगन्नाथ कुर्मीले बतास फाउण्डेशनले पालिकाहरुलाई सहयोग गर्नु प्रशंसनीय रहेको र कोरोना महामारीको तेस्रो भेरियन्टलाई मध्यनजर गर्दै पूर्व तयारी गर्नुपर्ने बताए । रोहिणी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले महामारीमा बतासले ठूलो सहयोग गरेको बताए ।
नेपाल रेडक्रस सोसाइटी रुपन्देही शाखाका मन्त्री आर मोहम्मद खानले महामारी न्यूनीकरणका लागि बतास फाउण्डेशनले सहयोग बनेको बताए ।
बतास फाउण्डेशनले ३ वटा गाउँपालिका, एउटा नगरपालिका र एउटा प्रादेशिक अस्पतालमा गरी ३ करोड ५८ लाख ९८ हजार ४० रुपैयाँ लागतमा ‘कोभिड–१९ इमरजेन्सी रेस्पोन्स प्रोजेक्ट इन नेपाल’ परियोजना सञ्चालन गरेको हो ।
© 2025 All right reserved to khabarpatro.com | Site By : sobij